चुनावी मैदानमा पूर्वदेखि वर्तमान पर्यटनमन्त्री, कसको सम्भावना कति ?

कसको प्रतिस्पर्धा को सँग ?


गोविन्द मरासिनी काठमाडौं । २७ कार्तिक २०७९
tourism ministers of nepal

आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पूर्व पर्यटनमन्त्रीहरू समेत चुनावमा होमिँदै छन् ।

चुनावमा होमिएकाहरूमध्ये वर्तमान पर्यटनमन्त्रीका साथमा पूर्व पर्यटनमन्त्रीहरूको लामै सूची छ ।

पूर्व पर्यटनमन्त्रीहरूले विभिन्न राजनीतिक दलहरूमार्फत निर्वाचनका लागि उम्मेदवारी दिएका हुन् ।

विभिन्न दलबाट उम्मेदवार बनेका केन्द्रीय सरकारका पूर्व पर्यटनमन्त्रीहरूका बारेमा यहाँ चर्चा गरिएको छ ।

बिजयकुमार गच्छदार (सुनसरी ३)

वि.सं. २०५६ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका बिजयकुमार गच्छदार यसपटक सुनसरी–३ मा प्रतिनिधि सभा सदस्यका चुनावी मैदानमा छन् । उनी लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार बन्दै नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्दै छन् । उनीसँग नेकपा एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा छिन् । गत २०७४ को निर्वाचनमा गच्छदारले ३ सय २१ मतान्तरले चौधरीलाई नै हराएका थिए ।

गच्छदारले ३८ हजार ९ सय ९२ मत ल्याउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् । बाम गठबन्धन एक भएर चुनाव लड्दा समेत हराएका गच्छदारले अहिले माओवादी केन्द्र, नेकपा एस लगायतका दलको साथ पाउँदा सहजै हराउने अनुमान गरिएको छ । यता, सत्तागठबन्धनमा रहेको लोसपा नेपालले छुट्टै उम्मेदवार खडा गरेका कारण गच्छदारलाई केहि असहज भने हुने देखिन्छ ।

बलबहादुर के.सी. (सोलुखुम्बु)

२०५८ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्यटनमन्त्री नियुक्त भएका बलबहादुर केसी यसपटक सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका हेमकुमार राईसँग पराजय भोगेका केसी यसपटक माओवादीकै साथमा सांसद बन्ने प्रयासमा छन् ।

२०७४ मा माओवादीका हेमकुमार राईले २० हजार ७४७ मत ल्याउँदा केसीले १७ हजार २९४ मत पाएका थिए । केसीसँग एमालेका तर्फबाट मानवीर राइले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रकै उम्मेदवार निर्वाचित भएको र अहिले माओवादी र नेकपा एससँगको गठबन्धनका कारण केसीको जित सुनिश्चित जस्तै देखिन्छ ।

सर्वेन्द्रनाथ शुक्ला (रुपन्देही–४)

२०६० सालमा प्रधानमन्त्री सुर्यबहादुर थापा नेतृत्वको सरकारमा पर्यटनमन्त्रीको जिम्मेवारीमा रहेका सर्वेन्द्रनाथ शुक्ला यसपटक रुपन्देही २ बाट चुनाव लड्दैछन् । हाल लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका शुक्ला गत २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बन्दा पराजित भएका थिए । शुक्लाले २० हजार ४ सय १६ मत पाउँदा नेपाली कांग्रेसका प्रमोद यादवले ३१ हजार ७ सय १८ मतसहित बिजयी भएका थिए भने नेकपा एमालेका ओम प्रकाश यादवले २३ सय मत मात्र पाएका थिए ।

यसपटक कांग्रेसका उम्मेदवार यादवलाई माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको समर्थन रहेको छ, भने अन्यत्र गठबन्धन गरेको लोसपाले यस क्षेत्रमा भने शुक्लालाई चुनावी मैदानमा उतारेको छ । स्थानीय तहमा पहिलो पार्टी बनेको लोसपाले दाबी नछाडेपछि सत्ता गठबन्धनसँग तालमेल हुन नसकेको हो । यता, राप्रपा र जसपाबीचको तालमेलमा विपक्षी गठबन्धनका तर्फबाट पुनः ओम प्रकाश यादव उम्मेदवार बनेका छन् । ओमप्रकाश एमालेबाट जसपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । मतमा अगाडि देखिएका यादवलाई यस क्षेत्रमा चुनाव जित्नमा केहि सहज देखिएपनि गठबन्धन दलकै लोसपाका नेता एवं पूर्व मन्त्री शुक्लासँगको प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ ।

प्रदिप ज्ञवाली (गुल्मी-२)

