भक्तपुरको रानी पोखरी: सेनाको नियन्त्रणबाट निकालेर भक्तपुरवासीले पुनर्निर्माण गरेको सम्पदा


टुरिजम पाना भक्तपुर । १९ चैत्र २०७९

लगभग ४० वर्ष नेपाली सेनाको नियन्त्रणमा रहेको र संरक्षण बिहीन भएर अस्तित्व लोप समेत हुन लागिसकेको भक्तपुरको रानीपोखरी अहिले भक्तपुर नगरपालिकाले जिर्णोद्धार तथा पुननिर्माण गरेपछि चिटिक्क परेको छ ।

त्यतिबेला भक्तपुरमा भएका सिद्धपोखरी (तःपुखः), नःपुख र भाज्याःपुखः पोखरी बनिसकेपछि नयाँ पोखरी बनेकाले यो रानी पोखरीलाई न्यु पुखः अर्थात नयाँ पोखरी पनि भनिन्थ्यो । एउटा लगभग कोमामा पुगिसकेको सम्पदालाई भक्तपुर नगरपालिकाको प्रयासले पुनर्जीवन दिने काम भएको छ ।

राजा जयप्रताप मल्लले वि.सं. १७२७ मा काठमाडौंको रानीपोखरी बनाएका थिए । त्यसैगरि राजा सिद्धिनरसिंह मल्लले ललितपुरमा वि.सं. १७०४ मा ललितपुरको रानीपोखरी बनाएका थिए भने जगज्योति मल्लले वि.सं. १६८७ मा भक्तपुरको रानीपोखरी बनाएका थिए । यो हिसाबमा हेर्दा उपत्यकाको पूरानो रानीपोखरी (काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष पहिले) हुन आउँछ भक्तपुरको रानीपोखरी ।

करिब वि.सं. २०४० सालतिर पञ्चायती सरकारको पालामा पोखरी सेनाको नियन्त्रणमा गएको थियो । रानीपोखरी र वरपरको क्षेत्रमा परम्परादेखि हरेक वर्ष प्रजापति, राजलवत, खत्री र अन्य धेरै भक्तपुरवासीहरूले देवाली पूजा गर्ने ठाउँ रहेको थियो । देवाली पूजाको बेला कहिलेकाहीँ सर्वसाधारण र नेपाली सेनाबीच विवाद पनि भएको थियो । पछि देवाली पूजा र सांस्कृतिक पर्वमा भने रानीपोखरी खुला हुँदै आएको थियो ।

नेपाली सेनाका तत्कालीन सेनापति पूर्णचन्द्र थापासँग २०७५ चैत १८ गते भक्तपुर नगरपालिकाको टोलीले सम्पदा संरक्षणको विषयमा आफ्नो कुराहरू राखेको थियो । त्यो छलफल सकारात्मक भएको थियो । सेनाको टिमले छलफलपछि अन्ततः पोखरी भक्तपुर नगरलाई फिर्ता गर्‍यो । २०७६ जेठ २ गते सेनाको जङ्गीअड्डाको तर्फबाट पोखरीको पुनर्निर्माणका साथै सर्वसाधारणका लागि खुला गर्ने सहमति पत्र नगरपालिकालाई पठायो । यो सँगै भक्तपुरको रानीपोखरीको पुनर्निर्माणको बाटो खुलेको थियो ।

त्यसपछि भक्तपुर नगरपालिकाले परम्परागत सीप र दक्षता प्रयोग गरि रानीपोखरीको पुनर्निर्माण गर्ने निर्णय गर्‍यो । स्थानीय श्यामसुन्दर बाटीको संयोजकत्वमा उपभोक्ता समिति गठन गर्ने कार्यलाई अगाडि बढायो । परम्परागत शैलीमा पोखरीको निमार्ण एकै वर्षमा सम्पन्न गर्न सम्भव थिएन । त्यसैले भक्तपुर नगरपालिकाको आवधिक योजनामा यसलाई राखेर क्रमशः निर्माण कार्य अगाडि बढ्यो ।

