सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।
त्रेता युगमा गुरु विश्वामित्र सहित मिथिलाको राजधानी जनकपुरधाममा राजा जनकले आयोजना गरेको धनुष यज्ञमा अयोध्याबाट भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ ।
जहाँ राम र सीता एकअर्काप्रति आकर्षित भएको र सीताले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन बुधबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो ।
त्रेता युगमा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाह भएको दिनको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसँग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २६ गतेबाट सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म चल्ने छ ।
भोलि बिहीबार धनुष यज्ञ, मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते राम र जानकीको मटकोर तथा पुस १ गते विवाहपञ्चमीको मुख्य दिन रहेको छ । पुस २ गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट जन्ती आउने प्रचलन छ । उनीहरुलाई विशेष सम्मानका साथ खानपिन गराउने र दक्षिण दिएर विदाइ गर्ने गरिन्छ ।