संरक्षणको पर्खाइमा गलकोटको ‘समपोखरा’ ताल


टुरिजम पाना काठमाडौं । २० पुष २०७९

गलकोट नगरपालिका–३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल पनि साघुँरिदै जान थालेको छ ।

तालमाथिको खेतीयोग्य जमिन र जङ्गल क्षेत्रबाट बर्सेनि आउने बाढीले ताल पुरिँदै गएको छ । गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको ताल ५० मिटर लामो र १५ मिटर चौडा छ ।

समुन्द्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको ताल संरक्षण गर्नुपर्नेमा स्थानीयवासी जयबहादुर दर्जी जोड दिए । तालभन्दा केही तल रहेको पानीको मुहानबाट ओख्रेनी खोला बग्ने गरेको छ । उक्त खोलाको पानी नै हटिया बजार र आसपासका गाउँलेले प्रयोग गर्दै आएका छन् ।

समपोखरा वरपरको जङ्गलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो यही ताल भएको त्यहाँका अध्यक्ष फमबहादुर खत्री बताउछन् ।

“हिजोआज कृत्रिम ताल हेर्न पर्यटक खचाखच हुन्छन्, हामीसँग प्रकृतिको उपहार छ”, वडाध्यक्ष खत्री भन्छन्, “घुम्न र हेर्न मिल्ने बनाउँछौँ, प्रकृतिले दिएको पानी मासिन दिँदैनौँ । हटिया बजारबाट एक घण्टा पैदल र आधा घण्टा सवारीयात्रामा ताल पुग्न सकिन्छ । यो प्राकृतिक ताल हो ।”

“यहाँको पानी न कहिल्यै घटेको देखिन्छ न भरिएर बाहिर जान्छ”, स्थानीय सन्तबहादुर खत्री भन्छन्, “तालभित्रैबाट पानी आउँछ, त्यहीँ हराउँछ, बाहिर पानीको स्रोत छैन । यहाँ देशमा जनयुद्ध हुनुपूर्व चैतेदशैँमा ठूलो मेला लाग्ने गरेको थियो । द्वन्द्वको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न सकिएको छैन ।”

तालको उत्तरपट्टि भट्ट बबाको मन्दिर छ । आसपासका गाउँका युवायुवतीका लागि वनभोजस्थल मात्र बन्ने गरेको यस ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके पर्यटक भित्र्याउन सकिने वडाध्यक्ष खत्री बताउछन् ।

२० पुष २०७९