पोखरीसँगै रहेको ह्वाङह्वाङ पाटी र अन्य पाटीहरूको निर्माणका लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरि समानान्तर रुपमा अगाडि बढेकाले निर्माण कार्यले द्रुतता पायो ।

मध्यकालीन शहरी सुन्दरता र प्रतिष्ठालाई आजपनि उत्तिकै जोगाइराख्नु र यसलाई सम्बद्र्धन गरि राख्नु अहिलेको पुस्ताको दायित्व हो र प्रतिष्ठा पनि हो ।

रानीपोखरी भक्तपुरको मुल शहरी बस्तीको पश्चिमतर्फ सल्लाघारीको थुम्को/डाँडामा अवस्थित छ । यो मुलक सडकको देब्रेपट्टी र उत्तरपट्टी पर्छ । पूर्व र पश्चिम लामो आयातकार बनेको छ । यसको चारैतिर भक्तपुरे इँटाले पर्खाल लगाएर बारिएको छ भने पोखरीका डिलहरू माछाकाँडे शैलीमा इँटा ठाडो बनाएर छापेर सुन्दर बनाइएको छ ।

प्रत्येक वर्ष अक्षय तृतिया र त्यसपछि आउने आइतबार र बिहीबारका दिनमा भक्तपुरका विभिन्न जातजाति र थरका समुदायले सिद्धपोखरी, भाज्यपोखरी, कमलपोखरी लगायत रानीपोखरीमा आएर धुमधामका साथ कुल पूजा अर्थात देवाली पूजा गर्ने गर्छन् ।

पोखरीको पुनर्निर्माण २ करोड ३६ लाख १२ हजार ७ सय ८८ रुपैयाँ ८५ पैसा लागतमा निर्माण सम्पन्न भएको छ । यस्तै हिटी पुनर्निमार्णका लागि अर्को उपभोक्ता समितिले ६१ लाख १९ हजार ५ सय ७२ रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको छ । पोखरीको उत्तर र पूर्वि दिशामा रहेको दुई वटा पाटी र दुई वटा प्रवेश द्वार निर्माणका लागि अर्को उपभोक्ता समितिले ६२ लाख ५० हजार ८ सय ७८ रुपैयाँ लागत लागेको बताइएको छ ।

ललितपुरको हरिसिद्धिनाथ, कान्तिपुरको नरदेवीनाथ १२ वर्षमा एक पटक भक्तपुर राजदरबारमा देखाउने प्रचलन थियो । उहिले यी प्रसिद्ध नाथका गणहरू भक्तपुर आउँदा सर्वप्रथम रानीपोखरीको सत्तलमा विश्रा मगर्ने र राजदरबारबाट औपचारिक सूचना पाएपछि मात्रै उनीहरूलाई स्वागत गरि शहरभित्र लैजाने प्रवन्ध गरिन्थ्यो ।

रानीपोखरीको मध्य भागमा सुनको नाग लगायत अन्य बहुमूल्य कलाकृति रहेको र प्रताप मल्लले भक्तपुरमा आक्रमण गर्दा लुटेर लगेको इतिहासमा उल्लेख गरेको भेट्न सकिन्छ । पोखरीको मध्य भागमा सुनको नाग ठड्याउने काठको खाँबो बाँकी नै थियो, जसमा अहिले नागको सालिक स्थापना गरिएको छ । सुनको नाग रहेको रानीपोखरी नागको टाउको हो भन्ने गरिन्छ, बीचको सिद्ध पोखरी नागको जिउ र सबैभन्दा पुछारको पोखरी नउ पोखरी नागको पुच्छर हो भन्ने भनाइ समेत रहेको छ ।

पोखरीको दक्षिण भागमा मुल सडक सहित प्रवेशद्वार सहितको सत्तल पाटी छ । ढुंगा र इँटाको कलात्मक द्वार भएको सत्तल पाटी (ह्वाङह्वाङ पाटी) भित्र आरामसँग बसेर पोखरीको दृश्यावलोकन गर्न सकिन्छ। सन्दर्भ सामग्री: ‘न्हू पुखू (रानीपोखरी) एक जिर्णोद्वार’ पुस्तक

तस्वीरहरू

१९ चैत्र २०७९