पोखरा विमानस्थलमा सौर्यले गर्‍यो पहिलो रात्रिकालीन उडान


टुरिजम पाना पोखरा । १८ फाल्गुन २०७९
pokhara international airport
तस्वीर: निवेश बराल/टुरिजम पाना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौंदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार काठमाडौंदेखि ३३ जना यात्रु लिएर पोखरा पुगेको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको थियो ।

फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई रात्रिकालीन उडानको लागि अनुमति दिइसकेको छ । आगामी २५ फागुनमा रात्रिकालीन उडान गर्ने बुद्धको तयारी रहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका ४ जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान ४ स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् ।

बुद्धले फागुन २५ गतेदेखि नै पोखरा भद्रपुर उडानको तयारी समेत गरेको छ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ ।

१८ फाल्गुन २०७९