लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय


टुरिजम पाना मनाङ । २६ चैत्र २०७९
फाइल तस्वीर

मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ । याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा ब पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ ।

दुई वर्षको कोभिड सङ्क्रमणको जाखिम र बाढी पहिराका कारण ठप्पजस्तै रहेको पर्यटक आगमन यस याममा पर्यटक उल्लेख्यरूपमा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ ।

कार्यालयका अनुसार यस जिल्लामा कोभिडपछिकै धेरै सङ्ख्यामा बाह्य पर्यटक मनाङ भित्रिएका हुन् । जिल्लामा दैनिकरूपमा दुईदेखि तीन सयसम्म पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सहायक प्रमुख पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार मनाङमा जनवरीदेखि हालसम्म तीन हजार चार सय २० बाह्य पर्यटक भित्रिएका छन् । महिला एक हजार एक सय ३४ र पुरुष दुई हजार दुई सय ८६ पर्यटक भित्रिएको उनले बताए । जिल्लामा पर्यटक भित्रिने क्रम बढेसँगै यहाँका पर्यटन व्यवसायीमा खुसी भएका छन् ।

लामो समय आर्थिक मन्दीले सुस्ताएको पर्यटन व्यवसाय चलायमान हुँदा व्यवसायीले राहत महसुस गरेको व्यवसायी कुमार गुरुङले बताए । “लामो समयपछि पर्यटकको आवतजावत बढेको छ, दैनिक रूपमा होटलमा करिब दुई सय पर्यटक बास बस्ने गरेका छन्”, उनले भने ।

त्यस्तै विगतका वर्षमा कोभिड महामारीका कारण ठप्पैजस्तो भएको पदमार्गमा पर्यटकको लर्को भेटिन्छन् । दैनिकरूपमा पर्यटक आवतजावत गरिरहेका हुन्छन् । थोराङ्ला पाससँगै सर्वाधिक अग्लो स्थानमा रहेको तिलीचो ताल पुग्ने सपना बोकेर विदेशी पर्यटक मनाङ भित्रिने गरेका छन् । यहाँ आएका बाह्य पर्यटक यहाँका व्यवसायीले गरेको स्वागत, सत्कार र व्यवस्थापनले खुसी बनाउने गरेको बताउँछन् ।

पर्यटकको आगमन वृद्धि भएसँगै कोरोना महामारी र बाढीपहिराका कारण सुस्तएको पर्यटन व्यवसाय चहलपहल हुँदा देशकै अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरबाट पर्यटक पैदलयात्रा गरिरहेको देखिन्छन् । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए ।

जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले जिल्ला भ्रमणका लागि प्रवेश गरेको आयोजनाको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष हिमपात नहुँदा थोराङ्ला भन्ज्याङ कट्ने, तिलिचो ताललगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको आयोजनाले जनाएको छ ।

दुई याम गरी जिल्लामा पर्यटक घुम्न आउने गर्दछन् । दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट जिल्लाका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

२६ चैत्र २०७९