आजभन्दा करिब २० वर्षअघि पोखराबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा तस्वीर सहित छापिएको थियो ‘बालक हराएको सूचना’ ।
एक परिवारले आफ्नो १० वर्षीय छोरा सबैतिर खोज्दा पनि नभेटेपछि पत्रिकामार्फत सूचना नै जारी गर्नुपर्यो- खोजिका लागि । तर बालक भेटिएनन् ।
त्यसको चार दिनपछि भने बालकले नै परिवारलाई सम्पर्क गरेर आफू काठमाडौंमा रहेको जानकारी दिए । ती बालकको कथा आश्चर्य मात्रै हैन अपत्यारिलो छ । ती बालक साइकल भाडामा लिएर साइकल चलाउँदै काठमाडौं आइपुगेका थिए ।
बाल्यकालमा सबै बिर्सिएर साइकल चलाउने ती बालक अहिले साइकलबाटै विश्व यात्रा गरिरहेका छन् । बाल्यकालदेखि नै साइकललाई यतिधेरै प्रेम गर्ने ती व्यक्ति हुन् अजित बराल । अहिले साइकलकै कारण उनको परिचय फेरिएको छ ।
साइकलयात्री बरालले पहिलो चरणमा नेपालसहित ७१ मुलुकको भ्रमण गरिसकेका छन् ।
बाल्यकालमा उनी निकै चकचके थिए । त्यतिखेर टिभीमा साहरा च्यानल आउने उनलाई अझै याद छ । त्यस च्यानलमा इण्डियन रियालिटी शो आउँथ्यो । जसमा साइकल लिएर विभिन्न ठाउँ घुमेको देखिन्थ्यो । उनलाई साइकल यात्रामा सोख जगाएको सोही ‘रियालिटी शो’ ले हो ।
१० वर्षको उमेरमा उनी बिरामी परे । आँखामा एलर्जी भयो र अपरेशन नै गर्नुपर्यो । त्यतिखेर एक महिना घरमै बस्नुपरेको उनी सम्झन्छन् । घरमा बसिरहँदा उनलाई निकै उकुसमुकुस भयो । आँखा ठीक भएपछि उनले आफ्नो साथीलाई लिएर साइकलमा कतै घुम्न जाने प्रस्ताव गरे ।
साथीले पनि हुन्छ भनेपछि लेकसाइडबाट एक घण्टा साइकल भाडामा लिएर यात्रा शुरू गरे । कसैलाई नभनी यात्रा शुरू गरेका उनीहरूले एक घन्टा त के चार दिनसम्म साइकलमै यात्रा गरिरहे ।
४ दिनमा उनी काठमाडौं आइपुगेको सम्छन् । उनी भन्छन्,’कुनै योजना बिना नै हिँडेका थियौं । बीच बाटोमा रोकिन मन नै लागेन ।’
त्यतिखेर उनका बुवा जापान हुनुहुन्थो भने दाइ काठमाडौंमा । घरमा आमा (ममी) एक्लै । उनी भन्छन्,’त्यसपछि गाउँमा रुवाबासी शुरू भएछ । पोखरामा ‘बालक हराएको सूचना’ भनेर पत्रिकामा फोटो राखेरै मलाई खोज्ने काम भएछ ।’
उनी काठमाडौं पुगेपछि त्यहाँ रहेको मामा घरमा पुगे । त्यसपछि मात्रै उता परिवारको चिन्ता साम्य भयो । घर फर्किएपछि उनको आमाले उनलाई साइकल किनिदिनुभएको उनी सम्झन्छन् ।
त्यसपछि उनी अध्ययनमै व्यस्त भए । मौका मिले फेरि साइकलमा यात्रा गर्छु भन्ने सोच त्यतिखेरै आएको उनी बताउँछन् । सन् २०१३ मा उनी फेरि लामो समय बिरामी परे । उनको ढाड भाँच्चियो । ढाड भाँच्चिएपछि उनी २ वर्षसम्म कतै हिँडडुल गर्न पाएनन् ।
‘त्यसपछि २ वर्ष म प्यारालाइज्ड जस्तै भएर घरमा बस्नुपर्यो । निकै गाह्रो भएको थियो मलाई त्यतिखेर,’ आफ्नो पीडादायी क्षण सम्झँदै अजित भन्छन् ।
उनले त्यतिखेर आफूले एकदिन आफैंलाई ठीक गर्छु भन्ने सोच राख्थे । त्यतिखेरै उनले विश्वयात्राको योजनासमेत बुनेका थिए ।
सन् २०१५ मा उनी ठीक भए पनि । हिँडडुल गर्न सक्ने भए । अझै भनौं, साइक्लिङ गर्न सक्ने भए । त्यसपछि उनले साइकल लिएर विश्व यात्रा गर्ने निर्णय लिए ।
