आफ्नै गाउँको उत्पादनको प्रवर्द्धनमा स्थानीय सरकार


टुरिजम पाना संवाददाता काठमाडौँ । १ पुष २०८०

पछिल्लो समय स्थानीय उत्पादनलाई प्रवर्द्धन र प्रयोग गर्न स्थानीय सरकारले विभिन्न योजना ल्याउने गरेका छन् । आफ्नो नीतिमा नै समेटेर पालिकाहरूले स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिन थालेका हुन् । बाहिरी उत्पादनलाई कटौती गर्दै स्थानीय सामग्रीको प्रयोगले खर्च पनि घट्ने र स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन पनि हुने भन्दै स्थानीय सरकार अघि बढेका छन्। यहाँ केही पालिकाहरूले स्थानीय उत्पादनलाई कसरी प्रवर्द्धन गर्दै आएका छन् भन्नेबारे जानकारी दिइएको छ ।

दोर्दी गाउँपालिका
लमजुङ्गको दोर्दी गाउँपालिकाले स्थानीय सामग्रीकै प्रचार स्वरुप उपहारमा ठेकी प्रदान गर्दै आएको छ।  काठबाट बनेको ठेकीको प्रयोग गरेसंगै पालिकाको चौतर्फी चर्चा पनि भएको छ। ठेकीको महत्व घट्दै गएको अवस्थामा यसको संरक्षणको निम्ति पनि आफुहरूले उक्त कदम चालेको पालिका अध्यक्ष युवराज अधिकारीले बताए। ‘एकातिर गाउँको प्रचार अर्को तर्फ स्थानीय उत्पादनको बढावा पनि हुने भएकाले हाम्रो पालिकाले यस्तो निर्णय गरेको हो’, उनले बताए।

भानु नगरपालिका
तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप रोक लगाइएको हो । विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मानलगायतका कार्यमा समेत खादा प्रयोग नगर्न निर्देशन गरिएको भानु नगरपालिकाका नगरप्रमुख आनन्द राज त्रिपाठीले  जानकारी दिए।

खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगर्न सम्बन्धित निकायमा सोमबार नै परिपत्र गरिसकेको उनले बताए । भानु नगरपालिकाभित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालय, वाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा नल्याइने नगरपालिका कार्यालयले जनाएको छ ।

धनकुटा नगरपालिका
त्यसैगरी धनकुटा नगरपालिकाले स्थानीय स्तरमा उत्पादित एभोकाडोलाई प्रवर्द्धन गर्दै आएको छ। कुनैपनि समारोहमा नगरपालिकाले मायाको चिनो स्वरुप एभोकाडोको चिह्न अंकित  सामग्री दिदै आएको छ। ‘हाम्रो नगरपालिका एभोकाडोको राजधानी भनेर प्रख्यात छ त्यसैले हामीले मायाको चिनोमा एभोकाडोलाइ प्राथमिकतामा राखेका छौँ,’ नगरप्रमुख चिन्तन तामाङ्ग बताउँछन्।

हेटौँडा उप महानगरपालिका

ठेकी उत्पादन गर्न कुनै बेला प्रख्याति कमाएको मकवानपुरको सो चिनारी अहिले क्रमश: मेटिँदैछ। त्यसैले सो चिनारीलाई कायम राख्न भन्दै अहिले यहाँका विभिन्न स्थानमा ठेकी बनाइँदैछ। हेटौँडा उपमहानगरपालिकाले यस कार्यलाई बढावा दिदै चिनो स्वरुप पनि ठेकी नै उपहार दिन थालेको छ। ‘हिजो हाम्रो स्थान ठेकीकै लागी चिनिथ्यो तर आज बिस्तारै ठेकी लोप हुँदै गएको छ, हाम्रो ठाउँको चिनारीलाई जोगाउन हामीले उपहार दिने शैलीमै परिवर्तन ल्यायौँ,’ नगरप्रमुख मिना कुमारी लामाले बताइन।

यी त हुन् केही उदाहरण, यी पालिका बाहेक पनि थुप्रै पालिकाहरूले आफ्ना स्थानीय उत्पादन प्रवर्द्धनका लागि कार्य गर्दै आएका छन् ।

१ पुष २०८०