२०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्रीको जिम्मेवारीमा रहेका प्रदिप ज्ञवाली गुल्मी २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनबाट नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीलाई हराएका ज्ञवालीलाई पुन संघीय सांसद चयन हुनका लागि लोकतान्त्रिक बाम गठबन्धन तगारो बन्ने देखिएको छ ।

२०७४ मा ज्ञवालीले ३७ हजार ८ सय १४ मत पाउँदा कांग्रेसका भण्डारीले ३० हजार २ सय ५६ मत पाएका थिए । अघिल्लो निर्वाचनमा ज्ञवालीले पाएको केही मत भण्डारीले पाउने र नेकपा एमाले विभाजनपछि बनेको नेकपा एसबाट समेत मत थपिने हुँदा यसपटक ज्ञवाली पराजय हुन सक्ने अनुमान गर्न सकिन्छ ।

पृथ्वीसुब्बा गुरुङ (लमजुङ )

लमजुङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका पृथ्वीसुब्बा गुरुङ २०६४ मा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए । गण्डकी प्रदेशको मुख्यमन्त्री समेत भइसकेका गुरुङ गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका देव प्रसाद गुरुङसँग कडा प्रतिस्पर्धामा छन् । यसअघि लमजुङ क्षेत्र नं १ (ख) बाट निर्वाचित भएका पृथ्वीसुब्बा र लमजुङबाट प्रतिनिधि सभामा निवर्तमान सांसद रहेका देव गुरुङबीचको भिडन्तलाई रोचक मानिएको छ ।

२०७४ सालको निर्वाचनमा देव गुरुङले बाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई ८ हजार ४ सय मतान्तरले हराउँदा, पृथ्वीसुब्बाले प्रदेशसभा (ख) मा कांग्रेसकै कृष्ण प्रसाद कोइरालालाई ७ हजार ३ सय मतले हराएका थिए । स्थानीय तहको मतपरिणाम हेर्ने हो भने एउटामात्र प्रतिनिधि सभा रहेको लमजुङमा ८ वटा पालिकामध्ये ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले जितेको छ र बाँकीमा गठबन्धनले जितेको छ । एमालेका पृथ्वीसुब्बालाई पाँच दलीय गठबन्धनको साथ हुनु सबैभन्दा ठूलो चुनौती भएतापनि यता देव गुरुङले कांग्रेसभित्र असन्तुष्टीका कारण कांग्रेसको मत पाउनेमा शंका हुनु पनि ठुलो चुनौती बनेको छ ।

शरतसिंह भण्डारी (महोत्तरी–२)

२०६६ सालमा प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहेका शरतसिंह भण्डारी लोसपाको तर्फबाट महोत्तरी २ मा उम्मेदवार बनेका छन् । उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा राजपाबाट यसै क्षेत्रमा बिजयी भएका थिए । त्यसबेला फोरम सम्मिलित मधेशी गठबन्धनको उम्मेदवार रहेका भण्डारी १६ हजार ७ सय ४८ मतान्तरले बिजयी बनेका थिए । भण्डारीले ३० हजार ७ सय २२ मत पाउँदा कांग्रेसकी किरण यादव १३ हजार ९ सय ६४ मतमा सिमित भएकी थिइन् ।

लोकतान्त्रिक बाम गठबन्धनको साथ पाउनुका साथै विगतको मतपरिणाम राम्रो भएको र स्थानीय तहमा पहिलो दल पनि लोसपा रहेकोले भण्डारीको जित लगभग निश्चित देखिन्छ । भण्डारीको प्रतिस्पर्धा एमाले गठबन्धनका डा. रामपरीक्षण यादव र तमलोपाका विजयकुमार सिंहबीच देखिएको छ ।

भीम आचार्य (सुनसरी–२)

२०७० सालमा पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका भीम आचार्य नेकपा एमालेको तर्फबाट सुनसरी क्षेत्र नं २ मा चुनावी प्रतिस्पर्धामा छन् । आचार्य २०७४ सालको प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ (ख) बाट बिजयी भएर प्रदेश नं १ को मुख्यमन्त्री समेत बनेका थिए । यसपटक उनी प्रदेश छाडेर प्रतिनिधि सभाको सदस्य बन्ने दौडमा लागेका हुन् । आचार्यको प्रतिस्पर्धा नेपाली कांग्रेसका सीताराम मेहतासँग हुँदैछ ।

२०७४ मा एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार डम्मरु सुवेदीलाई ६ हजारभन्दा बढी मत अन्तरले हराएका मेहता यसपटक सत्ता गठबन्धनका उम्मेदवार छन् । स्थानीय चुनावको परिणामले मेहताका लागि गठबन्धनको आशालाग्दो साथ देखिएपनि जसपाले पाएको मत आफ्नो पक्षमा ल्याउन आचार्यले तालमेल गरेका छन् ।

जीवनबहादुर शाही (हुम्ला–ख)

