यस वर्षको शरद् यामको हिमाल आरोहण अनुमति आजदेखि सकिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले यस वर्षको आरोहण अनुमति आज देखि सकिएको जानकारी दिनुभयो ।
यस वर्ष शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन्। विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएको विभागको तथ्याङ्क छ ।
यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका चार सय एकासीले अनुमति लिएका छन्। यस्तै मनासलु हिमाल आरोहणमा २८ आरोही समूहका तीन सय आठ, हिम्लुङ आरोहणका लागि १२ आरोही समूहका एक सय ४४ तथा धौलागिरिमा एक आरोही समूहका १४ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ।
नेपालसहित ७३ देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन्। हिमाल आरोहणबापत आठ करोड ५८ लाख ८३ हजार चार सय ४६ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ।
मनासलु र हिम्लुङको आरोहण सकिएको छ। अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ।