जङ्गबहादुरका ज्वाइँले शुरू गरेका थिए इलाममा चिया खेती

इलामको चिया बगानको इतिहास


सुनिल उलक इलाम । ११ मंसिर २०७९
Ilam chiya bagan
फाइल तस्वीर

इलामको चिया बगानको इतिहास १६० वर्ष पुरानो छ । जङ्गबहादुरको समयमा जङ्गले भोटमा आक्रमण गरि चिनियाँसमेतलाई आतंकित बनाएका थिए ।

त्यसबेला तिब्बत चीनअन्तर्गत रहेको हुँदा चीनकै अग्रसरतामा वि.सं. १९१२ मा थापाथली सन्धी भएको थियो । चीन र नेपालको सम्बन्ध फेरि ठिकै हुन थालेको थियो । यसपछि भने तिब्बतले नेपाल सरकारलाई वार्षिक दश हजार रुपैयाँ बुझाउन बाध्य भएको थियो ।

चीन सरकारका तर्फबाट पनि बेला बेला दूतहरू आउने तथा उपहारहरू ल्याउने गर्दथे । यस्तैमा वि.सं. १९२२ मा चिनियाँ सम्राटको उपहारका रुपमा चिनिया दूतले चियाका बेर्ना बोकेर जङ्गलाई उपहारका रुपमा ल्याइदिएका थिए ।

चीनका सम्राटले उपहारका रुपमा पठाइदिएको चियाका बोटहरू के गर्ने कसो गर्ने भनेर अन्यौलमा रहेका जङ्गबहादुरलाई त्यतिबेला इलामका बडाहाकिमका रुपमा रहेका उनकै ज्वाइ गजराजसिंह थापाले इलाम लगेर खेती गरिदिने वचन दिए पछि जङ्गले ज्वाइँका हात इलाम पठाइदिएका थिए । यसरी इलाममा चिया खेती शुरू भएको भन्ने गरिन्छ । यसरी दक्षिण इलामको सोक्तिममा पहिलो चियाको बोट रोपिएको थियो ।

तर चियाको व्यावसायिक खेती भने गजराजसिंहले नै वि.सं. १९३० तिर शुरू गरेका थिए । १९३० कै शुरू तिर दार्जिलिङको भ्रमणमा पुगेका कर्णेल गजराजसिंहलाई जहाँ पुग्दा पनि तातो तातो चियाले स्वागत गरेका थिए ।

दार्जिलिङमा एकदमै लोकप्रिय रहेको चियाको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्यले उनले इलाममा फर्किएपछि सोक्तिम र इलाम चिया बगानको स्थापना गरेका थिए । यहिँबाट नै इलाममा चिया खेतीको व्यापक शुरुवात भएको मानिन्छ ।

वि.सं. १९४० मा उनैले चिया प्रशोधन केन्द्रको समेत स्थापना गरेर चिया उत्पादनको शुरुवात गरेका थिए । यसरी १५० वर्ष अगाडि व्यवसायिक चिया बगानको शुभारम्भ भए पनि यसले विस्तार लिन भने निकै समय लागेको थियो ।

२००७ साल पछि निजी क्षेत्रको पनि चिया बगानमा प्रवेश खुला भएको थियो । २०१६ सालमा पहिलो पटक भारतको आसाममा चिया खेतीमा अग्रणी रहेको बुधकरण समूहले नेपालमा निजी स्तरमा चिया बगान स्थापना गरेका थिए । २०२३ सालमा नेपाल चिया विकास निगम खुलेको थियो । यस निगमअन्तर्गत उत्पादित चियाहरू अन्तराष्ट्रिय स्तरका चिया हुन्थे ।

सरकार नियन्त्रित चिया बगानहरू देशमा आएको बहुदलीय व्यवस्थासंगै धेरै उद्योगको निजीकरणको अभियानमा इलाम वरपरका ७ चिया बगान पनि निजी क्षेत्रलाई सुम्पियो । २०५७ सालमा भारतीय उद्योग समुहलाई पचास वर्षका लागि दिइए पछि भने यहाँको चिया बगानको इतिहास नै मेटिने डर भएको छ ।

११ मंसिर २०७९