भुजुङमा हनि हन्टिङ, अहिलेसम्मकै ठूलो समुहद्वारा अवलोकन


टुरिजम पाना लमजुङ । २३ मंसिर २०७९
honey hunting

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँ पुगेको एक समूहले हनी हन्टिङ अवलोकन गरेको छ ।

नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनि हन्टिङको अवलोकनका लागि लमजुङ पुगेका थिए ।

बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भिरमा मह शिकारकाे अवलाेकन गरेकाे हो । बिहीबार साँझ क्व्होलासोंथार गाउँपालिका ४, भुजुङ पुगेका उनीहरु आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हनि हन्टिङको आयोजना गरिएको आयोजक स्पार्क एड्भेन्चर ग्रुपले जनाएको छ ।

bujhung gau honey hunting

‘स्पार्क एडभेन्चर २०२२’ मा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल, विमानचालक क्याप्टेन विजय लामा, कलाकार वीपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा लोचन कार्कीसहितको टिम भुजुङ पुगेको स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए ।

यसरी अवलोकनमा पुगेका महानायक राजेश हमालले भुजुङको गाउँले जीवनले मोहित बनाएको बताए । क्याप्टेन विजय लामाले मह शिकारी एडभेन्चरको हिरो भएको प्रतिक्रिया दिए । यस्तै कलाकार विपिन कार्कीले मह काढेर हेर्दा आफैले भिरमा गएर मह काढौं काढौं लागेको बताए , भने नायिका वर्षा शिवाकोटीले जिन्दगीकै अभुतपूर्व अनुभव लागेको बताईन् ।

काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले भुजुङमा स्थानीय संस्कृतिको अवलोकन गर्ने, भीर मह काढ्नेस्थलमा पुगेर अवलोकन गर्ने र होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्किने कार्यक्रम रहेको छ । शुक्रबार साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकालको एकल साँझ हुने र २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको भट्टराईले बताए ।

असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवद्र्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ ।  घर पालुवा मौरीको मह निकाल्ने कार्यलाई मह काढ्ने गरिन्छ भने जंगली मौरीको मह निकाल्ने कार्य साहसिक भएकोले सिकार भन्ने गरिन्छ ।

honey hunting

लमजुङको भुजुङमा करीब ४ सय घर एकैठाउँमा छन् । पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ ।

२३ मंसिर २०७९