तायो इको रिसोर्टः नेवारी आर्किटेक्टको सुन्दर नमुना  (रिसोर्ट रिभ्यु)


विष्णुकान्त घिमिरे नगरकोट । २६ चैत्र २०७९
hotel in nagarkot

उत्तरमा गणेश, दोर्जे लाक्पा, लाङटाङ, गौरिशंकर, सिसापाङ लगायत हिमालको सुन्दर दृश्य, दक्षिण पश्चिममा काठमाडौँ उपत्यकाको दृश्यावलोकन । कोलाहलबाट थोरै टाढा, नेवारी कला, परम्परा र आर्किटेक्चर्को उत्कृष्ट ब्लेन्ड गरि निर्माण गरिएको संरचना । यो दृश्य हो नगरकोटमा रहेको तायो इको रिसोर्टको ।

काठमाडौँ  उपत्यकाको उत्तर पूर्वमा रहेको हिल स्टेसन नगरकोटको इको तायो रिसोर्टले अन्तर्राष्ट्रिय चेन लिने प्रक्रियामा समेत गएको छ । रिसोर्ट सन् २०२३ को शुरूवातदेखि सञ्चालनमा आएको छ ।

रिसोर्ट नेवारी संस्कृतिसँग प्रभावित छ । सुन्दा विदेशी भाषा जस्तो लाग्ने रिसोर्टको नाम ‘तायो’को अर्थ निकै फरक छ । नेपाल भाषामा तायोले नेवा समुदायका महिला तथा देवीदेवताहरूले पहिरिने गरगहनाहरूलाई जनाउँछ ।

काठमाडौंमै रहेका नेवारी समूदायको कला तथा संस्कृतिको झल्को दिने तथा प्रवद्र्धन रिसोर्टले गरिरहेको छ । अर्थात, रिसोर्ट पूरै नेवारी संस्कृति तथा परम्परालाई झल्को दिनेगरि बनाइएको छ । रिसोर्टमा प्रकृति, संस्कृति र आधुनिक समयको विलासिताको सुन्दर मिश्रण गरेको अनुभव गर्न सकिन्छ ।

रात्रिकालीन प्रहरमा रिसोर्ट निकै आकर्षक एवम् शान्त देखिन्छ । प्रकृतिलाई अँगाल्दै चम्किरहेको रिसोर्टमा रात्रिकालिन प्रहर बिताउन पनि निकै नै उपयुक्त हुन्छ । प्रेमिल जोडी होस् वा प्रेमिल परिवार तथा साथीहरूसँग शान्त वातावरणमा रात्रिकालीन प्रहरहरू बिताउन पाउँदा त्यहाँ बस्ने जो कोहीको मन लोभिन्छ ।

रिसोर्टमा परम्परा र प्रविधिको मिश्रणमा आधुनिक सेवा सुविधासहित नेवारी आर्किटेक्चर प्रयोग गरिएको छ ।

नगरकोटमा धेरै होटल तथा रिसोर्टहरू रहेका छन् तर नेपालीपन र संस्कृतिलाई प्रवद्र्धन गर्दै निर्माण गरिएको यो पहिलो रिसोर्ट हो । अत्याधुनिक एवम् सुविधा सम्पन्न पाँच तारे स्ट्याण्डर्डको यस रिसोर्ट पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्दै गएको छ ।

१ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानीमा रिसोर्ट तयार पारिएको हो । सन् २०१८ देखि निर्माण शुरू भएको रिर्सोट सन् २०२२ को अन्त्यदेखि सञ्चालनमा आएको हो । सो रिसोर्टमा ४२ कोठा रहेका छन् । जसमा दुई वटा सुइट रुम, एक ‘दुलुचा’ रेष्टुरेन्ट, एउटा बार ‘पुलुकिँसी’, स्वीमिङ पुल रहेको छ । यसबाहेक ७० देखि ९० जनासम्मको क्षमताको मिटिङ हल, ३० वटा गाडी अट्ने पार्किङ लगायतको सुविधा समेत रिसोर्टमा रहेको छ ।

रिसोर्ट नगरकोटको १ हजार ७७० मिटर उचाइमा रहेको यस रिसोर्ट १५ हजार ७७० वर्ग मिटरमा फैलिएको छ रिसोर्टका हरेक कोठाको बेडबाटै  हिमालय रेन्जको दृश्यावलोकन गर्न सकिन्छ ।

रिसोर्टमा छिर्नेबित्तिकै पार्किङ नजिकै वाटर फाउन्टेन बनाइएको छ । जसलाई नेवारी गहना तायोबाट पानी झरिरहेको जस्तो देखिने गरि निर्माण गरिएको छ । 

