‘शिन्तामणी मुस्ताङ’ को छलाङ


टुरिजम पाना संवाददाता मुस्ताङ । १८ माघ २०८०

हिमाली जिल्ला मुस्ताङको जोमसोम स्थित ‘शिन्तामणी मुस्ताङ’ होटल विश्वको उत्कृष्ट २२ होटलको सूचीमा पर्न सफल भएको छ । नेशनल जोग्राफी च्यानलको २०२४ को ‘बेस्ट अफ त वल्र्ड’ सूचीमा नेपालको ‘शिन्तामणी मुस्ताङ’ होटल परेको हो ।

जहाँ एक रात बिताउन करसहित २ लाख ७३ हजार रुपैयाँ तिर्नुपर्छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो ।
स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो ।

पदयात्रा, स्थानीय परिकार र संस्कृतिका कारण यो रिसोर्ट उत्कृष्ट सूचीमा परेको हो । यहाँ शताब्दिऔं पुराना बौद्ध गुम्बाको अनुभूति गर्न सकिन्छ ।

‘शिन्तामणीको सबै लजहरुका पाहुनाहरुसँग गाइड जोडिएका हुन्छन्, जसले उनीहरूलाई नेपालको तल्लो मुस्ताङ क्षेत्रको नाटकीय पहाड र मरुभूमि परिदृश्यहरू बीच साहसिक यात्रामा लैजान्छन् ।’ परम्परागत घरहरु जस्तो देखिने लजहरु बागलुङ ढुङ्गा र प्राचिन बस्तुहरुले सुसज्जित रहेको छ ।

यहाँ अवस्थित ६० सिटको निलगी रेष्टरेन्टमा हिमालयन याक मोमो (डम्पलिङ) र तिब्बती थुक्पा, चाउचाउको सूप र स्थानीय मार्फका उत्पादनहरु पाइने नेशनल जोग्राफी च्यानलले उल्लेख गरेको छ ।

शेर्पा हस्पिटालिटि ग्रुप अन्तर्गत सञ्चालन भइरहेको यस होटलको व्यवस्थापन शिन्तामणी होटलले गरिरहेको छ । शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायि होटल सञ्चालन गर्दै आएको छ ।
यो होटल समुद्री सतहबाट २ हजार ८०० मिटरको उचाइमा रहेको छ । नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गराउन ‘शिन्तामणी मुस्ताङ’ले योगदान गरीरहेको छ । लक्जरीयस सुविधा खोज्ने पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा उपलब्ध गराइरहेको छ ।

अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूचीमा मुस्ताङ पनि परेको छ । यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो ।

सिएनएनले मुस्ताङलाई चिनाउँदै माउन्टेन ट्रेकिङका लागि प्रसिद्ध परौणिककालीन पदमार्गको रुपमा उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सले पनि नेपालको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको उल्लेख छ । मुस्ताङ भ्रमण गर्ने विलासी पर्यटकहरुको पहिलो रोजाइको होटल ‘शिन्तामणी मुस्ताङ’ पर्ने गरेको छ ।

१८ माघ २०८०