चलायमान हुन सकेन चितवनको पर्यटन व्यवसाय


टुरिजम पाना चितवन । १८ मंसिर २०७९
chitwan metro

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ । एकपटक जङ्गल सफारी गर्नेलाई दोस्रोपटक आउँदा नयाँपन दिनसक्ने गरी नयाँ ‘प्रडक्ट’ दिन नसक्दा यहाँको पर्यटन गतिविधि चलायमान हुन नसकेको हो ।

राप्ती नदी किनारमा ठूला होटल सञ्चालनमा आए पनि पर्यटक भित्र्याउनका लागि कुनै योजना नहुँदा यहाँको पर्यटन व्यवसाय खस्कँदो अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।

अस्वस्थ प्रतिस्पर्धा, प्रचारप्रसारमा कमी, पर्यटन पूर्वाधारमा लगानी नहुनु, स्थानीय तहसँगको कमजोर समन्वय, महँगो शुल्क, कमजोर आतिथ्यतालगायतका कारण पर्यटक आकर्षित गर्न नसकिएको पर्यटन व्यवसायीको तर्क छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ठूला होटल बन्द भएपछि अन्तर्राष्ट्रिय जगतमा यहाँको प्रचार हुन नसक्दा पनि पर्यटन आगमनमा प्रभाव परेको हो । चितवनलाई मुलुकका तेस्रो पर्यटकीय गन्तव्य भनिए पनि काठमाडौं, पोखरा, लुम्बिनी, हिमाली गन्तव्यको तुलनामा निकै न्यूनमात्रै पर्यटक यहाँ आउने गरेको तथ्याङ्कले देखाएको छ ।

विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, पटिहानी र मघौली गोलाघाटमा पर्यटक आउने गर्दछन् । राजधानी काठमाडौंबाट पोखराभन्दा नजिकको दूरीमा रहेको चितवनमा पर्यटक खासै आकर्षित बनेको पाइँदैन ।

चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरका मध्यवर्ती क्षेत्रमा हात्तीसफारी, जिप सफारीका माध्यमबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा, बाघ, जरायो मृग, चित्तल, कालिज, मयुँरलगायत वन्यजन्तु, चराचुरुङ्गी, सरिसृप, जलचर हेर्नका लागि पर्यटक यहाँ आउने गरेका छन् ।

पर्यटन विज्ञ डा विश्वसुवेदीले सङ्गठितरुपमा पर्यटन प्रवद्र्धनका लागि काम गर्न नसकिएको बताए । ‘यहाँका सरोकारवाला सङ्गठित भएर अभियान सञ्चालन गर्न सकिएन’, उनले भने, ‘एकापसमा समन्वय नहुनु पालिकाले पनि पर्यटनलाई प्राथमिकतामा राखेर नगर्दा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।’

पर्यटन गतिविधि परम्परागत मात्रै भएको, नयाँ पर्यटकीय क्रियाकलाप हुन नसकेको भन्दै उनले कुनै प्याकेज नहुँदा समस्या भएको बताए । उनले भने, ‘पर्यटनमा विविधीकरण गर्नुपर्यो । जिल्लाका पहाडी भेगमा ट्रेकिङ, धार्मिक क्षेत्रको प्रवद्र्धन, जल पर्यटनलाई समावेश गरी प्याकेज बनाएर व्यापक प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।’

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वध्यक्ष सुमन घिमिरे पर्यटकका लागि विविधता दिन नसकेको स्वीकार गर्छन् । जङ्गलसँग सम्बन्धितबाहेक अन्य गतिविधि दिन नसक्दा व्यवसाय उठ्न नसकेको उनको भनाइ छ ।

पटिहानीको होटल जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेल नयाँ कार्यक्रम दिन नसक्दा पर्यटन व्यवसाय उठ्न नसकेको बताउँछन् । जिल्लाको भरतपुर महानगर क्षेत्रमा ठूला होटल बनेसँगै खर्चिला पर्यटक पटिहानी, मेघौली, जगतपुरलगायतका पश्चिम चितवनका होटलमा आउने गरेका छन् । समयमै ध्यान दिएर प्रचारप्रसारमा लाग्न नसके यहाँको पर्यटन उठ्न नसक्ने पौडेलको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई सरकारको सहयोगको अभावमा पर्यटन प्रवद्र्धन गर्न नसकिएको दाबी गर्छन् ।

स्थानीय निकायबाट सहयोग हुन नसकेको भन्दै उनले संङ्घीय सरकारले सम्बोधन गर्नेगरी कुनै काम नभएको बताए । निकुञ्ज प्रवेश शुल्क अत्यधिक महँगो हुँदा होटलले गर्ने सामान्य छुटले खासै प्रभाव पार्न नसकेको उनको भनाइ छ । रासस

१८ मंसिर २०७९