भरतपुरकाे दियालो बंगला दरबार संग्रहालय सर्वसाधरणको लागि खुल्ला


टुरिजम पाना काठमाडाैँ । २५ असार २०८१

भरतपुर महानगरपालिकामा रहेको दियालो बंगला दरबार संग्रहालय सर्वसाधरणको लागि खुल्ला गरिएको छ ।

भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै खुल्ला गरिएको यो दरबार संस्कृती तथा पर्यटन मन्त्रालयका पहलमा सर्वसाधरणको लागि खुलाइएको हो ।

शासन व्यवस्थाकाे अध्ययन र अवलोकन गर्ने केन्द्र बनाउने उद्देश्यले दरबार सर्वसाधरणको निमित्त खुला गरिएकाे संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बताए ।

आइतबार मन्त्री तामाङ र भरतपुर महानगरपालिका मेयर रेनु दाहाले दरबारकाे उद्घाटन  गरेका थिए ।  राजा महेन्द्रले आराम तथा विश्राम गर्ने थलोकाे रुपमा यस दरबारलाई लिइन्छ । नेपाल ट्रस्टको नाममा रहेको सम्पती खोज तथा संरक्षण गर्ने काम अन्तर्गत यस बंगलालाई सर्वसाधरणको निमित्त खुला गरिएकाे मेयर दाहालले बताएकीछिन् ।  कार्यक्रममा बाेल्दै उनले कार्यविधि तयार नहुन्जेल दरबार प्रवेश निशुल्क गरिएकाे जानकारी दिइन् ।

यस दरबारमा राजाकाे शयन कक्ष, भान्छाघर, बैठक काेठा, राजपरिवारको हेलिकप्टर अवतरण गर्ने हेलिप्याड, खेलकुद मैदान, सुरक्षाकर्मीको आवास क्षेत्र रहेकोे छ ।

राजा तथा राजपरिवारका सदस्यले जाडो छल्न, छुट्टि मनाउन यस दरबारमा आउने गरेका थिए । ५२ बिघा जग्गामा रहेको दियालो बंगला राजा महेन्द्रले २०२६ सालमा बनाउन लगाएका हुन् ।  महेन्द्रको यसै दरबार निधन भएको थियो । यस बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ । राजपरिवारसँग जोडिएका यिनै प्रसङ्गले यस दरबारलाई बिशेष चासोको रुपमा लिइन्छ ।

यहाँबाट नारायणी नदि सुन्दर दृश्य देख्न सकिन्छ । यहाँ भित्र रहेको जैविक विभिदता तथा प्राकृतिक सुन्दरता पनि निकै मनमोहक रहेको छ ।  पवित्र धार्मिक स्थल देवघाटसँगै रहेको यस दरबारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ ।

२५ असार २०८१