दक्षिण एशियामै पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुँदै


टुरिजम पाना संवाददाता काठमाडौं । २२ बैशाख २०८०
फाइल तस्वीर

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते (२३–२४ जुन २०२३ ) पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने भएको छ । उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसीज एशोसिएसन सह आयोजकका रुपमा रहनेछन् ।

दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चीनिया पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितीमा बोर्डमा भएको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपाल स्थित चिनीयाँ दुतावासको तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यस प्रकारको वोट रेस फेस्टिभल दक्षिण एशियामै पहिलो पटक आयोजना गर्न चिनीयाँ पक्षले जानकारी दिएको छ । रेसका लागि चीनबाटै आठ वटा विशेषखालका वोट सहित अन्य सहभागीहरु नेपाल आउने छन् । फेस्टिवलमा नेपालका सातैवटै प्रदेशबाट सहभागिता गराइने छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै पोखरामा मेयर धनराज आचार्यले यस प्रकारको कार्यक्रमले नेपाल कै समग्र पर्यटनमा नयाँ आयाम थप्ने बताए । उनले यो कार्यक्रमले पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने बताए ।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले वोट रेस फेस्टिवलका माध्यमबाट पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए । त्रिपक्षीय सहकार्य तथा अन्य सरोकारवालाहरुको सहभागीतामा हुने यो कार्यक्रमले धेरै पर्यटकलाई आर्कषित गर्ने समेत बताए ।

चिनियाँ दुतावासका डीसीएम वाङजिनले पोखरा चिनियाँ पर्यटकको लागि आर्कषक गन्तव्य भएको उल्लेख गर्दै यो कार्यक्रमका माध्यमबाट दुवै देशबीचको सांस्कतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बतए ।

उनले यस प्रकारको कार्यक्रम दक्षिण एशियामै पहिलो पटक आयोजना गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । सो अवसरमा फुड फेस्टिवल समेत आयोजना गरिने भएको छ ।

२२ बैशाख २०८०