प्राधिकरणले १५०० मिटरभन्दा कम  रनवे भएका विमानस्थल निर्माण नगर्ने


टुरिजम पाना संवाददाता काठमाडौं । १८ फाल्गुन २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले १५०० मिटरभन्दा कम  रनवे भएका विमानस्थल निर्माण नगर्ने भएको छ। साना विमानस्थलमा ठूला जहाज चल्न नसक्ने भएपछि अधिकांश बन्द भएको भन्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अबदेखि साना विमानस्थल निर्माण नगर्ने निर्णय भएको बताएका हुन्।

अहिले बन्द रहेका अधिकांश विमानस्थल १५०० मिटरभन्दा कम रनवेका छन्। विशेषगरी हिमाली जिल्ला केन्द्रित विमानस्थल १५०० मिटरभन्दा कम रनवेका छन्। १५०० मिटरभन्दा कम रनवे क्षमताका विमानस्थल बनाउन करिब २ अर्ब रुपैयाँ लागत लाग्ने गर्छ।

विमानस्थल बनाएर खेतीयोग्य जमिन मासिँदै गएकाले जहाज सञ्चालन गर्न सम्भव नदेखिएका अन्य ठाउँ अन्य क्षेत्रलाई दिनसमेत छलफल सुुरु भएको उनले बताए।

यसअघि निर्माण गरिएका विमानस्थल सडक सन्जाल नपुग्दै ट्विनअटर जहाजका लागि बनाइएको थियो। तर, अहिले ट्विनअटर जहाजको संख्या कम रहेको र ठूला जहाज धेरै चल्न लागेका कारण अब बन्ने विमानस्थल त्यहीअनुसार बनाउनुपर्ने प्राधिकरणको ठहर छ। अहिले प्राधिकरणले केही विमानस्थल स्तरउन्नतिको तयारीसमेत गरिरहेको छ।

मुलुकभर रहेका ५५ विमानस्थलमध्ये ३४ वटा सञ्चालनमा छन्। सञ्चालनमा रहेकामध्ये पनि दुई दर्जन विमानस्थलमा नियमित उडान हुने गरेको छैन। उड्डयन प्राधिकरणका अनुसार हालसम्म ३७ विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ।

 

१८ फाल्गुन २०८०