नेवारी संस्कृतिलाई झल्काउने गरि रिसोर्टको रिसेप्सनलाई सानो र चिटिक्कको बनाइएको छ भने ग्रुप चेक इनका लागि सहज हुने गरि अनअराइभल लाउन्जलाई केही ठूलो बनाइएको छ । रिसेप्सनमा रुम चेक इन गरेर रुमतर्फ वा रेष्टुरेन्टतर्फ जाँदै गर्दा आकर्षक अन्नपूर्ण कलश देख्न सकिन्छ । असनको अजिमा मन्दिरमा रहेको त्यो कलश पनि नेवारी सभ्यताकै एक विशेष कलश हो ।

आरामदायी बसाइका लागि ‘फल्चा गल्ली’ राखिएको छ । नेवारी भाषामा फल्चाको अर्थ चौतारो अथवा बस्ने स्थान भन्ने बुझिन्छ । रिसोर्टमा गएपछि फल्चा गल्ली देख्न सकिन्छ । अन्य रिर्सोट तथा होटलहरूको लबीभन्दा फरक छ, यहाँको फल्चा गल्ली । नेवारी संस्कार र बुट्टाहरूले सजावट गरिएको फल्चा गल्ली निकै आकर्षक देखिन्छ ।

फल्चामा बसेर छलफल गर्न, रिल्याक्स गर्न तथा शान्त रहन समेत सकिन्छ । फल्चा गल्लीमा पाटनका कालीगढहरूद्वारा कुँदिएका बुट्टाहरूमा ह्याण्डीक्राफ्टहरू सजाइएका छन् । जसले फल्चा गल्लीलाई थप आकर्षक बनाएको छ । फल्चा गल्लीमा पाटनका सन्तोष शिल्पकारले ८० घन्टा समय लगाएर कमलको फूलको दुवै छेउमा उत्कृष्ट परम्परागत आकृतिहरू हातले नै बनाएका छन्  । जसलाई टिचगल्ली भनिन्छ । जुन निकै कलात्मक र आकर्षक रहेको छ ।

यसैगरि  काठमाडौं उपत्यकाका निजी घरहरू, मन्दिर तथा दरबारमा देखिने नेवा वास्तुकलाहरू रिसोर्टको झ्याल तथा ढोकामा प्रयोग गरिएको छ । रिसोर्टमा भएको झ्यालहरूमध्ये एक विशेष झ्याल हो गज्या । जहाँ बसेर उपत्यकाको सुन्दर दृश्यावलकोन गर्नेमात्र नभई पारीतर्फ देखिने गगनचुम्बी हिमालसँग मन्त्रमुग्ध भई आनन्दित हुन सकिन्छ ।

रेष्टुरेन्टमा दिइएको ‘दलुचा’ नाम पनि नेवारी संस्कृतिसँग जोडेर राखिएको हो । नेवारी भाषामा दलुचाको अर्थ झ्यालमा झुण्डाएर दियो बालिने एक विशेष प्रकारको भाँडो हो । रेस्टुरेन्टको माथि आँखी झ्याल र आकर्षक चित्रहरू बनाइएको छ ।  दलुचामा नेवारी प्रकृतिकै खाना तथा खाजा पनि खान पाइन्छ । साथै अन्य स्वादिस्ट परिकारहरूले त्यहाँ जाने जो कोहीको मन लोभ्याउँछ । रिसोर्टमा विश्वव्यापी मेनुहरू समेत राखिएको छ ।

कन्टिनेन्टलसँगै नेपालका रैथाने प्रकृतिका खाना तथा खाजाहरू समेत रिसोर्टले खुवाउने गरेको छ । आफ्नै जग्गाजमिनमा उत्पादिन सागसब्जी तथा आफ्नै समुदायमा उत्पादित खानाको लोकल स्वाद पनि रिसोर्टमा चाख्न पाइन्छ । सिस्नुको साग होस् वा टिमुरको छोप, प्रायः  स्थानीय तथा रैथाने परिकारहरू रिसोर्टको विशेषता हो । रेस्टुरेन्टमा दुई वटा प्राइभेट डाइनिङ हल समेत रहेका छन् । जसमा लञ्च गर्दै मिटिङ गर्न सकिनेछ ।

रिसोर्टमा रहेको बार पनि निकै विशेष प्रकृतिको रहेको छ । पुलुङ्किसी नामको बार रेष्टुरेन्टमै रहेको छ । बारमा ह्वीस्की तथा अन्य पेय पदार्थ पिउँदै झुम्न सकिनेछ ।

