चुनावमा होमिएका पूर्वदेखि वर्तमान पर्यटनमन्त्री : जनताले कसलाई रोजे, कसलाई छाडे ?

वर्तमान पर्यटनमन्त्रीकै लज्जास्पद हार


गोविन्द मरासिनी काठमाडौं । १९ मंसिर २०७९

गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ । निर्वाचनमा उम्मेदवार बनेका पूर्वदेखि वर्तमान पर्यटनमन्त्रीहरूमध्ये केहीले निर्वाचनमा विजयी हाँसिल गर्दै संसदको यात्रा तय गरे भने वर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठसहित केही पूर्व पर्यटनमन्त्रीले निर्वाचनमा हार व्यहोरे ।

विभिन्न दलबाट उम्मेदवार रहेर विभिन्न समयमा केन्द्रीय सरकारका पूर्व पर्यटनमन्त्रीहरू कसले कहाँबाट चुनाव जिते र कसले कहाँबाट कोसँग पराजय भोगे भन्ने विषयमा  चर्चा गरिएको छ ।

जनताको रोजाइमा परेका पूर्व पर्यटनमन्त्री

पृथ्वीसुब्बा गुरुङ
लमजुङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका पूर्व पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङले यसपटकको निर्वाचनमा बाजी मारे । पृथ्वीसुब्बाले गठबन्धन दलबाट उम्मेदवार बनेका माओवादी केन्द्रका देव प्रसाद गुरुङलाई पाखा लगाउँदै संसद यात्रा तय गरे ।

गण्डकी प्रदेशको मुख्यमन्त्री समेत भइसकेका गुरुङ यसपटक संघको उम्मेदवार बनेका थिए । कांग्रेसभित्र असन्तुष्टीका कारण कांग्रेसको मत देव गुरुङले नपाउँदा त्यसको फाइदा पृथ्वीसुब्बाले लिएको स्रोत बताउँछ । पृथ्वीसुब्बाले ३४ हजार ९ सय ६९ मत पाउँदा गठबन्धन दलका देव गुरुङले ३१ हजार ७ सय ८१ मत पाए ।

योगेश भट्टराई
यस्तै नेकपा एमालेका युवा नेता एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराई पनि चुनाव जित्न सफल रहे । एमालेको तर्फबाट ताप्लेजुङबाट उम्मेदवार रहेका भट्टराईले लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरे ।

२०७४ मा बाम गठबन्धनको साथमा सहज जित हात पारेका भट्टराईले १८१ को झिनो मतान्तरले यसपटक पनि बाजी मारे । भट्टराईले २१ हजार ९ सय ३४ मत पाउँदा बुढाक्षेत्रीले २१ हजार ७ सय ५३ मत पाए ।

जीवनबहादुर शाही
पूर्व पर्यटनमन्त्री समेत रहेका वर्तमान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभा सदस्यमा निर्वाचित भए । २०७४ मा कांग्रेसबाट प्रदेशभरिको एक्लो प्रत्यक्ष निर्वाचित उम्मेदवार शाही पुनः कर्णालीको मुख्यमन्त्री हुने लक्ष्यका साथ हुम्ला प्रदेश सभा (ख) मा निर्वाचित भए ।

प्रतिनिधि सभाका निवर्तमान स्वतन्त्र सांसद् छक्कबहादुर लामालाई पराजीत गर्दै शाही निर्वाचित भए । लामा यसपटक एमालेको तर्फबाट प्रदेशमा उम्मेदवार रहेका थिए । शाहीले ७ हजार ५६ मत पाउँदा लामाले २ हजार ९ सय ७९ मत पाए ।

प्रेम बहादुर आले
सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट डोटीमा साझा उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का प्रेम बहादुर आले निर्वाचित भए । एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एसबाट चुनावी मैदानमा रहेका थिए । आलेले एमालेबाट उम्मेदवार रहेकी गौरी कुमारी ओलीलाई हराए । आलेले २७ हजार २ सय ९० मत प्राप्त गर्दा ओलीले २३ हजार ४ मत पाईन् ।

