राराको सौन्दर्य पछाडि लुकेको रोचक तथ्य र पीडा


सुनिल उलक काठमाडौं । १८ मंसिर २०७९
कर्णालीको प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल । तस्बिर : गीता कटुवाल

२०२० फागुन २० गते मंगलबार राजा महेन्द्र रारा ताल पुगेका थिए । त्यतिबेला रारा पुग्ने उनी नै पहिलो बाहिरी व्यक्ति थिए । रारा आसपासका मानिसहरूलाई रारा यतिको सुन्दर छ भन्ने थाहा भएपनि बाहिरबाट त्यहाँ पुग्नेहरूलाई यसबारे थाहा थिएन । रारा पुगेका राजा महेन्द्र मन्त्रमुग्ध भएर ताल किनारमा रहेको धुपीको चौतारामा बसेर कविता समेत लेखे ।

सुन्दरताको भण्डार सारा,
के खनाया यसै रारामा
राराकी अप्सरा…

राजा महेन्द्र राराबाट मोहित भए । रारा क्षेत्रलाई यसरी नै सुन्दर बनिरहन दिनुपर्छ भन्ने सोच उनमा आयो । केही समय रारामा बिताएका राजा महेन्द्रले राराको सुन्दरता बिगार्न नहुने बिचार ब्यक्त गरे । त्यो बेला पञ्चायतकाल थियो । राजाले बोलिदिए पछि त्यसलाई पूर्ण गर्न पञ्चहरूको दौडधुप शुरू हुन्थ्यो । रारा क्षेत्रको बस्तीले राराको सुन्दरता नष्ट हुन सक्ने आँकलन गरेर रारालाई बस्तीरहित बनाउनु पर्ने निधो भयो ।

राजा रारा पुग्नु केहीको लागि खुशीको कुरा थियो । केही राजाका कविताले रमाए तर केहीको लागि भने राजाको यो आगमन अभिशाप भएर आयो । राजाको त्यो भ्रमण सम्झनै मन नलाग्ने कथा भएर आयो । ताल नजिकै तीन बस्तीहरू मुर्मा, रारा र छाप्रु थिए । रारा र छाप्रुमा मात्र करिब २३२ घरधुरी थिए । सो घरधुरीमा करिब १५०० को संख्यामा बसोबास थियो ।
त्यसपछि बस्ती कसरी हटाउने भन्ने विषयमा निकै छलफल भयो । सैपाल हिमालको काखमा रहेको पहाडी भूभागमा कोणधारी जंगलले भरिएको यो रमणीय ठाँउमा विभिन्न चराचुरुङ्गीको जलक्रिडा स्थल पनि भएको हुँदा राष्ट्रिय निकुञ्ज बनाउनु पर्ने निर्णय भयो । यसैबीच राजा महेन्द्रको स्वर्गारोहणले यो योजना केही वर्षलाई रोकियो ।

२०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरियो । करिब १०६ वर्ग किमी ओगटेको यस क्षेत्रमा तालको भूभाग मात्र करिब ११ वर्ग किमी छ । साथमा तालको उत्तर पश्चिममा रहेको छाप्रु बस्ती, दक्षिण पश्चिममा रहेको मुर्मा बस्ती तथा दक्षिण पूर्वमा रहेको रारा बस्ती पनि समेटिएको थियो । अन्त्यमा २०३५ सालमा छाप्रु तथा राराको बस्तीलाई अन्यत्र सार्ने निधो भयो । ती जनताहरूको लागी बाँके बर्दियाको बीच जंगलको भूभाग छुट्याइयो ।
उच्च पहाडी भूभागमा बसोबास गर्नेहरूका लागि तराइको उखरमाउलो गर्मीको बस्ती रोजियो । त्यो बेला पञ्चायतकालको उर्दी अस्विकार गर्ने वा बिरोध गर्न सक्नै कसैको आँट नै हुदैनथ्यो । केहीले त्यति टाढा तराइमा जानुभन्दा नजिकै कतै ठाँउ दिए हुन्थ्यो भन्ने बिचारसम्म व्यक्त गरे । तर कसैको सुनिएन ।

करिब ४५ वर्ष अगाडिको त्यो दिन गाउँलेका लागि पीडादायक दिन भयो । सरकारी कर्मचारी घर घरका ढोका ढक्ढकाउदै सरकारी निर्णय सुनाउन आए, ‘बस्ती तुरुन्तै खाली गरि सरकारले दिएको तराइमा गएर बस्नु ।’
यो अनुरोध थिएन, आदेश थियो । अति मन बिझाउने आदेश, मुटु भित्रसम्म बिझ्ने आदेश । सयौँ वर्षदेखि बाजे बराजुदेखि बसिआएको थातथलो सधैंको लागि छोडेर जाने आदेशले मन कटक्क भए पनि छोड्न बाध्य भए । वस्तुभाउ नजिकैको बस्तीमा गएर जति भेटे उतिमै बेचविखन गरे । जे सकिन्छ बोकेर भारी कसे र जान तयार भए ।

