पर्यटकको रोजाईमा शिवपुरी ड्याम, कसरी पुग्ने ?

दशैँ यता ६ गुणाले बढे पर्यटक


सोनी शाही काठमाडौं । १८ मंसिर २०७९

पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित धाप बाँध (धाप ड्याम) पर्यटकको नयाँ गन्तव्य बनेको छ । गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी डाँडामा रहेको मानव निर्मित विशाल ताल पर्यटकहरुको नयाँ गन्तब्य बनेको हो ।

वर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भएपनि काठमाडौंबाट नजिकै रहेको मनमोहन ताल पर्यटकको रोजाईमा पर्ने गरेको हो । अझ पछिल्लो समय सामाजिक सञ्जालबाट थाहा पाएर नै तालसम्म पर्यटकहरु पुग्ने गरेका छन् ।

निकुञ्ज भ्रमणका लागि आउने पर्यटकले यस ड्यामको समेत अवलोकन गर्ने र फोटो भिडियो सामाजिक सञ्जालमा राख्ने भएकाले अहिले पर्यटकको आकर्षण बढेको बाग्मती सुधार आयोजना कार्यान्वयन सिँचाई इकाईका इन्जिनियर निश्चल छत्कुलीले जानकारी दिए ।

‘बाग्मती सरसफाइको उद्देश्यले बाँधको निर्माण सुरु गरिएको भएपनि अहिले यो ताल पर्यटकीय हिसाबले निकै गन्तव्यको स्थलको रूपमा प्रचार हुन थालेको छ । दशैँ यता निकुञ्ज हुँदै बाँधको अवलोकन गर्ने पर्यटकको संख्यामा ६ गुणाले बृद्धि भएको निकुञ्जको तथ्यांक छ,’ उनी थप्छन् ‘यसले हामी सबैको ध्यान अब यस स्थललाई पर्यटकीय गन्तव्य स्थलको रूपमा पनि विकास गर्ने भन्ने तीर तानेको छ ।’

ड्याम करिब १३ हेक्टरमा फैलिएको छ । ड्याम अवलोकन गर्न आउने पर्यटकहरूले तालको ७५ प्रतिशत भाग देखिनुका साथै विभिन्न हिमश्रृंखलाहरू र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृष्यहरूको समेत अवलोकन गर्न सक्नेछन् ।

कसरी पुग्ने धाप ?
धाप बाँध पुग्न शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ । काठमाडौंको रत्नपार्कबाट सुन्दरीजल सम्मको बस सजिलै पाउन सकिन्छ । त्यसबाहेक रत्नपार्कबाट–चाबहिल–गोकर्ण–सुन्दरीजल हुँदै धापमा पुग्न सकिन्छ । चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको छ । सुन्दरीजल चेकपोष्टबाट चिसापानीको दुरी २६ किलोमिटर छ । चिसापानी नपुग्दै धापमा पुग्न सकिन्छ ।

सुन्दरीजलबाट करिब ३ किलोमिटर माथि पुगेपछि दुईवटा बाटो रहेका छन् । दायाँतर्फ चिसापानी जाने २२ किलोमिटरको मुख्य सडक रहेको छ, भने बायाँतर्फको सहायक सडकबाट मूलखर्क हुँदै १६ किमी पार गरेर पनि तालमा पुग्न सकिन्छ । तालदेखि करिब ४ कि.मी. माथिको दूरीमा पर्यटकीयस्थल चिसापानी रहेको छ ।

मुख्य सडकबाट दुईपांग्रे र चारपांग्रे दुवै सवारीसाधन जान सक्छन् भने मूलखर्कबाट जाँदा दुइपांग्रे सवारीमात्रै जान सक्छन् । त्यसैगरी, चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ ।

धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, मोटरसाइकल÷स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरि २५० रुपैयाँ तिर्नुपर्छ ।

गुरुयोजना सहित पर्यटकीय गन्तव्य बनाउने योजना
शिवपुरी राष्ट्रिय निकुञ्ज एउटा संरक्षित क्षेत्र हो । त्यसमाथि ड्याम साइट आफैमा संवेदनशिल क्षेत्र भएका काराणले यसलाई पुर्ण रूपमा पर्यटकीय क्षेत्र बनाउन केही समस्या आउन सक्ने इन्जिनियर छत्कुली बताउँछन् । यसकै कारण तत्कालका लागि निकुञ्ज भ्रमणका लागि आउने पर्यटकहरूले मात्र यो ड्याम साइट अवलोकन गर्न अनुमति पाएको उनी बताउँछन् ।

‘पर्यटकको संख्या बढेसँगै त्यहाँको पुर्वाधार, सुरक्षा लगायतका कुराहरू आउँछन् । यी विषयहरूमा तत्कालका लागि कुनै योजना बनिसकेका छैनन्,’ उनी भन्छन् ‘निकुञ्जको तर्फबाट पर्यटकीय हिसाबले केही गर्न सकिने कुरामा सकारात्मक प्रतिक्रिया आएको छ । तसर्थ, पर्यटकीय गन्तव्य बनाउनका लागि सम्बन्धित निकायसँगको समन्वयमा गुरुयोजना सहित प्रकृया अघि बढाउने योजनामा छौँ ।’

‘पर्यटकका लागि अहिले कुनै पनि आवश्यक पूर्वाधारहरू बनिसकेका छैनन् । केही समयमा सार्वजनिक शौचालय, ड्यामको हेरचाहका लागि भ्यू पोइन्ट लगायतका आवश्यक पूर्वाधारहरूको निर्माण कार्य सुरु गर्नेछौँ,’ छत्कुली थप्छन् ।

तस्वीर : बाग्मती सुधार आयोजना कार्यान्वयन सिँचाई इकाई 

१८ मंसिर २०७९