रिसोर्टको छानोमा देवीदेवताहरूको टुँडाल समेत प्रयोग गरिएको छ, जसले उपत्यकाका धेरै मन्दिरहरूको सम्झना ताजा बनाउँछ । गज्या रहेको भित्ता पनि आफैंमा विशेष रहेको छ । भक्तपुरको परम्परागत इँटा दाची अप्पाको प्रयोग गरि नेवा घरहरूमा निर्माण गरिएकै शैलीमा रिसोर्टमा पनि प्रयोग गरिएको छ ।

रिसोर्टमा एक आकर्षक चौतारा पनि रहेको छ । नेवा सम्पदा र संस्कृतिको झल्को दिने यस रिसोर्टको चौताराले ग्रामीण भेगमा पहिले पहिले रहेको चौताराहरूको सम्झना ताजा गराउँछ । रिसोर्टको केन्द्रमा रहेको चौतारा निकै कलात्मक रहेको छ भने झिलिमिली बत्तीहरूले सजिसजाउ छ । शान्तसँग आराम गर्नका लागि चौतारा निकै नै उपयोगसिद्ध हुन्छ ।

रिसोर्टको रुममा पाहुनाहरूका लागि प्रति रात बीबी प्लानसहित १५ हजार रुपैयाँ मूल्य कायम गरिएको छ ।  सो रुमहरूमा दुई जनाको अकुपेन्सी राखिएको छ । रुम बुक गर्नेले लञ्च वा डिनरमध्ये एक र ब्रेकफास्ट सोही प्याकेजमै पाउनेछन् ।  प्रत्येक रुममा फ्रिज पनि राखिएको छ । जसमा ग्राहकले आफूलाई आवश्यक पर्ने खाद्य तथा पेय पदार्थहरू राख्न सक्छन् ।

यस्तै हरेक रुममा हातले बनाइएका लाइट फ्रेमहरू राखिएको छ, जसले रुमलाई निकै आकर्षक बनाएको छ । समग्रमा हरेक रुमलाई रिसोर्टले वातावरणमैत्री बनाएको छ । भुँईंमा नेवारी संस्कृति झल्कने गरि तेलीय इँट्टा प्रयोग गरिएको छ भने भित्तामा सेमेन्टको प्लास्टर कम, इँटा बढी देखाइएको छ । जसले रुमलाई थप आकर्षक बनाएको छ ।

रिसोर्ट ३० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा होटलका चार वटा रूमलाई अपाङ्गतामैत्री बनाइएको छ । ती चारवटै रूम ह्वीलचेयरमै जान मिल्ने गरि बनाइएको छ । रुममात्रै हैन, रेष्टुरेन्ट र शौचालय तथा स्पासमेत अपाङ्गतामैत्री छ । बसेर वा भित्तामा अडेस लागेर नुहाउन मिल्छ । सहजताका लागि ऐना तथा बेसिन पनि अलि होचो बनाइएको छ । बाथरुमहरू समेतमा इमर्जेन्सीका लागि टेलिफोन सेट राखिएको छ ।

यस्तै हरेक रुमको अगाडि भित्तामा पाहुनाहरूको ‘रिल्याक्सेसन’का लागि इँटाले चौतारीजस्तो बनाइएको छ । जसमा बसेर पाहुनाहरूले आनन्द महशुस गर्न सक्छन् । रुममा किङ साइजका बेड र ट्वीन सेयरिङ बेडहरू राखिएको छ ।

होटलको अगाडि गार्डेन बनाइएको छ । जसबाट सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्य देख्न सकिन्छ । साथै हिमालको मनोरम दृश्यावलोकन गर्दै योग गर्न सकिने गरि संरचनाहरू निर्माण गरिएको छ । योगका लागि गुरुहरू बस्ने र प्रशिक्षण दिने तथा योगमा सहभागी हुनेहरूका लागि छुट्टै सेटअप तयार गरिएको होटलका महाप्रबन्धक रमेश पन्तले जानकारी दिए ।

तयार हुँदै प्रेसिडेन्टल रुम

रिसोर्टले विशेष सुविधासहितको ‘प्रेसिडेन्टल स्वीट’ रुम तयार पार्दैछ । अबको तीन महिनाभित्रैमा संरचना निर्माण सकेर यस रुमलाई सञ्चालनमा ल्याउने तयारी रिसोर्टको छ । प्रेसिडेन्टल स्वीट रुम बूक गर्नेले प्राइभेट गार्डेन तथा आउटडोर  प्रयोग गर्न पाउँछन् ।

रिसोर्टमा स्विमिङ पुल पनि निर्माण भइरहेको छ । केही समयमै स्विमिङ पुल सञ्चालनमा ल्याउने रिसोर्टको तयारी छ ।