उनी सम्झन्छन्,’त्यतिखेर मलाई परिवारले साथ दिनुभयो । दाइले समेत मलाई साथ दिनुभयो । दाइ गण्डकी अस्पतालमा डाक्टर हुनुहुन्थ्यो । जागिरबाट राजीनामा दिएर नै उहाँले मसँगै यात्रा तय गर्ने निर्णय गर्नुभयो ।’
साइकल यात्रा शुरू गर्नका लागि उनले एक लाख रुपैयाँ ऋण लिएका थिए । जसमध्ये करिब १८ हजार रुपैयाँमा साइकल किने । बाँकी भने वालेटमा नगद नै बोकेका थिए ।
अन्तत : उनी साइकल लिएर विश्वयात्रा निस्किएरै छाडे । नेपालका केही सडक हुँदै इण्डिया, त्यसपछि दक्षिण भारत…।
जब समाचारमा आउन थाले…
यात्रा शुरू गरेको ३१ दिनपछि दक्षिण भारत पुगेका थिए उनी । त्यसबारे समाचार द हिन्दुले पहिलो पेजमै छापेको थियो । त्यसरी समाचार आएपछि आफूलाई धेरै नेपालीहरूले सहयोग गरेको उनी सम्झन्छन् ।
त्यहाँबाट उनी दाइसँगै श्रीलंका, बंगलादेश, म्यानमार हुँदै सिंगापुर, मलेसिया, ताइवान, जापान, कोरिया, अमेरिका पुगे । क्यालिफोर्नियाबाट न्युयोर्क छिटो साइकल यात्रा गर्ने उनीहरू पहिलो नेपाली समेत बन्न पुगे । यसअघि ३ महिनामा पुगेको रेकर्ड रहेकोमा उनीहरूले डेढ महिनामै साइकल यात्रा गरे ।
उनी सम्झन्छन्,’ पहिले ३ महिनाको रेकर्ड रहेछ, हामीले डेढ महिनामै सकायौँ । ६ हजार ७८० किलोमिटरको सो दूरीमा छिटो पुग्ने पहिलो नेपाली बन्न पुग्यौं ।’
३ दिन भोकै बसेकोदेखि दाँत भाँच्चिँदासम्मको अनुभव
साइकल यात्राका क्रममा अजित निकै रोमान्चित हुन्छन् । निकै खुशी हुन्छन् । सोही यात्राका क्रममा उनले दु:ख नपाएका भने होइनन् । उनीसँग दु:खका थुप्रै घटनाहरू जोडिएका छन् । तर ती सबै दु:ख उनले साइकल यात्राबाटै भुल्छन् र फेरि खुशी हुन्छन् ।
यो उनको बानी नै भइसक्यो ।
७१ मुलुकमा साइकल यात्रा गर्दै गर्दा उनले कहिलेकाहीँ निकै अप्ठ्यारो झेल्नुपरेको छ । वर्षातको समयमा साइकल यात्रा निकै कस्टकर हुन्छ । उनले त्यो कस्टकर यात्रा पनि गरिसकेका छन् । पानीले निथ्रुक्क भिजेर साइक्लिङ गर्दा उनलाई धेरैले रोकिन भन्थे । तर उनले हाँसीहाँसी आफ्नो छाला वाटरप्रुफ भइसकेको बताइदिन्थे ।
यतिमात्रै हैन, लाओसमा उनी एकदिन भ्लग बनाउँदै साइक्लिङ गर्दै थिए । त्यतिखेर साइकल ढुंगामा ठोकियो । उनी भन्छन्,’लाओस् नेपाल जस्तै रहेछ भन्दै भिडियो बनाउँदै थिएँ साइकलबाटै । त्यही क्रममा साइकलको अगाडिको टायर ढुंगामा ठोक्कियो । त्यसपछि साइकल उछिट्टिएर म लडें, अगाडिको दाँत भाँच्चियो ।’
त्यतिखेर आफूले आफूलाई स्वीकार गर्नुपर्छ भन्ने शिक्षा पाएको उनी बताउँछन् । अगाडिको दाँत भाँचिएपछि उनलाई केही दिन त बोल्न संकोच भयो । तर सधैं त्यसरी हुँदैन । उनी भन्छन्,’त्यही बेलामा मैले आफूलाई एसेप्ट गर्न पनि सिकें, र अगाडि बढें ।’
साइक्लिङकै क्रममा तीनदिनसम्म भोकै हिँडेको अनुभव समेत उनले संगालेका छन् ।
कुनै समय उनले यति अप्ठ्यारो अवस्था भोगे कि साइकल यात्रालाई बीचमै रोकेर घर फर्कन समेत उनलाई मन लाग्थ्यो ।
अवस्था कस्तो थियो त ?
