तिब्बत र मानसरोबरमा ८० लाख रुपैयाँ अनिवार्य धरौटी राख्नुपर्ने व्यवस्थाप्रति पर्यटन व्यवसायीहरूको आपत्ति


टुरिजम पाना संवाददाता काठमाडौं । २८ बैशाख २०८०

नेपाल हुँदै चीनको तिब्बत र कैलाश मानसरोबरमा पर्यटक लैजाने नेपाली व्यवसायीहरूलाई ८० लाख रुपैयाँ अनिवार्य धरौटी राख्नुपर्ने नियममा नेपालका पर्यटन व्यवसायीहरूले आपत्ति जनाएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपाल (एक्टोन)ले मंगलबार काठमाडौंस्थित चिनियाँ दूतावास र बेइजिङस्थित नेपाली दूतावासलाई संयुक्तपत्र लेख्दै तीन वर्षपछि सुरू भएको तिब्बत र कैलाश मानसरोबरको यात्रामा सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

कोभिडका कारण तीन वर्षसम्म बन्द रहेको कैलाश यात्रा र तिब्बत भ्रमण हालै चीनले खुला गरेको छ । तर, त्यहाँ टुर सञ्चालन गर्दै आइरहेका नेपाली पर्यटन व्यवसायीहरूले तीर्थयात्रीहरूको परमिट जारी गर्ने तिब्बत स्वशासित क्षेत्रमा रहेको फरेन एक्सचेन्ज सेन्टरले भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोबर यात्रा सञ्चालन गराउने नेपाली व्यवसायीहरूले ६० हजार अमेरिकी डलर (करिब ८० लाख रुपैयाँ) अनिवार्य डिपोजिट गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि यसमा आपत्ति व्यक्त गर्दै यो नेपालकै कानुनविपरीत रहेकाले सहजीकरण गरिदिन माग गरेका हुन् ।

टानका अध्यक्ष निलहरी बास्तोलाले आफूहरूले उठाएका मागबारे उनीहरूले सहजीकरण गर्ने नगरे फेरि ध्यानाकर्षण गराउने जानकारी दिए ।
उनले भने,’हामीले उठाएका विषयहरूमा केही समयमा नै उताबाट सकारात्मक प्रतिक्रिया आउँछ भन्ने विश्वास छ । आएन भने फेरि छलफलमा बसेर ध्यानाकर्षण गराउँछौँ ।’

व्यवसायीहरूले चिनियाँ राजदूत छन् सोङलाई लेखेको पत्रमा ८० लाख धरौटीको प्रावधानसहित ६ वटा विषयमा ध्यानाकर्षण गराएका छन् । उनीहरूले तिब्बतको ल्हासा टुर र कैलाश मानसरोबर यात्रा सञ्चालनमा बाधा गर्ने अर्को नियम बायोमेट्रिक रहेको उल्लेख गरेका छन् ।

अहिले तिब्बतको भिसा लिनका लागि बायोमेट्रिक अनिवार्य गरिएको छ । पहिले समूहमा यात्रा परमिट दिइन्थ्यो । व्यवयासीहरूले बायोमेट्रिक काठमाडौंस्थित दूतावासमा नगराई चीनको सिमानामा गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै चीनले भारतीय तथा तेस्रो मुलुकबाट नेपाल हुँदै तिब्बत भम्रणमा सहयोगी भई जाने नेपालीलाई चर्को भिसा शुल्क लिने गरेकाले यसलाई पनि सम्बोधन गर्न ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

२८ बैशाख २०८०