हिमालपारीकाे ‘ओडार सामुदायिक होमस्टे’

सफासुग्घर र चिटिक्क होमस्टेले लोभ्याउँछ पर्यटक


टुरिजम पाना मनाङ । १५ कार्तिक २०७९
manag homestay odar

हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा ग्रामीण पर्यटनको अवधारणा अनुसार ओडार गाउँमा जिल्लाकै पहिलो सामुदायिक होमस्टे सञ्चालनमा छ ।  नासो गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण ओडार गाउँमा जिल्लाकै पहिलो सामुदायिक होमस्टे चलिरहेकाे छ ।

अन्नपूर्ण पदमार्गमा पर्ने धारापानी गाउँबाट ३० मिनेट उकालो हिँडेपछि यो होमस्टेमा पुगिन्छ । यो गाउँमा विशेषगरी गुरुङ जातिको बाहुल्यता रहेको छ । यस सामुदायिक होमस्टे वि.सं. २०७२ सालदेखि सञ्चालनमा आएको हो । गाउँमा रहेका २९ मध्ये १५ वटा घरमा होमस्टे सञ्चालनमा छन् ।

स्थानीय संस्कृति, मौलिक परम्पराको जगेर्ना गर्दै ग्रामीण बासिन्दाको अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले त्यहाँ होमस्टेको अवधारणा अगाडि बढाइएको हो । त्यहाँ पुग्ने पर्यटकहरूलाई स्थानीय खेतबारीमै उत्पादन भएका खानेकुराको स्वाद चखाइन्छ ।

यहाँ पुग्ने पर्यटकलाई विशेषगरी दाल, भात, तरकारी, मासु, अचारजस्ता नेपाली खाना खुवाइन्छ । तर पनि त्यहाँ आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै खानाका छुट्टैछुट्टै मेनु बनाइएको छ । पर्यटकहरुले चाहेको खण्डमा सामूहिक रुपमा पनि खाना तयार पारिन्छ ।

यसका साथै महिला समूहहरुको मौलिक नृत्य एवं पुरुष समूहले कृष्ण चरित्र, शेर्पा नाचले पर्यटकलाई थप रमाइलो लाग्दछ । ओडार गाउँका मानिसहरुको मुख्य पेशा कृषि र पशुपालन हो । वरिपरि ठूला ठूला डाँडाले घेरिएको ओडार गाउँमा खेतीयोग्य जमिनको कमीका कारण कृषिभन्दा पशुजन्य उत्पादन बढी हुन्छ । सिजनका बेला स्याउ पनि उत्तिकै उत्पादन हुन्छ ।

महिलाहरुले मात्रै सञ्चालन गरेका यी होमस्टेहरू सफासुग्घर र चिटिक्क पारेका छन् । ओडार सामुदायिक होमस्टेमा आन्तरिकभन्दा बाह्य पर्यटक धेरै पुग्ने होमस्टे सञ्चालक समितिकी अध्यक्ष बेलकासी गुरुङले बताइन् । आवश्यक प्रचारप्रसार गर्न नसक्दा आन्तरिक पर्यटकहरु नआएको हुन सक्ने बेलकासी बताउँछिन् ।

गाउँको बीचमा एउटा ठूलो ढुंगा छ, त्यस ढुंगामा स्थानीयले पूजा गर्छन् र अहिले भ्यु प्वाइन्टको रुपमा त्यसलाई विकास गरिएको छ । त्यो ढुंगामा चढेर मनाङका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । यहाँबाट मनास्लु हिमाल लगायतका हिमश्रृङ्खला, विभिन्न पहराबाट झरेका पानीका झरना देख्न पाइन्छ । लालीगुँरास, डाँफे मुनाल, जंगली जनावार पनि त्यो होमस्टेको केही दूरीमा देख्न पाइन्छ ।

यस होमस्टेबाट ४० मिनेटको दुरीमा नमरुच्यो भ्यु प्वाइन्ट पनि छ भने ५ घण्टाको पैदल दूरीमा अर्को थुम भ्यु प्वाइन्ट छ । गाउँको फेदीबाट मस्र्याङ्दी नदी बग्छ । हालैमात्रै यो होमस्टेलाई ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले समेत यस स्थानलाई घुम्नैपर्ने उत्कृष्ट ३ होमस्टे गन्तव्यको रुपमा सूचीकृत समेत गरिसकेको छ ।

१५ कार्तिक २०७९