नेपालमा यसरी प्रचलनमा आएको थियो १ रुपियाँको पहिलो नोट


सुनिल उलक काठमाडौं । २९ कार्तिक २०७९
One RS Note

नेपाली कागजी नोटहरु जुद्धशम्शेरका समयमा २००२ सालको भदौ ३१ गतेबाट प्रचलनमा आएका थिए । पहिलो चरणमा रु ५, १० र १०० का कागजी नोट प्रचलनमा आए पनि रु १ को कागजी नोट प्रचलनमा आउन भने अर्को ८ वर्ष लागेको थियो ।

२०१० सालको भदौ २९ गतेबाट रु १ को कागजी नोट पनि प्रचलनमा आएको हो । पहिलो चरणमा ९ लाख थान नोट बजारमा आएको थियो । यस पछि पनि भारतको नासिकमा रहेको इन्डिया सेक्यूरिटी प्रेसले जसरी छापेर पठाउन थाल्यो त्यसैगरि सदर मुलुकी खानाले पनि निष्काशन गर्दै गएको थियो ।

२०१३ सालमा नेपाल राष्ट्र बैंकको गठन हुनु पूर्वसम्म जम्मा २ करोड ८० लाख थान रु १ को कागजी नोट बजार पठाइएको थियो । २०१३ साल पछि भने नेपाल राष्ट्र बैंकको गठन भए पनि २०१६ सालको फागुन ७ गते प्रजातन्त्र दिवसका दिन मात्र नेपाल राष्ट्र बैंकले गवर्नर हिमालय शम्शेरको हस्ताक्षरमा रु १ को कागजी नोट १० करोड थान निष्काशन गरेको थियो । यसपटक भने नेपालले बेलायतको De La Rue & Co. Ltd. मा स्तरिय कागजी नोट छापेको थियो ।

नेपाली कागजी रु १ को नोटको डिजाइन भने कुलरत्न तुलाधरले २००७ सालको असार २९ गते तैयार बनाएका थिए । उनको डिजाइन अनुसार नै रु १ को कागजी नोट छापिएको हुँदा २००८ सालमा उनको डिजाइन नै कागजी नोट छपाइका लागि भारत पठाइएको हुनुपर्छ । उनले २००७ सालमा डिजाइन गरे पनि कागजी नोटमा भने २००८ लेखिएको नोट छापिएको हुँदा उनको खेस्रा डिजाइन (Rough Sketch) लाई पून तैयार बनाउन लगाइ छाप्न पठाइएको हो ।

२९ कार्तिक २०७९