लमजुङ दरबारकाे पुनःनिर्माणकाे काम ७० प्रतिशत


टुरिजम पाना गण्डकी । २५ असार २०८१

चौबिसे राज्यका पालामा बनेको लमजुङ दरबार अहिले पुनःनिर्माण भइरहेको छ ।

सोह्रौँ शताब्दीमा बनेको भनिएकाे उक्त दरबार जीर्ण बन्दै गएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । दरबार पुनःनिर्माणकाे काम झण्डै  ७० प्रतिशतभइसकेकाे विभागका इन्जिनियर गोविन्द अधिकारीले बताए ।

यो वर्ष बजेट कम भएकाले सोचे अनुरुप काम हुन नसकेके बताउँदै उनले भने “स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ ।” गत आवमा एक करोड ३३ लाख रुपैयाँ बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्टाएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपिएस’ र यो वर्ष भक्तपुरकै ‘आरजिएस विष्णु जेभी’ले दरबार पुनःनिर्माणको जिम्मा पाएको हो ।

दरबारको पुरानै शैलीमा  पुनःनिर्माण भइरहेको  छ। दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनःनिर्माण पनि सँगसँगै भइरहेको उनले बताए । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा छाने शैली को बन्नेछ । दरबार बनाउन अवश्यक इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको जानकारी उनले दिए । परम्परागत वास्तुकला झल्काउने गरी दरबार र मन्दिर पुनःनिर्माणको काम भइरहको छ । उनका अनुसार पुरातात्विक महत्वको संरचना भएकाले निर्माण सामग्री पनि महँगो पर्ने गरेकाे छ । मेहनत र समय पनि उत्तिकै लाग्ने दरबारकाे दोस्रो तलाको गारो र झ्याल–ढोका राख्ने काम भइसकेके छ ।

उक्त ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्व विभागले पुनःनिर्माणमा अगुवाइ गरेको हो । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनःनिर्माण गरि सक्ने लक्ष्य लिइए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त देखिएको बताए। उनले अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट झन घटेर आयो भने आउँदो वर्ष पनि दरबार पुनःनिर्माण पूरा हुन नसक्ने उल्लेख गरे।       

xr:d:DAFN-tzRPxk:19,j:36959446941,t:22100313

उनी भन्छन्, “पुरातत्व विभागले पुनःनिर्माणको काम गरे पनि लमजुङ दरबार कुन सरकारको मातहत रहने भन्ने अन्योल रहँदा ऐतिहासिक महत्वको सम्पदा ओझेलमा परेको छ ।” एतिहासिक धरोहरको रुपमा रहेको दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उनको भनाइ छ ।

लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँसहरमा अवस्थित उक्त दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ । जीर्ण भएर अलपत्र अवस्थामा पुगेको दरबार पुनःनिर्माणले नयाँ आशा जगाएको उनले बताए ।

गाउँसहरका स्थानीय ७० वर्षीय भीमबहादुर गुरुङका अनुसार दरबारको छानो पहिले झिङ्गटीले छाएको र पछिल्लो समय ढुङ्गाले छाइएको थियो । 

पुरानो भएर छानो चुहिने भएको दरबार अब नयाँ बन्न लागेकोमा खुशि लागेकाेमा बताउँदै उनले भने “छिटो पुनःनिर्माण पूरा गर्न सकिएमा दरबारलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिन्छ, यसबाट सिङ्गै लमजुङ जिल्लाको पहिचान र चिनारी देश विदेशमा फैलिन्छ” उनले बाउबाजेका पालादेखि यहाँकाे दरबारमा बडादसैँ र चैतेदसैँमा यहाँ विशेष पूजाआजा हुँदै अएकाे तथा टाढाटाढाबाट मानिस दरबार हेर्न गाउँसहर अाउने गरेकाे बताए ।

विसं १५५० मा राजा यशोबह्म शाहले शासन सुरु गरेको उक्त दरबारमा पुराना तोप, तरबार, भालालगायत सामग्री सुरक्षित छन् । दरबार परिसरमा लमजुङ राज्यका पहिलो राजा यशोबह्मको अर्थकदको सालिकसमेत बनाइएको छ ।

समुद्री सतहदेखि एक हजार चार सय ४५ मिटर उचाइमा रहेको उक्त दरबारमा सदरमुकाम बेँसीसहरदेखि ३० मिनेटको मोटर यात्रामा पुगिन्छ । पर्यटकीय गाउँ काउलेपानीदेखि नजिकै दरबार अवस्थित छ । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिका अध्यक्ष बोहोराले जानकारी दिए ।

 लमजुङ दरबारको इतिहास 

चौबिसे राज्य स्थापना हुने सिलसिलामा विसं १५२४ मा कास्की राज्य स्थापना भएको थियो । कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको आलेखमा उल्लेख छ । 

राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाहरुबाट उनी मारिएपछि लमजुङका खाजे दुरा, नारायण दुरा, कुश्माखर घिमिरेलगायत ठकुरी राजा माग्न कास्कीकोट गएको सन्दर्भ उक्त आलेखमा छ । 

राजा माग्न गएका लमजुङेलाई कास्कीका राजा कुलमण्डनले बेस्सरी हकारेको र आफ्ना कान्छा छोरा यशोबह्मलाई राजा बनाउन लमजुङ खटाएको इतिहासमा उल्लेख छ । कास्कीकोटबाट आएका यशोबह्मले विसं १५५० असार १५ गते लमजुङ राज्यको गद्दी सम्हालेका थिए । राजा यशोबह्मको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा लमजुङ राज्यको राजा भए । नरहरिपछि चुडा शाह, अचित शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रीपुमर्दन शाह, वीमर्दन शाह गरी  नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । 

विसं १८३९ कात्तिकसम्म शाहवंशका राजाले लमजुङ दरबारबाट शासन चलाएको इतिहासमा उल्लेख छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउने गर्दथे । प्राचिनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पथ्र्यो । 

पृथ्वीनाराण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल विस्तारको अभियान थाले । विसं १८३९ मा पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ ।

 

२५ असार २०८१