पोखराको आकाशमा चरा झैं उड्दा …


गोविन्द मरासिनी पोखरा । २५ चैत्र २०७९

पोखराको मौसमको भर नै नहुने, कुन बेला पानी पर्ने त कुन बेला चर्को घाम । केहीबेरमै मौसम खुल्ने र केहीबेरमै बिग्रने भइरहेको थियो । साहसिक खेलको सौखिन म । यसपटकको पोखरा यात्रामा रोमाञ्चकारी ‘अल्टालाइट’ को उडान गर्ने पक्का भयो । अघिल्लो पटक पोखरा जाँदा नै उड्ने रहर हो, तर समय अभावका कारण उड्न सकिएन । यसपटक भने जसरी पनि उड्ने भनेर अघिल्लो दिन नै बुकिङको व्यवस्था भइसकेको थियो । पोखरा अल्टालाईटले एकाबिहानै गाडी लिन पठायो । ममा पनि कतिखेर उड्न पाइएला भन्ने उत्सुक्ता झाँगिदै थियो ।

पोखरा अल्टालाइटको गाडीमा चढेर पोखरा एरपोर्टतिर लागेँ। त्यहाँ पुगेपछि आफ्नो ‘डिटेल’ सहित फर्म भरेर सबै प्रक्रिया पूरा गरेपछि एरपोर्टभित्रै लगियो । केहि समयपछि काठमाडौं फर्कनु त छदैं थियो, तर मलाई त एरपोर्टभित्रको चेकिङ, बोर्डिङ्ग पास देखाएर अगाडि बढ्दा अहिले नै काठमाडौं उड्न लागे जस्तो लाग्न थाल्यो ।

केहिबेरमा पोखरा अल्टालाइटको उडान कक्षमा पुगे । त्यहाँ दुई प्रकारका अल्टालाइट राखिएका थिए । एकछिनमा त्यसभित्र उड्ने भनेर सोच्दा पनि मनै फुरुङ्ग बन्यो । मलाई पाइलट पुष्प राज तिमिल्सिनाले उडाउने भए । मलाई उडाउनका लागि 9N–AKI नम्बरको राष्ट्रिय झण्डा अंकित ‘ओपन’ अल्टालाइट ‘रेडी’ थियो । यसरी उड्नका लागि दुई प्रकारका अल्टालाइट उपलब्ध रहेका छन्, एउटा खुला र अर्को बन्द । धेरै पर्यटकहरूको रोजाइमा भने खुला पर्ने गरेको रहेछ ।

केहिबेरमा उडानमा सहज होस् भनेर मलाई हेलमेट र हावाले असर नगरोस् भनेर अलि बाक्लो ज्याकेट दिए । मौसम अनुकुल नहुँदा केही बेर ‘होल्ड’ हुने भयो । त्यो समयमा मैले पाइलट तिमिल्सिनासँग आफूलाई लागेको जिज्ञासा राखेँ । झट्ट हेर्दा सानो हवाइजहाज जस्तो देखिने जसको बीचको भागलाई ‘एअर क्राफ्ट’ भनिन्छ, भने दुबैतीर प्यारासुट जस्तै देखिने जोडिएको छ जसलाई ‘विङ्स’ भनिन्छ । आपतकालीन समयमा पाइलटले चाहेको समयमा खुला चौरमा समेत अवतरण गराउन सक्ने पाइलट तिमिल्सिनाबाट जानकारी पाएँ ।

कम्पनीले पोखराका विभिन्न स्थानमा पुर्‍याउने रुटसहित ओपन र क्लोजको १५ मिनेट, ३० मिनेट, १ घण्टा र ९० मिनेटको प्याकेज बनाएको छ जसका लागि न्यूनतम १०–१२ हजारदेखि ६० देखि ५० हजारसम्म तिर्नुपर्नेछ । समयको अनुसार १५ मिनेटको ४ हजार देखि ५ हजारसम्मको उचाइमा, ३० मिनेटको ८ हजार उचाइसम्म र एक घण्टा ९० मिनेटको उडान भने १२ हजार मिटरसम्मको उचाइमा पुग्ने छ ।