विजयी भएका पूर्व पर्यटनमन्त्रीहरू ।

शरतसिंह भण्डारी
महोत्तरी २ मा लोसपाको तर्फबाट उम्मेदवार रहेका पूर्व पर्यटनमन्त्री शरतसिंह भण्डारीले पनि चुनाव जिते । लोकतान्त्रिक बाम गठबन्धनको साथ पाएमा भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टीमा विजयकुमार सिंहलाई पराजीत गरे । भण्डारीले २५ हजार १ सय ९० मत पाउँदा तमलोपाका सिंहले ११ हजार १ सय ९० मत मात्र पाए ।

सर्वेन्द्रनाथ शुक्ला
लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट रुपन्देही-२ को चुनावी प्रतिस्पर्धामा रहेका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित भए । शुक्लाले गत २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रमोद यादवसँग हारको बदला समेत लिए । ०७४ सालको निर्वाचनमा शुक्ला कांग्रेसका यादवसँग पराजीत भएका थिए । यसपटक अन्यत्र कांग्रेससँग गठबन्धन गरेको लोसपाले यस क्षेत्रमा भने शुक्लालाई चुनावी मैदानमा उतारेको थियो ।

स्थानीय तहमा पहिलो पार्टी बनेको लोसपाले दाबी नछाडेपछि सत्ता गठबन्धनसँग तालमेल हुन नसकेको हो । राप्रपा र जसपाबीचको तालमेलमा विपक्षी गठबन्धनका तर्फबाट पुनः ओम प्रकाश यादव उम्मेदवार बनेका थिए । विजयी भएका शुक्लाले २८ हजार मत पाउँदा प्रतिस्पर्धी यादवले २२ हजार ७ सय ४ मत पाए ।

लिलानाथ श्रेष्ठ
अर्का पूर्व पर्यटनमन्त्रीको लिलानाथ श्रेष्ठले पनि सिरहा–३ मा नेकपा एमालेको गठबन्धनबाट विजयी भए । यस क्षेत्रमा ५ दल सम्मिलित सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धन चुनावी मैदानमा थिए ।

श्रेष्ठले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वनाथ शाहलाई पराजीत गरे । श्रेष्ठले २८ हजार ६४ मत पाउँदा शाह २६ हजार ८ सय ८२ मतमा सिमित भए । यसै क्षेत्रमा जनमत पार्टीबाट उम्मेदवार रहेका दिनेश कुमार यादवले ११ हजार १ सय ४६ मत पाए ।

भीम आचार्य
नेकपा एमालेको तर्फबाट सुनसरी क्षेत्र नं २ मा चुनावी प्रतिस्पर्धामा रहेका पूर्व पर्यटनमन्त्री भीम आचार्यले पनि गठबन्धन दललाई पराजीत गर्दै सांसद निर्वाचित बने । २०७४ सालको प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ (ख) बाट बिजयी भएर प्रदेश नं १ को मुख्यमन्त्री समेत भईसकेका आचार्य प्रदेश छाडेर प्रतिनिधि सभाको सदस्य बन्ने दौडमा थिए ।

आचार्यले नेपाली कांग्रेसका सीताराम मेहतालाई हराए । आचार्यले ३२ हजार २४ मत पाउँदा महतोले २६ हजार ६८ मत पाए भने राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका विक्रम थापाले १९ हजार ३ सय ९१ मत पाए । रास्वपाका कारण मेहताले पराजय भोगेको र त्यसको फाइदा आचार्यले उठाएको अनुमान गरिएको छ ।

जनताको रोजाईमा नपरेका पूर्व पर्यटनमन्त्री

८ पूर्व पर्यटनमन्त्री निर्वाचित हुँदा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहेका जीवनराम श्रेष्ठसहित ५ जना पूर्व पर्यटनमन्त्री भने जनताबाट चुनिन सकेनन् । विभिन्न समयमा पर्यटमन्त्रीको जिम्मेवारीमा रहेका यी मन्त्रीहरु जनताको रोजाईमा नपरेका हुन् ।

जीवनराम श्रेष्ठ (वर्तमान) 
सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनबाट काठमाडौं–८ मा उम्मेदवार रहेका पर्यटनमन्त्री श्रेष्ठले हालसालै मात्र उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठसँग लज्जास्पद पराजय भोगे । गठबन्धनबाट उम्मेदवार रहेर पनि जीवनराम दोश्रो प्रतिस्पर्धी नै बनेनन् ।

