कोदोको ढिडो र सिस्नोको तरकारीको स्वाद पस्कदै गुरुङ घरबास


टुरिजम पाना नवलपुर । १५ कार्तिक २०७९
homestay sirubari
सांकेतिक तस्वीर

स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिकस्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ । स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ ।

जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ । त्यतिमात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत बौदीकाली गाउँपालिका–६ लहापेमा पर्ने गुरुङ घरबासले अझै पनि घरबासको मर्मलाई कायम राख्दै आएको छ । पूर्व-पश्चिम राजमार्गको कावासोतीबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने यस घरबासमा पुग्ने पाहुनाको रोजाइमा कोदोको ढिडो, सिस्नोको तरकारी र तामाको अचार पर्ने गरेको छ ।

घरबासमा आएका पाहुनाको रोजाइमा परेका ती परिकारको स्वाद चखाइरहेका छन् गुरुङ घरबासका सञ्चालक । ‘यहाँ आउने पाहुनाले यहाँको स्थानीय खान के पाइन्छ भन्ने गर्नुहुन्छ, हामीकहाँ कोदोको ढिँडो र सिस्नोको तरकारी मुख्य हो भन्दा उहाँहरू खुसी हुँदै त्यही माग्नुहुन्छ’, घरबास सञ्चालक पवित्रा गुरुङले भनिन् ।

कतिपयका लागि सिस्नोको तरकारी खाएको अनुभवसमेत नहुने हुँदा त्यसको माग गर्ने उनले बताइन् । यससँगै स्थानीयरूपमा उत्पादन गरिएका खाद्यान्न तथा तरकारी, स्थानीय जातका कुखुराका परिकार घरबासमा बस्ने पाहुनालाई प्रदान गर्ने गरिएको उनले जानकारी दिइन् ।

घरबासमा खानाका परिकारमा मात्रै होइन, मनोरञ्जनका लागि प्रस्तुत गरिने सांस्कृतिक प्रस्तुतिमा समेत ग्रामीण कला, संस्कृति र रहनसहनलाई समेट्ने गरेका छन् । मनोरञ्जनका लागि झाम्रे, कुरुवालगायत लोकगीतसहितका सांस्कृतिक कार्यक्रम पाहुनाका लागि प्रस्तुत गर्ने गरिएको उनको भनाइ छ । ती गीतमा स्थानीय विषयवस्तु, जीवनका सुख, दुःखका भोगाइ पर्ने गरेका छन् ।

धौबादी फलाम खानीको उत्तरी सिमाना लहापेमा पर्ने गुरुङ घरबास अग्लो पहाडको काखमा छ । प्राकृतिकरूपमा मनोरम स्थानमा पर्ने गुरुङ घरबास यहाँ रहेका १० घरपरिवार मिलेर विसं २०७३ देखि सञ्चालनमा ल्याएका हुन् । पहाडी क्षेत्रमा पर्ने यहाँको घरबासमा नवलपुरसहित आसपासका जिल्लाबाट समेत पाहुना आउने गरेका छन् ।

मुख्यगरी नवलपुरका राजमार्ग आसपास र चितवनबाट गर्मीको समयमा पाहुना लहापेस्थित घरबासमा आउने गरेका छन् । गर्मी छल्न बजार धेरैजसो यहाँ आउने गरेको गुरुङ घरबासका अध्यक्ष यमबहादुर गुरुङले बताए ।

गर्मी समयमा यहाँको मौसम चिसो हुने हुँदा पाहुनाको आगमन धेरै हुने उनले बताए । गुरुङ घरबासमा आउने आँखै अगाडि लमतन्न परेका अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि हिमशृङ्खलाका दृश्यावलोकन गर्न पाउँदा खुसी व्यक्त गर्ने गरेको अध्यक्ष गुरुङले बताए । घरबासमा आएका पाहुना पहाडी पाखामा पैदलयात्राको अनुभवसहित मृग र घोरल अवलोकन गर्न पाउने उनको भनाइ छ ।

वर्षाको समयमा पहिराका कारण बाटो अवरुद्ध हुँदा भने घरबास सुनसानजस्तै हुने गरेको अध्यक्ष गुरुङले बताए । ‘वर्षामा बाटो छेकिन्छ, बाटोको स्तरोन्नति गरे बाह्रै महिना घरबासमा सहजरूपमा पाहुना आउन सक्थे, यसका लागि सरोकारवालाले पहल गरिदिए हुन्थ्यो’, उनले भने ।

दश घरमा घरबास सञ्चालन गरिएको यहाँ २० वटा आवासीय कोठा छन् । एउटा कोठाको तीन सय ५० देखि रु चार सयसम्म लिने गरेको घरबास सञ्चालक चमकुमारी गुरुङले बताए । घरबास सञ्चालनपछि जीविकोपार्जनमा सहयोग पुगेको उनले बताए ।

पहाडी क्षेत्रमा अन्य रोजगकारको अवसर नहुने भए पनि घरबास सञ्चालनपछि आयआर्जनको माध्यम बनेको उनले बताए । यसले घरपरिवारको आर्थिक गर्जो टार्न सहयोग पुग्दै आएको सञ्चालक गुरुङले बताए ।

१५ कार्तिक २०७९