के हो बुद्ध एयरका सञ्चालक वीरेन्द्र र उनका भाइ शिवेन्द्रबीचको विवाद ?


टुरिजम पाना संवाददाता काठमाडौं । २८ बैशाख २०८०

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र उनका भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको सम्पत्ति विवाद सतहमा आएको छ । १० पुसमा बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएपछि दाजु भाइबीच सम्पत्तिबारे मतभेद चर्किन थालेको थियो ।

विवादले चरम रुप लिएपछि शिवेन्द्रले यो विवादलाई पत्रकार सम्मेलन गरि सार्वजनिक नै गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफू बुद्ध एयरको ४० प्रतिशत सेयरको हकदार भएपनि ६० प्रतिशत सेयर रहेको पक्षले ठूलै आर्थिक घोटाला गरेको आशंका व्यक्त गरेका छन् ।

दाइ वीरेन्द्रबहादुरले बुद्ध एयरको सम्पत्ति र दायित्वबारेको हिसाब पारदर्शी रुपले नदेखाएपछि आफूले पत्रकार सम्मेलन गर्नुपरेको उनको बताए । बुद्ध एयरमा ६० प्रतिशत सेयर स्वामित्व भएको पक्षले हिसाबकिताब गोलमाल गरेको उनको आशंका छ ।

उनका अनुसार बुद्ध एयरमा बाबु सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत र दाजु वीरेन्द्रबहादुर बस्नेतको २० प्रतिशत सेयर स्वामित्व थियो । सुरेन्द्रबहादुरले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशतमध्येको आधा वीरेन्द्रबहादुर र आधा शिवेन्द्रबहादुरको परिवारको नाममा गरिदिएको उनको दाबी छ । यसअनुसार ६० प्रतिशत वीरेन्द्रबहादुर र ४० प्रतिशत सेयर आफ्नो परिवारको नाममा आएको उनले बताए ।

‘४० प्रतिशत सेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानून बमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्ने काम भयो । तर, हाम्रो त्यो माग अनुरुप कम्पनीबाट कुनै आधिकारिक हिसाब किताब दिइएन,’ शिवेन्द्र भन्छन्, ‘मैले हिसाब माग्दा कुनै सुनिएन ।’

४० प्रतिशतको स्वामित्वको त्यसको यकिन हिसाबबारे थाहा नै नदिइएको उनको भनाइ छ । दाइ वीरेन्द्रबहादुर बस्नेतको परिवारको काठमाडौंमा ४ वटा र पोखरा, रामेछाप र भैरहवामा घरहरु भन्दै उनले त्यसको स्रोतबारे प्रश्न उठाएका छन् ।

कम्पनीको काम कारबाही, आर्थिक हिसाबकिताब र योजनाहरुका बारेमा थाहा पाउनु आफ्नो अधिकार भएको भन्दै उनले संस्थालाई माथि उठानकै लागि जानकारीहरु माग गरेको बताए । त्यसकै कारण विभिन्न आरोप लगाएर कम्पनीको कार्यालयमा नै आफूलाई रोकिएको शिवेन्द्रको आरोप छ ।

उनले कम्पनी ऐन २०६३ को धारा १४६ ले सेयर धनीको हिसाब किताब निरीक्षण गर्ने अधिकार दिएको स्मरण गराएका छन् । कानुनअनुसार साधारण सभा र सञ्चालक समिमिको निर्णय पुस्तिका, वाार्षिक आर्थिक विवरण, सेयर दर्ता किताब, र कम्पनीको लेखा हेर्न सकिने भएपनि हेर्न नदिइएको उनको गुनासो छ ।

विमानहरु ९ वटा बीचक्राफ्ट बेच्दा र १७ वटा विमानहरु किन्दा तथा करिब ५० करोड लागतमा आरजु राइस मिल खोल्दा आफूसँग परामर्श समेत नगरिएको उनको गुनासो छ । आरजु राइस मिलमा बुद्ध एयरको इन्जिनियरलाई काम लगाएपछि उनले गडबडीको आशंका बलियो भएको बताएका छन् । लुकाइएका सम्पत्ति पनि हुन सक्ने देखेपछि आफूहरुले खोजी गरिरहेको शिवेन्द्रले बताए ।

‘यो समग्र पृष्ठभूमिमा हामीले न त बुद्ध एयरको छवीलाई नराम्रो गर्ने उद्देश्य राख्यौं न त अन्य लाभको कुरा गर्‍यौं,’ शिवेन्द्रले भनेका छन्, ‘हामीले त केबल यो कम्पनीले सेयर स्वामित्वको हिसाब र कानुनले दिएको अधिकारको प्रयोग गरी ४० प्रतिशतको दायित्व अनुरुप सबै कुरा हुनुपर्छ भन्यौं ।’

२५ वर्षअघि सेवा थालेको बुद्ध एयरले अहिले १७ वटा विमानमार्फत सेवा दिंदै आएको छ । दैनिक ७० देखि ८० उडानहरू गर्ने यो कम्पनीले करिब ६० प्रतिशत आन्तरिक उडानको हिस्सा ओगट्छ । भारतको बनारसमा समेत सेवा दिंदै आएको यो एयरलाइन्स अहिले सेयरधनीहरुको विवादमा फस्न पुगेको छ ।

२८ बैशाख २०८०