बेस्ट फिमेल राइडर !

लक्ष्मीलाई लकडाउनले देखाइदिएको अर्को बाटो


टुरिजम पाना काठमाडाैं । ११ आश्विन २०७९

काठमाडौँ ।

काठमाडौँ सामाखुशीकी लक्ष्मी श्रेष्ठ (३०), ब्यूटीशियन हुन् । लकडाउनपछि भने उनको परिचयमा अझै एउटा परिचय थपियो, पठाओ राइडर । झन्डै ७ वर्षदेखि सौन्दर्यकर्मीको काम गरिरहेकी लक्ष्मी अब पार्ट टाइम पठाओ राइडर बनिन् ।

भक्तपुरमा जन्मिएकी लक्ष्मी यहीँ हुर्किइन्, पढिन् र बढिन् । लक्ष्मीले एसएलसीपछिको पढाइलाई भने निरन्तरता दिन सकिनन् । ‘हाम्रोजस्तो परिवारमा अधिकांशको समस्या आर्थिक अभाव नै हो । घरको आर्थिक अवस्थाका कारण थप पढ्न सकिनँ ।’ – उनले पढाई अधुरै रहनुको कारण खुलाइन् ।

बुवा डकर्मी काम गर्नुहुन्थ्यो । आमा पनि त्यही काममा बुवालाई सघाउनु हुन्थ्यो । बुवाआमाका चार सन्तानमध्ये छोरीहरूमा, लक्ष्मी जेठी छोरी हुन् । दाजु आफ्नै परिवारसहित छुट्टै बस्छन् । जेठी छोरी भएपछि स्वभाविक रुपमा अलि बढी जिम्मेवारी हुने नै भयो । एसएलसीसम्मको पढाइपछि लक्ष्मीले ब्यूटीशियनको तालिम लिइन् र काम गर्न थालिन् ।

सौन्दर्यकर्मीको काम गर्दागर्दै त्यसै सिलसिलामा उनी विदेश पनि गइन् । दुई वर्ष मलेशियामा बसेर सौन्दर्यकर्मीकै काम गरिन् । विदेशमा काम राम्रो भयो, पैसा पनि राम्रै कमाइन् । नेपाल फर्किएपछि पनि त्यही कामलाई नै निरन्तरता दिइन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) र यसबाट सिर्जित परिस्थितिका कारण नेपालमा २०७६ सालको अन्तिम महिनाबाट अन्य क्षेत्रजस्तै सौन्दर्यसँग सम्बन्धित व्यवसायहरू पनि धमाधम बन्द भए ।

गरिराखेको काम एकाएक बन्द भएपछि थपियो तनाव । अब के गर्ने होला ? भन्ने चिन्ताले सताइराखेका बेला साथीहरूले पठाओ राइडर बन्ने सुझाव दिए ।

‘लकडाउनपछि मात्रै हो म पठाओसँग जोडिएको’– लक्ष्मीले भनिन्, ‘पहिले आफू पनि कहिलेकाही चढिराखेको । मसँग स्कुटर थियो । तिमीले पनि चलाउँदा राम्रै हुन्छ भन्नुभयो साथीहरूले अनि सुरु गरें ।’

घरलाई दिने समय बाहेक लक्ष्मीले दुबै कामलाई आधा आधा समय दिन्छिन् । ब्यूटीशियनको काम पनि गरिरहेकी छिन् । बाँकी आधा समय पठाओ राइडर । ‘दिनमा यति नै राइड लिनुपर्छ भन्ने हुँदैन,’ – उनी भन्छिन्, भ्यायसम्म गर्छु । सामान्यतया ७÷८ राइड हुन्छ । कहिलेकाही १० राइडसम्म हुन्छ ।’

