सेफ द्वय शाह र श्रेष्ठले विद्यार्थीलाई सुनाए सफलताको कथा


टुरिजम पाना काठमाडौँ । १४ कार्तिक २०८१
festival camp

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधार्ने उद्देश्यले १० दिने शैक्षिक महोत्सव ‘फेस्टिभल क्याम्प– २०८१’ आयोजना गरेको छ ।

दशैं–तिहारको बिदा सदुपयोग गरि विद्यार्थीलाई अध्ययनप्रति रुचि जगाउने र एसईई नतिजामा सुधार ल्याउने लक्ष्यसहित कात्तिक ४ गतेदेखि कात्तिक १३ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा विभिन्न क्षत क्षेत्रका प्रेरक व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको थियो ।

जसमध्ये सोमबार बीबीसी मास्टर सेफ विजेता सन्तोष साह र ‘बेक अफः द प्रोफेसनल्स् २०२४’ विजेता नारायण श्रेष्ठले जनप्रभात माध्यामिक विद्यालय, कालिमाटीमा विशेष अतिथिको रूपमा उपस्थिति जनाएका थिए । कार्यक्रममा दुवै सेफले आआफ्ना संघर्ष र सफलताबारे विद्यार्थीलाई जानकारी गराए ।

chef santosh shah giving speech for festival camp 2081

सेफ सन्तोष भन्छन् ‘मैले यो ठाउँसम्म आइपुग्दा धेरै संघर्ष भोगेको छु । इच्छाशक्ति कै कारण म यहाँसम्म आइपुगेको हुँ । यहाँहरूले पनि आफ्नो उद्देश्य प्राप्तीका लागि कडा मेहेनत र परिश्रम गर्न जरुरी छ ।’

यस्तै, सेफ नारायणले पनि आफ्नो संघर्ष र अनुभव सुनाउँदै विद्यार्थीलाई प्रोत्साहन गरेका थिए । ‘बेकिङ क्षेत्रमा प्रवेश गर्नु अघि मसँग सिमित स्रोतसाधन थियो । तर यहाँहरूसँग आफ्नो योग्यता देखाउने धेरै धेरै प्लाटफर्महरू छन् । त्यसको सदुपयोग गर्नुपर्छ । कुनै पनि काम सानो हुँदैन । आफ्नो भविष्यका लागि आफैले मेहेनत गर्नुपर्छ,’ उनले भने ।

सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएपछि महानगरपालिकाले ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ नामक गौरवको कार्यक्रमअन्तर्गत कक्षा १० का विद्यार्थीका लागि सिकाइ प्रोत्साहन फेस्टिभल क्याम्प गरेको हो । यसअन्तर्गत सैद्धान्तिक, प्रयोगात्मक तथा रचनात्मक माध्यमबाट शैक्षिक गतिविधि सञ्चालन गरिएको हो ।

chef santosh and narayan, festival camp

शैक्षिक क्याम्पमा विद्यार्थीका लागि गणित, विज्ञान, सामाजिक र प्राविधिक विषयका कक्षा सञ्चालन गरिएको महानगरले जनाएको छ । एउटा कक्षामा बढीमा ३५ विद्यार्थी राखेर गराइएको समूहगत सिकाइले आगामी एसईईको नतिजामा सुधार हुने शिक्षकहरूको अपेक्षा छ ।

११ स्रोत केन्द्र र ५ ठूला गरि १६ वटा विद्यालयमा सञ्चालन भएको सिकाई महोत्सव क्याम्पमा ८७ वटा सामुदायिक विद्यालयका २ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएको आयोजकले जनाएको छ । महानगरपालिकाले गौरवको योजनाअन्तर्गत शैक्षिक सुधारका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ ।

काठमाडौं महानगरपालिकाभित्र कक्षा १० सम्म पढाई हुने ८७ वटा सामुदायिक विद्यालयमा करिब ४१ हजार विद्यार्थी अध्ययनरत छन् ।

१४ कार्तिक २०८१