बैंकको जागीर छाडेर ‘चियावाली’ बनेकी अनु

आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा ‘टि फ्रेसो’


सोनी शाही काठमाडौँ । १५ मंसिर २०८१

धेरैका लागि ‘ड्रिम जव’ मानिने बैंकको जागिर छाडेर चिया बिक्री गर्ने निर्णय लिँदै गर्दा अनु ढकालसँग नाक खुम्च्याउने धेरै थिए । अनुले गलत निर्णय लिइ भन्ने धेरै थिए । तर अहिले भने उनको चिया बेच्ने कामलाई धेरैले प्रसंशा गर्छन् । किनभने नौ वर्षअघि उनले लिएको त्यो निर्णय अहिले सही सावित भएको छ ।

“मैले विगत नौ वर्षदेखि शरीरका लागि लाभदायक चिया बेचिरहेकी छु । सुरुमा ठमेलमा चिया पसल सुरु गर्दा परिवार निकै निराश भएको मलाई अहिले पनि सम्झना छ”, उनले भनिन्, “त्यसो त अझै पनि केही मानिस मैले चिया बेच्छु भन्दा मुख खुम्च्याउने पनि छन् । तर मलाई भने यसले खुसी र सन्तुष्टि दुवै दिएको छ ।” सामान्यतयाः चिया स्वास्थ्यका लागि राम्रो नमान्नेहरु धेरै छन् । तर अनुले बिक्री गर्ने चिया त्यस्तो छैन । ‘टि फ्रेसो’की सञ्चालक अनुका अनुसार उनले अर्थोडक्स चिया बिक्री गर्छन् । यसले शरीरलाई स्वस्थ राख्नुका साथै स्फुर्त पनि बनाउँछ । यो आफूले सञ्चालन गरेको ‘टि लाउञ्ज’ नेपालकै पहिलो भएको दाबी समेत गर्छिन् ।

बैंकरबाट चिया पसले हुँदै गर्दा उनमा जोस र जाँगरसँगै केही गर्छु भन्ने अठोट मात्रै थियो । काम गर्दै जाँदा चियाबारे धेरै खोजबिन गरिन् । चियाप्रतिको उनको सोचको दायरा फराकिलो हुँदै गयो । उनी भन्छिन्, “आफै केही व्यापार सुरु गर्छु भनेर बैंकको जागिर छोडेकी थिए । काम गर्दै जाँदा साथीमार्फत चियाबारेमा धेरै अध्ययन गर्ने मौका पाएँ । अध्ययन गर्दै जाँदा व्यापार गर्ने शैली पनि बदलिँदै गयो”, उनले भनिन्, “सानो पसलबाट सुरु भएको व्यापार आज यहाँसम्म आइपुग्ला भन्ने सुरुमा योजना नै थिएन ।” अनुका अनुसार गुगल सर्चमा उनको पसल सबैभन्दा अगाडि आउँछ । ट्रिप एड्भाइजरमा चौथो नम्बरमा देखिन्छ । यो सबै ग्राहकहरुको माया र विश्वासकै कारणले भएको उनको बुझाइ छ । Types of Teaउनले बिक्री गर्ने चिया अरुभन्दा फरक छ । यसलाई ‘अर्थोडक्स टि’ पनि भनिन्छ । सामान्यतयाः चिया बनाउँदा दूध, चिनी र चियापत्ती प्रयोग हन्छ भने उनले बिक्री गर्ने चियामा जडीबुटी र चियाको पात मात्रै प्रयोग हुन्छ ।

चियाको पातबाट ह्वाइट टि, गोल्डेन टि, ब्ल्याक टि र ओलोङ्ग टि गरी चार थरीको चिया बन्छ । यसैबाट अनुले विभिन्न २४ प्रकारका चिया बनाइ बिक्री गरिरहेकी छन् । उनले उत्पादन गर्ने चिया नेपालमा मात्रै नभइ अमेरिका, बेलायत, जापान, चीन, भारत, थाइल्यान्ड लगायतका देशमा समेत निर्यात भइरहेको छ । “टि फ्रेसोमा २४ प्रकारका चिया पाइन्छ । कतिपयले यहीँ आएर चियाको आनन्द लिन्छन् भने कतिपयले उपहारका रुपमा पनि विदेश लैजान्छन् । विदेशबाट समेत अर्डर आउँछ”, उनले भनिन्, “कोरोना अघि हाम्रोमा नेपाली ग्राहक एक जना पनि हुनुहुन्न थियो । अहिले भने स्वदेशी र विदेशी ग्राहकको संख्या बराबरी जस्तै छ ।”

‘टि फ्रेसो’मा सबै चिया इलामबाटै ल्याइन्छ । ठूला कारखानाबाट चिया आयात गर्दा शुद्ध चियाको पात मात्र नपाउने भएका कारण इलामका स्थानीयसँगै चिया खरिद गरिरहेको उनको भनाइ छ । हाल नेपाल र अमेरिकामा सञ्चालित ‘टि फ्रेसो’को अर्को शाखा पनि जापानमा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा रहेको समेत उनले सुनाइन् ।

“इलामको चियासँगै हामीले हर्बल टि पनि बिक्री गरिरहेका छौँ भने हर्बल बुस्टरमा ११ प्रकारका जडिबुटी मिसाएका छौँ । नेपालमा भन्दा पनि अन्तर्राष्ट्रिय बजारमा चियालाई चिनाउने लक्ष्य छ”, उनले भनिन्, “ह्वाइट टिले शरीरलाई शान्त राख्छ, ग्रीन टिले उच्च रक्तचापलाई घटाउने र शरीरको अनावश्यक बोसो हटाउँछ, ब्ल्याक टिले एङ्जाइटी कम गर्छ र ओलोन टिले मांसपेसीको दुखाइ कम गर्छ । यी फाइदाहरूका कारणले पनि विदेशमा यसको माग बढी भइरहेको छ ।”

१५ मंसिर २०८१