२०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका जीवनबहादुर शाही हाल कर्णाली प्रदेशका मुख्यमन्त्री हुन् । २०७४ मा कांग्रेसबाट प्रदेशभरिको एक्लो प्रत्यक्ष निर्वाचित उम्मेदवार शाही पुनः कर्णालीको मुख्यमन्त्री हुने लक्ष्यका साथ हुम्ला प्रदेश सभा (ख) मा चुनावी दौडमा छन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका बिजय भण्डारीलाई पराजीत गर्दै चुनाव जितेका शाही यसपटक त्यही माओवादीसँगको गठबन्धनमा चुनाव जित्ने दाउमा छन् ।

यद्यपि, यसपटक उनलाई प्रतिनिधि सभाका निवर्तमान स्वतन्त्र सांसद् छक्कबहादुर लामा यसपटक एमालेबाट प्रदेश सभा (ख) मा उठेर शाहीलाई चुनौती दिएका छन् । २०७४ को प्रदेश सभा निर्वाचनमा चार हजार ५१९ मत ल्याएर शाही निर्वाचित हुँदा प्रतिद्वन्द्वी माओवादीका भण्डारीले तीन हजार ९९५ मत ल्याएका थिए ।

योगेश भट्टराई (ताप्लेजुङ )

२०७६ सालमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेश भट्टराई एमालेको तर्फबाट ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा भट्टराई दोस्रोपटक उम्मेदवार बनेका हुन् । भट्टराईका प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका खेलप्रसाद बुढाक्षेत्री चुनौती बनेर उभिएका छन् ।

२०७४ मा बाम गठबन्धनको साथमा सहज जित हात पारेका भट्टराईलाई यसपटक भने त्यति सहज नहुने देखिएको छ । २०७४ को निर्वाचनमा कांग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार बढी मतान्तरले हराएका थिए । अन्यत्र जसपासँग तालमेल गरेको भएपनि यहाँ जसपाले आफ्नो छुट्टै उम्मेदवार उठाउँदा भट्टराईलाई थप अप्ठ्यारो हुने बताइन्छ ।

भानुभक्त ढकाल (मोरङ–३)

२०७७ सालमा पर्यटन मन्त्रालयको जिम्मेवारीमा पुगेका भानुभक्त ढकाल यसपटक मोरङ–३ बाट चुनावी मैदानमा छन् । २०७४ सालको निर्वाचनमा बिजयी भएका ढकाललाई यसपटक पनि पुरानै प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल शर्माले टक्कर दिएका छन् । बाम गठबन्धन एक हुँदा पनि करिब २ हजार वढी मतले मात्र चुनाव जितेका ढकाललाई यसपटक लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार शर्मा निकै भारी पर्ने देखिन्छ ।

०७४ को निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत पाउँदा शर्मा एक्लैले ४० हजार ५ सय ६ मत पाएका थिए । गत निर्वाचनमा ढकालसँग रहेको माओवादीको मत यसपटक शर्मासँग रहने छ भने आफ्नै पार्टीको माधव नेपाल पक्षको समूह पनि शर्माकै पक्षमा छ । नायिका एवं राप्रपा नेतृ रेखा थापा राप्रपाबाट उम्मेदवार रहेकाले पनि यो क्षेत्र चर्चामा छ । चुनाव जित्न कठिन देखिएपनि मतदातामाझ उनको लोकप्रियता र क्रेज राम्रो देखिन्छ ।

उमाशंकर अरगरिया (धनुषा–२)

अर्का पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरिया पनि चुनावी प्रतिस्पर्धामा छन् । २०७८ सालमा पर्यटनमन्त्री बनेका अरगरिया यसपटक नेकपा एमालेका तर्फबाट धनुषा–२ मा उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका अरगरिया यसपटक एमालेबाट उम्मेदवार बनेका हुन् । २०७४ मा अरगरियाले माओवादी केन्द्रका रामचन्द्र झालाई पराजित गरेका थिए । अरगरियाले ३२ हजार ४४ मत पाउँदा झाले १८ हजार ७ सय १५ मत पाएका थिए भने कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४ सय ४२ मत पाएका थिए ।

अहिले माओवादी केन्द्रको समर्थनमा कांग्रेसका यादवलाई लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनाइएको छ । यस क्षेत्रमा अरगरिया र यादवबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यद्यपी देशभर गठबन्धन गरेको एकीकृत समाजवादीले यस क्षेत्रमा छुट्टै उम्मेदवार बनाएको छ भने एमालेसँग तालमेल गरेको जसपाले पनि छुट्टै उम्मेदवार उठाएपछि कसको मत कता जान्छ भन्ने दुबिधा देखिएको छ ।

लिलानाथ श्रेष्ठ (सिरहा–३)