पठाओ राइडर बन्ने भनेपछि परिवार र आफन्तको प्रतिक्रिया कस्तो थियो ? प्रश्न सकिन नपाउँदै लक्ष्मीले जवाफ फर्काइन्, ‘सबैजना खुशी नै हुनुहुन्थ्यो । ओहो ! राम्रो काम गरेछौ, अहिले पठाओ एकदमै चलेको छ, अरू काम नभएको बेला यो एकदमै ठिक हो भन्नुभयो । सबैले प्रोत्साहन नै गर्नुभयो ।’ लक्ष्मीले अझै अगाडी भनिन्, ‘ह्या कस्तो काम गरेको भनेर त कसैले पनि भन्नुभएन । सबैले सकारात्मक रुपमा नै लिनुभयो ।’

परिवार र आफन्त मात्र होइन यात्रुहरूले समेत प्रोत्साहन गर्छन्, लक्ष्मीलाई । राम्रो काम गर्नुभएको छ भनेर प्रशंसा गर्छन् । अनि कसै कसैले सुझाव पनि दिन्छन्, ‘दिउँसोमा त ठिकै छ तर रातिचाहिँ नचलाउनु होला । छोरीमान्छेका लागि राति त्यति सुरक्षित हुँदैन ।’

उनीहरूका यस्ता सुझावलाई लक्ष्मीले नराम्रो मान्दिनन् । ‘एक हिसाबले उहाँहरूको सुझाव राम्रै हो, मैले सकारात्मक रुपमा नै लिने गरेको छु’ – लक्ष्मीले भनिन् ।

यात्रु र आफन्तभन्दा अझ धेरै प्रोत्साहन गर्ने श्रीमान छन्, उनका । खाली समयमा यतिकै बस्नुभन्दा केही न केही काम गरेकै राम्रो भन्ने लाग्छ, लक्ष्मीका श्रीमानलाई । ‘उहाँकै प्रोत्साहनले यो काम गरेको भने पनि हुन्छ,’ श्रीमानको सकारात्मक सहयोगका विषयमा खुशी हुँदै लक्ष्मीले सुनाइन्, तिम्रो फ्रि टाइममा यो काम गर्दा राम्रै हुन्छ भनेर उहाँले नै भन्नुभएको हो ।’

ट्राभल विजनेशमा रहेका लक्ष्मीका श्रीमानले काममा उनलाई कहिल्यै निरुत्साहित गरेनन् ।

बुवाआमाका तीन छोरीमध्ये माइली बहिनीको पनि विवाह भइसक्यो । कान्छी बहिनी लक्ष्मीसँगै बसेर पढ्छिन् ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङ मार्फत् पठाओ नेपालले सेवा सुरु गरेको थियो । ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरु गरेको यस कम्पनीले राइड सेयरिङ सुरु गरेको दुई वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’ सञ्चालनमा ल्याएको छ ।

हाल काठमाडौं उपत्यकाभित्र मात्रै सेवा रहेको पठाओमा एक लाख ५० हजार मानिस राइडरका रुपमा आबद्ध छन् । जसमा महिला राइडर करिब ६ सय छन् । ति ६०० महिला राइडरलाई पछि पार्दै पठाओले गरेको वार्षिक सम्मानमा लक्ष्मीले बेस्ट फिमेल राइडरको अवार्ड जितिन् ।

पठाओ नेपालको वार्षिक सम्मान कार्यक्रममा अवार्ड पाएपछि लक्ष्मीले खुशी साटिन्, ‘सामान्यतया अरु बेला अफिसबाट फोन आउँदैन । अस्ति फोन आयो र कार्यक्रमको बारेमा भन्नुभयो । सुरुमा त मैले पत्याउनै सकिनँ, हँ यस्तो पनि हुन्छ र ? भनेको जस्तो लाग्यो । तर हो रहेछ । अवार्ड जितेर एकदमै खुशी लागेको छ ।’

पठाओको वार्षिक सम्मान कार्यक्रममा २०७८ सालभरी उत्कृष्ट सेवा प्रदान गर्ने राइडर, क्याप्टेन र फुडमेन गरि लक्ष्मीसँगै ३५ जनाले अवार्ड जितेका छन् ।

११ आश्विन २०७९