अन्तर्राष्ट्रिय विमानस्थलपछि पोखराको प्याराग्लाइडिङ, प्राधिकरण र व्यवसायीको आ-आफ्नै अडान !

सबै उडान सराङकोटमा नहुने प्राधिकरणको दाबी, व्यवसायी भन्छन् : अन्याय हुन्छ


national sports competition Nepal, paragliding
फाइल फोटो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेसँगै यतिखेर पोखरालाई आधार बनाएर उडान हुने प्याराग्लाइडिङबारे थप बहस भइरहेको छ । नेपाल नागरिक उडान प्राधिकरणले विमानस्थलको यान्त्रिक परीक्षण समेत गरिसकेको अवस्थामा अब त्यहाँको प्याराग्लाइडिङको भविष्य के होला ? भन्नेबारे अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ ।

पोखराको आकाशमा झण्डै अढाई दशकदेखि प्याराग्लाइडिङ हुँदै आएको छ । करिब ५७ कम्पनी सञ्चालनमा रहेको र त्योमध्ये करिब ५४ वटामात्रै अहिले सञ्चालनमा रहेको नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन’ उडानको रिपोर्ट आउन बाँकी छ । सो रिपोर्ट आएपछि व्यवसायिक परीक्षण समेत हुने र त्यसपछि उडान थाल्ने प्राधिकरणले जनाएको छ ।

यसैबीच प्राधिकरणले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान रहिराख्ने वा विस्थापन नै गर्ने भन्नेबारे अध्ययन भइरहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले टुरिजमपानासँगको कुराकानीमा प्याराग्याइडिङ उडाउनेबारे विभिन्न विकल्पहरूमा अहिले अध्ययन भइरहेको जानकारी दिए । उनले भने,‘प्याराग्लाइडिङ बन्द होस् भन्ने प्राधिकरणको चाहना छैन । उडान बन्द नगर्नका लागि अहिले विभिन्न विकल्पमा अध्ययन गरिरहेका छौँ ।’ प्रवक्ता भुलले उडान नहुने भन्ने निर्णय भएमा विषय नै बन्द हुने बताए । यद्यपी अहिले कसरी हुन्छ उडान नरोक्ने भन्ने विकल्पमा छलफल भइरहेको उनको भनाइ छ ।

उनले करिब ६० वटा कम्पनीले सो आकाशमा उडान गरिरहेको अहिलेको अवस्थामा विमानस्थल सञ्चालन भए उडान कटौती गर्नुपर्ने बताए । ‘विमानस्थल सञ्चालन हुँदा त्यतिधेरै उडान गर्न आकाश नै पुग्दैन । त्यसैले कि केही मात्रै उडाउन दिने भन्ने विकल्प हुन सक्ला,’ उनले भने । उनले अहिले प्राधिकरणले केही पनि निर्णय नगरेकाले सो विषय छलफल तथा अध्ययनकै क्रममा रहेको बताए ।

व्यवसायी भन्छन् : अनुशासित भएर उडान गर्न पाउनुपर्छ

सो क्षेत्रमा प्याराग्लाइडिङको भविष्य अन्यौल भइरहेको अवस्थामा व्यवसायीहरूले आफूहरूले उडान गर्न पाउने लबिङ गर्दै आइरहेका छन् । व्यवसायीहरूको संगठन नेपाल हवाई खेलकुद संस्थाले सरोकारवाला निकायहरूसँग लबिङ गर्दै सो क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाउन नहुने बताउँदै आइरहेको छ ।

संस्थाले अहिले सो क्षेत्रमा ५४ वटा कम्पनीले प्याराग्लाइडिङ गर्दै आइरहेको समेत जनाएको छ । संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले अहिले प्याराग्लाइडिङ अव्यवस्थित तरिकाले उडान भइरहेको भन्दै सरकारले अनुशासित ढंगले चलाउन दिनुपर्ने बताए ।

उनले उडान बन्दै गर्ने अवस्था आउँदा दुई दशकभन्दा बढी समय उडान गर्दै आएका व्यवसायीलाई मर्का पर्ने बताए । उनले भने,‘उडान रोक्ने विकल्प पनि हाम्रा लागि जायज हुँदैनन् । हामीलाई प्रविधिमैत्री बनाएर, अनुगमन वा नियमन गरेर अनुशासित ढंगले उडाउन दिनुपर्छ ।’

उनले उडान कटौती गरेर कसैलाई अन्तै पठाउँदा पनि अस्तव्यस्त हुने बताए । उनी भन्छन्,‘कोही जाने, कोही बस्ने गरायो भने त अन्याय हुन्छ । त्यसकारण व्यवस्थित बनाएर उडान गराउनुको विकल्प प्राधिकरणलाई हुन्न ।’

संस्थाका अध्यक्ष सुनिल भट्टराईले आफूहरूले प्राधिकरणसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘प्राधिकरण हाम्रो रेगुलेटरी निकाय हो, हामीले उहाँहरूसँग सहकार्य गर्नुको विकल्प हुँदैन,’ उनले भने,‘तर विकल्पमाथि छलफल भइरहेको बताउनुभएको छ, हामीलाई आशा छ यहाँ उडान रोकिँदैन ।’

उनले अध्ययनले उडान रोक्नैपर्ने अवस्था औंल्याएमा पनि प्राधिकरणसँग सहकार्य त गर्नु नै पर्ने बताए । ‘हामीले हाम्रो कुराहरू राखेका छौँ, अब प्राधिकरणले के निर्णय गर्छ त्यसलाई मान्नुको विकल्प त हामीसँग हुँदैन,’ अध्यक्ष भट्टराईको भनाइ छ ।

२३ मंसिर २०७९