मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नति हुँदै


टुरिजम पाना संवाददाता चितवन । २४ माघ २०८०

पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो ।

मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ । एक हजार एक सय मिटरको घाँसेमैदान रहेको विमानस्थलमा नयाँ धावन मार्ग सात सय मिटर लम्बाइ र २० मिटर चौडाइको हुनेछ । पहिलो चरणमा उच्च स्तरको ग्राभेल गरिएको जनाउँदै उहाँले भविष्यमा थप स्तरोन्नति र विस्तार गर्न सकिने बताउनुभयो ।

झन्डै एक करोड २० लाखको लागतमा निर्माण कम्पनीले धावन मार्ग स्तरोन्नतिको काम गरिरहेको छ । यहाँ पछिल्लो समय नेपाली सेनाले प्याराजम्प गर्दै तालिम लिने गरेको छ । मेघौलीमा रहेका होटलले कहिलेकाहीँ जहाज र हेलिकप्टर चार्टर गरेर ल्याउने गरेका छन् । यसअघि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ मार्फत विमानस्थलको गुरुयोजना समेत निर्माण गरिएको छ ।

स्तरोन्नति नहुँदा घाँसेमैदान मात्रै रहेको विमानस्थल गौचरनजस्तै बनेको थियो । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसपश्चात् एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराइएको थियो । भरतपुरबाट मेघौली २४ किलोमिटर दक्षिणतर्फ पर्छ । यस विमानस्थल भने कूल २३ बिघा क्षेत्रमा फैलिएको छ ।

२४ माघ २०८०