सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते सार्वजनिक गरेको बजेटअनुसार भारतबाट स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई ५ हजार अमेरिकी डलरसम्म बराबरको ट्राभल्स चेक ल्याउन अनुमति दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। आज प्रकाशित नेपाल राजपत्रमा उक्त व्यवस्था औपचारिक रूपमा सूचित गरिएको छ।
यसअघि भारतीय पर्यटकले नेपाल प्रवेश गर्दा २५ हजार भारु मात्रै ल्याउन सक्ने सीमा तोकिएको थियो। अब भने हवाई वा स्थलमार्ग दुबै माध्यमबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले ५ हजार डलर बराबरको ट्राभल्स चेक ल्याउन सक्ने छन्। तर, तोकिएको सीमा नाघेमा भन्सार बिन्दुमा घोषणा अनिवार्य हुनेछ।
यस्तै, विवाह वा सामाजिक कार्यका सिलसिलामा भारतबाट आउने व्यक्तिहरूले स्व-प्रयोजनका लागि ल्याएका गरगहना भन्सार कार्यालयमा घोषणा गरेर फर्कँदा पुनः लैजान सक्ने व्यवस्था पनि गरिएको छ।
सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई लक्षित गर्दै भन्सार छुटसम्बन्धी व्यवस्था यथावत राखेको छ। वैदेशिक रोजगारमा गएर कम्तीमा ६ महिना काम गरी फर्किएकाहरूले एक थान नयाँ मोबाइल फोन ल्याउन पाउनेछन्। यस्तै, व्यक्तिगत प्रयोजनका लुगाफाटो, औषधी, प्रयोग गरिएका ल्यापटप, ट्याब्लेट, घडी, क्यामेरा तथा फोन एक/एक थानसम्म बिनामहसुल ल्याउन सकिने व्यवस्था यथावत छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार सुन र गहनाका विषयमा भने भन्सार महसुल ऐन, २०८१ बमोजिम व्यवस्था गरिएको छ। व्यक्ति विशेषले पहिलो ५० ग्रामसम्मको सुन प्रचलित दरअनुसार महसुल तिरेर ल्याउन सक्ने छन् भने थप ५० ग्रामसम्म ल्याउँदा त्यसमा तीन प्रतिशत अतिरिक्त भन्सार महसुल पनि तिर्नुपर्नेछ।
सरकारको यो निर्णयले पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारबाट फर्कने नेपालीहरूलाई सहजता, र सीमावर्ती सामाजिक सम्बन्धलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।