पिकनिक प्याकेज

रिसोर्टले रात्रिकालिन बसाइका लागि मात्र नभई दिउँसोका लागि पनि सेवा दिने गरेको छ । दिउँसो पिकनिकमा रमाउन चाहनेहरूका लागि पनि सो रिसोर्ट उचित गन्तव्य बन्न सक्नेछ । रिसोर्टले पिकनिकका लागि आउने पाहुनाहरूलाई प्रति व्यक्ति खाना तथा खाजाको हिसाबमा शुल्क लिन सकिनेछ । हालसम्म ४ हजार रुपैयाँसम्ममा अनलिमिटेड स्न्याक्स दिने गरिएको रिसोर्टले जनाएको छ । रिसोर्टले मागअनुसार, आउटडोर बारबिक्यू सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

रिसोर्टमा ‘ओपन एयर ज्याकुज्जी’ सुविधा केही समयमै ल्याउने तयारी गरिएको छ ।

रिसोर्ट काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा रहेको छ भने भक्तपुरबाट २० किलोमिटरको दुरीमा रहेको छ । रिसोर्टले आवश्यकता अनुसार, पिक एण्ड ड्रपको सुविधा पनि दिने गरेको छ । जसका लागि प्री बुकिङ आवस्यक पर्छ ।

रुम बाहिर रहेको बाथरुम पनि अपाङ्गतामैत्री रहेको छ भने बालबालिकाहरूका लागि पनि सहज किसिमको छ ।

रिसोर्टमा ९० जनासम्म अट्ने कन्फ्रेन्स हल ‘निलदेव’ छ । थियटर प्रकृतिको सो हलमा प्रयोग गरिएको हातले बनाइएका काठको आकर्षक बुट्टाहरूले हलको शोभा नै बढाइदिएको छ ।

सौर्य उर्जाको सदुपयोग गर्दै पाहुनाका लागि वाथरुममा तातोपानीको व्यवस्था गरिएको छ ।

नेपाल वायुसेवा निगमका पूर्व प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारका छोरा समीररत्न कंसाकारले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । जग्गासहित सवा एक अर्ब रुपैयाँ लगानी रहेको रिसोर्ट तयारीका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग ऋण लिएको उनले बताए। उनले भने, ‘जग्गा २५ वर्ष अघि किनेका थियौं, सोही जग्गामा रिसोर्ट बनाएका हौं ।’

रिसोर्टमा भूकम्प प्रतिरोधी संरचनाहरू बनाइएका छन् । संस्कृतिले भरिपूर्ण मात्र हैन रिसोर्ट वातावरणीय हिसाबमा पनि निकै उत्कृष्ट छ । रिसोर्टले वैकल्पिक उर्जालाई प्राथमिकतामा राखेको छ भने प्लास्टिकजन्य वस्तुहरूको प्रयोग न्यूनप्रायः नै छ । रिसोर्टका रुमहरूमा सौर्य उर्जाबाट बत्ती बालिन्छ । साथै वर्षाको समयमा आकाशबाट परेको पानीलाई संकलन गरि ग्रेवाटर रिसाइक्लिङ प्रणालीमार्फत पुनः प्रयोग गर्ने गरिएको छ । जसले पानीको दिगो व्यवस्थापनमा समेत सहयोग गर्दछ ।

हाल सिइओ सचिन प्रधान र महाप्रबन्धक रमेश पन्तले रिसोर्टको ब्यवस्थापन सम्हालेका छन् ।

र अन्त्यमा

काठमाडौं नजिकको हिलस्टेसनमा लक्जरी स्टे गर्न चाहनेलाई रिसोर्ट उत्तम विकल्प बन्न सक्छ । बाहिरबाट रिसोर्ट जति आकर्षक छ, रुमको इन्टेरियरमा नेवारी झल्को दिने केही कोसिस त गरिएको छ । अझै नेवारी संस्कृति वा परम्परागत भाँडा वा ऐतिहासिक सामानहरू त्यहाँ राखेमा नेवारी म्युजियमको रुपमा पनि विकास गर्न सकिन्छ ।

पछिल्लो समय गेष्टहरू अर्गानिक खानाहरू खोजिरहेका हुन्छन् । रिसोर्टले त्यहाँ थोरै एरियामा सीमित सागसब्जी खेती गर्नेमात्रै नभएर केही जग्गा थप गरि एग्रो टुरिजमलाई पनि बढावा दिन सकेमा तायो इको रिसोर्ट नाम अझै सार्थकता पाउँछ ।

रिसोर्ट डेस्टिनेसन वेडिङका लागि पनि उत्कृष्ट गन्तव्य हो ।

२६ चैत्र २०७९