रास्वपाका विराजले १० हजार १ सय १२ मतसहित विजयी हुँदा हाम्रो नेपाल पार्टीका सुमन सायमील ६ हजार १ सय ७९ मत पाए भने वर्तमान पर्यटनमनत्री जीवनरामले जम्मा ४ हजार ८ सय ८१ मतमा चित्त बुझाए ।

प्रदिप ज्ञवाली
गुल्मी २ मा नेकपा एमालेबाट नेता एवं पूर्वपर्यटनमन्त्री प्रदिप ज्ञवालीले कांग्रेसका चन्द्रकान्त भण्डारीसँग पराजय व्यहोरे । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनबाट नेपाली कांग्रेसका भण्डारीलाई हराएका ज्ञवालीलाई यसपटक बाम गठबन्धन तगारो बन्यो । ज्ञवालीले ३२ हजार १ सय ५२ मत पाउँदा भण्डारी ३३ हजार ७ सय ४४ मतसहित निर्वाचित भए ।

उमाशंकर अरगरिया
धनुषा–२ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका अर्का पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरियाले झिनो मतले यसपटक निर्वाचनमा पराजय भोगे । यस क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका रामकृष्ण यादवले चुनाव जिते । यादवले २० हजार १ सय १२ मत पाउँदा अरगरियाले १९ हजार ९ सय ५५ मत मात्र पाए ।

२०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका अरगरिया यसपटक एमालेबाट उम्मेदवार बनेका थिए । देशभर गठबन्धन गरेको एकीकृत समाजवादीको तर्फबाट एकल उम्मेदवार रहेका राम चन्द्र झाले १३ हजार ६ सय ५ मत पाए ।

पराजय भोगेका वर्तमानदेखि पूर्व पर्यटनमन्त्रीहरू ।

बलबहादुर केसी
सोलुखुम्बुबाट पराजय भोगेका बलबहादुर केसी पनि पूर्वपर्यटनमन्त्री हुन् । नेकपा एमालेबाट उम्मेदवार रहेका मनबहादुर राईले कांग्रेसका केसीलाई पराजित गर्दै संसद् यात्रामा पुर्णविराम लगाए ।

२०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका हेमकुमार राईसँग पराजय भोगेका केसी यसपटक पनि पराजित भएका हुन् । एमालेका राईले १९ हजार ३ सय ३४ मत पाउँदा केसीले १६ हजार ५ सय ४५ मत मात्र पाए ।

भानुभक्त ढकाल
पूर्व पर्यटनमन्त्री भानुभक्त ढकालले मोरङ–३ बाट पराजीत भए । २०७४ सालको निर्वाचनमा बिजयी भएका ढकाललाई यसपटक पनि पुरानै प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल शर्माले फराकिलो मतान्तरले हराएका हुन् ।

ढकालले २५ हजार ८ सय ९५ मत पाउँदा कांग्रेसका शर्मा ४८ हजार ६ सय ३१ मतसहित विजयी भए । यसै क्षेत्रमा उम्मेदवार रहेकी नायिका एवं राप्रपा नेतृ रेखा थापाले १० हजार ९ सय ९८ मत ल्याइन् ।

विजयकुमार गच्छदार
नेपाली कांग्रेसका नेता एवं पूर्वपर्यटनमन्त्री विजयकुमार गच्छदारले पनि यसपटकको निर्वाचनमा पराजय भोगे । २०७४ को निर्वाचनमा सुनसरी–३ बाट विजयी भएका गच्छदार लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार बन्दा समेत चुनाव जित्न सकेनन् ।

उनलाई ०७४ को निर्वाचनमा पराजय भोगेकी एमालेकी भगवती चौधरीले बदला लिदैं चुनाव हराइन् । गच्छदारले ३५ हजार ६ सय मत ल्याउँदा चौधरीले ४० हजार ७ सय ८८ मत पाइन् ।

चुनावी मैदानमा पूर्वदेखि वर्तमान पर्यटनमन्त्री, कसको सम्भावना कति ?

१९ मंसिर २०७९