चोभारको मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरू, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?


टुरिजम पाना संवाददाता काठमाडौं । ३० मंसिर २०८०

काठमाडौंको चोभार स्थित मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ । तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ । सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ ।

जिपलाइन खेल्दा गरिने अनुभुति अनुसार पहिलो चरणलाई  ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई  ‘द फन’ नामाकरण गरिएको छ ।

लोकप्रिय नायिका वर्षा राउतले शनिबार जिपलाइन उद्घाटन गरेकी छन् । उनले ३ चरणको जिपलाइनमा अन्यत्र भन्दा फरक र रोचक अनुभव लिएको बताइन् ।

जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ ।

जेबी एड्भेन्चर प्रा. लि.ले पर्यटन विभाग र स्थानीय तहसँग स्वीकृती लिएपश्चात जिपलाइन सञ्चालनमा ल्याउन ल्याएको कम्पनीका निर्देशक  पञ्चलाल महर्जनले जानकारी दिए ।

दैनिक ३ सयदेखि ३५० जनासम्मले जिपलाइन खेल्न सक्छन् । जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३०बजेसम्म सञ्चालन हुने उनको भनाइ छ । १ सय किलोग्राम तौल भएकासम्मले जिपलाइन खेल्न मिल्ने महर्जनले जानकारी दिए ।

कति लाग्छ शुल्क ?
कम्पनीले जिपलाइनको पुरै प्याकेज केही समयका लागि १२ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउनेछ । तर पूरै नगरेर एक स्टेप मात्रै जिपलाइन गर्ने हो भने ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्नेछ ।

टेण्डम (जोडी) जिपलाइनको मज्जा १ हजार ५ सय रुपैयाँमै लिन सकिन्छ । विद्यार्थी (परिचय पत्र सहित) र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् ।

कसरी पुग्ने ?
एकान्तकुनाबाट मेडिसिटी हस्पिटल हुँदै २ किलोमिटरको दूरीमा मन्जुश्री पार्क पुग्न सकिन्छ । सार्वजनिक सवारीमा जाँदा रत्नपार्क वा लगनखेलबाट दक्षिणकाली जाने गाडी चडेर जान सकिन्छ । रिङरोडको बल्खुबाट जान पायक पर्नेले सिधै बल्खु गएर ३ किलोमिटर दक्षिण जाँदा पनि पुगिन्छ । बल्खुबाट सार्वजनिक सवारी सहजै पाइन्छ

एड्भेन्चर हब बनाउने भावी योजना:
कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ । जिपलाइन पनि सोही अन्तर्गतको परियोजना भएको महर्जन बताउँछन् । उनले भने,’हामीले जिपलाइन सञ्चालन गरिसकेपश्चात क्रमश: अन्य गतिविधि पनि लञ्च गर्छौं । जसका लागि तयारी भइरहेको छ । यो ठाउँलाई एडभेञ्चर हब बनाउने हाम्रो लक्ष्य हो ।’

कम्पनीले चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरू गर्ने महर्जनले बताए ।

३० मंसिर २०८०