मौसम विस्तारै खुल्न थालेपछि मलाई पाइलट भन्दा पछाडिको सिटमा राखियो । सुरक्षा सर्तकर्ताका कारण ओपन अल्टालाइटमा मोवाइल फोन लैजान दिइएन तर क्यामरा भने लैजान पाइने रहेछ । अल्टालाईट स्टार्ट गरेपछि पाइलटले मलाई हेलमेटको भाइजर लगाउन सुझाए । केही समयको स्टार्टपछि अल्टालाइट धावनमार्गमा कुद्न थाल्यो । लगभग ३ सय मिटर धावनमार्गमा कुदेपछि अल्टालाइटको ‘टेक अफ’ भयो । ‘टेक अफ’ पछि केही माथी पुगेपछि गति लिने क्रममा अल्टालाइट थोरै हल्लियो, म झस्किए पाइलटले त्यही बेलामा ठिक छ भनेर सोधेको संकेत दिए मैले ठिक भएको बताए ।

अल्टालाइट प्रतिघण्टा ९५ कि.मी.को गतिमा उड्ने हुँदा हावाको वेगले बोलेको नसुनिने र पाइलटले एअर ट्राफिक कन्ट्रोल रुमसँग समन्वय गरिरहनुपर्ने हुनाले पाइलटसँग इसारामा मात्र कुरा गर्ने मिल्ने हुन्छ । जब अल्टालाइटले उचाइ लियो र पोखराको आकाशमा पुगे आहा, क्या मजा ! पुरै पर्यटकीय पोखरा शहर तल आफू माथि । पुरै पोखरा शहरलाई एक एक निहाल्न थालेँ । पोखरा एयरपोर्टबाट विश्व शान्ति स्तुपातिर अल्टालाइट उडिरहेको पोखराको सुन्दर वातावरण, नागवेली सडक, स–साना घर माहौल नै वेग्लै । आकाशमा रमाइलो गर्दै पोज दिँदै ‘गोप्रो’ मा तस्बिर र फोटो कैद गरिरहेका थिएँ । पाइलटले अल्टालाइटलाई ‘अप–डाउन’, यता–उता मोड्दा त कताकता सिरिङ समेत बनायो ।

पाइलटले फोटो खिच्न हौसाउँदै चरा उडेको जस्तै संकेतमा हात हल्लाउँथे, म पनि उनको सिको गर्ने । साँच्चै पोखराको फेवातालमाथि करिब ८ हजार मिटर उचाइमा उड्दा आफू चरा भएको महसुस गरिरहेका थिएँ । आकाशबाट विश्व शान्ति स्तुपा, पुम्दिकोटको ठूलो शिवको मूर्ति, सराङकोट, फेवा ताल, सेती नदी लगायतका ठाउँको आकाशबाट देखिएको दृश्यले रोमाञ्चक तुल्याइरहेको थियो । हालसम्म नपुगेको पुम्दिकोटको ठूलो शिवको मूर्ति, त्यसैमाथी आकाशबाट दर्शन गर्न पाउँदा अझै खुसी लाग्यो र आकाशबाटै भएपनि आर्शिवाद समेत लिएँ ।

पाइलटले हात हल्लाए, तलबाट बसेका दर्शनार्थीले पनि उत्साहित भएर बाईबाई भन्दै हातको इसारा दिए । मौसम पुरै नखुलिसकेकाले वरपरका डाडाँकाडा प्रष्ट देखिएपनि आकाशबाट समेत हिमालको दृश्यावलोकन गर्न नपाउँदा अलि नरमाईलो भने लाग्यो । सराङकोटबाट ओरालो लाग्दै गर्दा देखिने पोखरा उपत्यका, फेवाताल र तालमा तैरिएका डुंगा देखेर मन आनन्दित लाग्यो ।

कति छिटो १५ मिनेटको समय बितेछ पत्तै पाइएन, केही समयको फेवाताललाई फन्को लगाइसकेपछि पावरहाउस, सेती नदी हुँदै अल्टालाइट एयरपोर्ट नजिकै आइपुगिसकेछ, म भने आकाशबाट पोखरा हेरेर थाकेकै थिइन । त्यसको केही बेरमै विमान ‘ल्याण्ड’ गरेजस्तै अल्टालाइट पोखरा विमानस्थलमा पुगेर विश्राम लियो ।

कति छुट्याउने बजेट ?

ओपन र क्लोज एअर क्राफ्ट दुई किसिमबाट उडान हुने गर्दछ । जसमा ओपनका लागि १५ मिनेटको सय डलर, ३० मिनेटको १ सय ७५ डलर, ६० मिनेटको २ सय ७५ डलर र ९० मिनेटको ३९५ डलरको प्याकेजमा उपलब्ध छ ।

यस्तै क्लोजका लागि ३० मिनेटको १ सय ७५ डलर, ६० मिनेटको २ सय ७५ डलर र ९० मिनेटको ३ सय ९५ डलरको प्याकेजमा उपलब्ध छ ।

२५ चैत्र २०७९