‘म्यानमार बोर्डर क्रस गरेर थाइल्याण्ड जाँदा नौबिसेको भन्दा डबल उकालो थियो । साइक्लिङ शुरूशुरूको फेज थियो । निकै गाह्रो भयो । हात गोडा निकै दुख्थे,’ उनी सुनाउँछन्,’त्यतिखेर चाहीँ साइकल यहीँ फाल्दिएर म नेपाल फर्किन्छु भन्ने पनि लाग्यो । त्यसपछि फेरि आफैंलाई कन्ट्रोल गरें । गाह्रो यही हो, यसपछि सहज हुन्छ भन्ने बुझाइका साथ अगाडि बढें ।’
यो त भए केही व्यवहारिक कठिनाइहरू । उनीसँग नेपालको पासपोर्ट भएकै कारणले पनि निकै दु:ख पाएको तितो अनुभव छ ।
अजित भन्छन्,’नेपालको पासपोर्ट देख्ने बित्तिकै हामीलाई रोक्ने काम पनि भयो । अलि अर्कै नजरले हेर्ने अवस्था रहेछ । पैसा पनि इमिग्रेसनले नै लिइदिएको थियो एक पटक ।’
पहिलो चरणमा साइकल यात्राका लागि ८ वटा साइकल फेरेको उनको अनुभव छ । ‘७१ मुलुक घुम्दा ८ वटा साइकल चढें, उनले भने,’पहिलो म आफैंले किनें, बाँकी सहयोग स्वरुप पाएँ ।’
मुर्चुंगा र राष्ट्रिय झण्डाको प्रचार
साइकलमार्फत विश्व यात्राको क्रममा अजितले पर्यटन क्षेत्रको प्रवर्द्धन गरिरहेका हुन्छन् । उनले मुर्चुङ्गा र राष्ट्रिय झण्डालाई विभिन्न मुलुकमा चिनाउने काम समेत गरेका छन् ।
उनी भन्छन्,’मुर्चुंगा किराती समाजको बाजा हो, जुन संसारकै पूरानो र नेपालको लोकबाजा हो । यसको प्रवर्द्धन गर्दै हिँड्ने गरेको छु ।’
साथमा बुद्ध वाज बर्न इन नेपाल, प्रोमोटिङ नेपाल्स टुरिजम, लगायतका ब्यानरसहित उनी साइकल यात्रा गर्छन् ।
दोस्रो चरणको विश्व साइकल यात्रा शुरू हुँदै
पहिलो चरणमा ७१ मुलुक घुमिसकेका अजितले दोस्रो चरण पनि शुरू गर्ने तयारी गरिरहेका छन् । उनले अबको करिब २ महिनामै दोस्रो चरणको यात्रा शुरू गर्ने टुरिजम पानालाई जानकारी दिए ।
दोस्रो चरणमा उनी युरोपियन मुलुकमा साइकल यात्रा गर्नेछन् ।
‘१२ वटै महिनालाई पर्यटन सिजन भनौं’
पर्यटन प्रवर्द्धनको अभियानसहित विश्वयात्रा गरिरहेका अजित नेपालमा हरेक दिन वा हरेक महिना पर्यटन सम्भव रहेको बताउँछन् ।
पर्यटनका लागि सबै महिना सिजन हुने भन्दै अफसिजन घोषणा गरेर पर्यटक आउन छेक्न नहुने उनको तर्क छ । उनी भन्छन्,’पर्यटन सधैं हुनुपर्छ । यो अफसिजन भन्ने नै गलत छ । १२ वटै महिनामा पर्यटनको सिजन हो भन्ने सन्देश बाह्य पर्यटकलाई दिनु जरुरी छ ।’