२०७८ सालमा पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका लिलानाथ श्रेष्ठ नेकपा एमालेको गठबन्धनबाट सिरहा–३ मा चुनावी मैदानमा छन् । यस क्षेत्रमा ५ दल सम्मिलित सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धन चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा श्रेष्ठ २३ हजार २ सय ७२ मत प्राप्त गर्दै बिजयी भएका थिए । उनले तत्कालीन संघीय समाजवादी फोरमका अशेश्वर यादवलाई २ हजार ५२ मतान्तरले हराएका थिए ।

श्रेष्ठलाई जसपाको मात्र साथ रहेको छ भने माओवादी केन्द्रबाट उम्मेदवार बनेका विश्वनाथ शाहलाई लोकतान्त्रिक बाम गठबन्धनको साथ रहेको छ । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका अमर रेग्मीले प्राप्त गरेको ११ हजार मतमध्ये शाहलाई धेरै मत जाँदा शाह बलियो देखिन्छ । तत्कालीन संघीय समाजवादी फोरम दोस्रो  दल बनेको (हाल जसपा) र अहिले जसपासँग एमालेको तालमेल भएकाले श्रेष्ठ अझ बलियो हुन सक्ने आँकलन गर्न सकिन्छ ।

प्रेम बहादुर आले (डोटी)

सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट डोटीमा साझा उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का प्रेम बहादुर आले २०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रिमण्डलमा पर्यटन मन्त्रालयको जिम्मेवारीमा थिए । २०७४ सालको निर्वाचनमा बाम गठबन्धन अन्तर्गत नेकपा एमालेबाट उम्मेदवार रहँदा कांग्रेसका वीर बहादुर बलायरलाई १६ सय मतान्तरले पराजित गरेका आले अहिले एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एसबाट चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धनको आडमा आले चुनाव जित्ने दाउमा छन् । तर कांग्रेसकै सक्रिय नेता नरेन्द्रबहादुर खड्काको स्वतन्त्र उम्मेदवारी भने उनको टाउको दुखाइ बनेको छ । यता, नेकपा एमालेले आलेको प्रतिस्पर्धीको रुपमा गौरी ओलीलाई उम्मेदवार बनाएको छ । एमालेले आफ्नो मत बचाउन सक्ने र स्वतन्त्र उम्मेदवार खड्काले कांग्रेसको केहि मत आफ्नो पोल्टामा पारेमा भने आलेलाई जित हासिल गर्न चुनौती पर्ने देखिएको छ ।

जीवनराम श्रेष्ठ (काठमाडौं–८)

हाल शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहेका जीवनराम श्रेष्ठ पनि काठमाडौं–८ मा चुनाव लड्दै छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका शिव सुन्दर राजवैद्यसँग हुनेछ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार रहेका श्रेष्ठले नेपाली कांग्रेसका नविन्द्रराज जोशी (हाल स्वर्गीय) लाई ४ सय ४४ को झिनो मतले हराएका थिए ।

एमालेको विभाजनपछि नेकपा एसमा रहेका श्रेष्ठले साझेदार दल कांग्रेसको मत पाएको खण्डमा जित लगभग सुनिश्चित देखिन्छ । यसै क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएका सुमन सायमीको स्वतन्त्र उम्मेदवारीले दुबै उम्मेदवारमा कसलाई फाइदा वा घाटा हुन्छ भन्ने पनि महत्वका साथ हेरिएको छ । यसबाहेक सत्तापक्ष र प्रतिपक्षको गठबन्धनमा रहेका लोसपा नेपाल र जसपा नेपालले पनि छुट्टै उम्मेदवारी दिएका छन् ।

चर्चामा रहे तर चुनाव लडन पाएनन्

केहि पूर्व पर्यटनमन्त्रीहरू चर्चामा रहँदा रहँदै पनि कतिले टिकट नै पाएनन् भने कतिले लड्न चाहेनन् त कति समानुपातिकको सूचीमा अटाए । नेकपा एमालेका नेताद्वय २०५५ सालमा पर्यटनमन्त्री रहेका भीमबहादुर रावल चर्चामा रहँदा रहँदै पनि  टिकट नपाउँदा उम्मेदवार बन्नबाट बञ्चित रहे ।

यस्तै २०६५ मा पर्यटनमन्त्री बनेकी हिसिला यमीले आफू निर्वाचन लड्दै आएको काठमाडौं ७ बाट नयाँपुस्तालाई राजनीतिमा स्थापित गर्ने भन्दै आफ्नै छोरी मानुषी यमीलाई निर्वाचनको मैदानमा पठाइन् । यस्तै २०५६ सालमा पर्यटनमन्त्री बनेका नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना पार्टीको तर्फबाट समानुपातिकको सूचीमा परे ।

२७ कार्तिक २०७९