यो बस्तीको कथा यति नयाँ होइन र धेरै पुरानो पनि होइन । पृथ्वीनारायण शाहको एकीकरण अभियान पछि राजा रणबहादुर शाहको शासनकालमा बहादुर शाहले राज्य बिस्तारको क्रममा पश्चिम आक्रमण गर्न थाले । यहि क्रममा काजी शिवनारायण खत्री र सरदार प्रबल रानाको नेतृत्वमा वि.सं. १८४६ को असोज १५ गते जुम्ला आक्रमण भएको थियो । बालक राजा चक्रसुदर्शन शाही भए पनि राज्यको रियासत उनका काका शोभन शाहीले गर्ने गरेका थिए ।

आक्रमण पछि बालक राजाको साथ काका शोभन शाही उत्तर हुम्लातर्फ भागेर तिब्बतमा शरण लिन पुगे । तर उनका नातेदार तथा राज्यका केही जनताहरू जो गोर्खा राज्यको दमनबाट मुक्त हुन उत्तरतर्फ लागेका थिए, तिनै जुम्लेलीहरू नै राराको वरपर मुर्मा, रारा र छाप्रुमा बसेका थिए । यहाँ रहेका शाहीहरू राजाका नातेदारहरू थिए भने अन्य जुम्ला राज्यका जनताहरू थिए । यसरी झण्डै २०० वर्षदेखि बस्ती बसाएर बसेका त्यहाँका जनता एउटै आदेशले बेघर हुन पुगे ।

नयाँ ठाँउमा निकै आश्वासन दिइएको थियो । प्रति परिवार ३४ कट्ठा जमिन तथा बस्नलाई घर पनि बनाइदिने आश्वासन दिइएको थियो । आफ्ना जायजेथा माया मारेर घरको मूलढोकामा बलियो ताला लगाए । उनीहरू सरकारले एकदिन फेरि यहि ठाँउ फर्कन दिनेछ भन्ने आशा लिएर निस्किएका थिए । करिब १५ दिन हिँडेर सो नयाँ ठाँउमा पुग्दा बस्ने घरको कुरा त टाढै थियो व्यवस्थित बसोबासको लागि पनि कुनै प्रबन्ध मिलाइएको थिएन । सबैभन्दा समस्या त त्यहि नजिकै बस्ने पुरानो बस्तीका मानिसहरूबाट झेल्न पुगेका थिए । आफ्नो सम्पूर्ण सम्पति त्यागेर सुकुम्वासी झैं नयाँ वस्तीमा आएकाको समस्यालाई बुझेर सरकारले त्यहाँ पहिलेदेखि बसेका ३८ घरधुरीलाई अन्यत्र व्यवस्थापन गराइए पछि बल्ल यी रारा वासीलाई केही सन्तोष भयो ।

अहिले रारा ताल घुम्न पुग्नेहरू राराको सौन्दर्यले मन्त्रमुग्ध त हुन्छन् । तर यिनीहरुको पीडाको अनूभूति कसैले पनि गर्न खोज्दैनन् । त्यहाँ अझै पनि पुराना मन्दिरहरू तथा ढुङ्गेधाराहरू संरक्षणको पर्खाइमा छन् । मुटुमाथि ढुङ्गा राखेर बस्ती छोडेर गएकाहरूको पुस्ता बिस्तारै सकिदै जाँदा पीडा पोख्नेहरू हराउँदै गए । नयाँ पुस्ता नयाँ ठाउँमा रमाइसकेका छन् ।

साथमा बायाँतर्फ २०३२ सालमा खिचिएको रारा ताल तथा उत्तरतर्फ देखिएको काञ्जिरोवा हिमाल । तथा दायाँतर्फ त्यहि ताल किनार नजिकै रहेको रारा गाउँको बस्तीमा बस्ने केही बालकहरू घर अगाडि रमाइरहेका देख्न सकिन्छ । केही बच्चा तेर्साइएको काठको मुढामा ढिकीच्वाउँ खेल्दै गरेको देख्न सकिन्छ । यो तस्विर त्यो बस्तीको शायद अन्तिम तस्वीरहरू मध्यका हुन् । यी बालकहरूको खेलकुद तथा रमाइलो पलहरू शायद यहाँको लागि अन्तिम भयो । यसको केही समयपछि नै यहाँको बस्ती सबै हटाइएको थियो ।

 

१८ मंसिर २०७९