घुम्नुभयो त पर्यटकीय स्याङ्जा ?

टिपिकल होमस्टेदेखि जलविद्युतको अवलोकन एकै ठाउँमा


गोविन्द मरासिनी स्याङ्जा । २४ कार्तिक २०७९
Syangja Photo
तस्वीर : वान्डरफुल वालिङ पर्यटन विकास संस्था

पोखरा भन्नेबित्तिकै सबैको मुखबाट फुत्किहाल्छ ‘वाउ’ । नाम सुन्दै जो कोहीलाई पुगिहालौँ जस्तो लाग्ने ठाउँ । धेरैलाई थाहा नहुनसक्छ, पोखरा घुमिसकेपछि केही दिन मात्रै समय छुट्याउने हो भने पोखरा नजिकैका धेरै रमणीय ठाउँ घुम्न सकिन्छ ।

जसको लागि पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै करिब ३५ किलोमिटरको दुरी पार गरेर स्याङ्जा पुग्नुपर्ने हुन्छ । पर्यटकीय सहर पोखराको छिमेकी जिल्ला स्याङ्जा पनि पर्यटकीय गन्तव्यले भरिपूर्ण छ । आज म तपाईँहरूलाई स्याङ्जाको घुम्नैपर्ने केही ठाउँमा लैजाँदै छु ।

दरौँ सिरुबारी

स्याङ्जाको उत्तरी भेग आँधिखोला गाउँपालिकामा ग्रामीण पर्यटनको अवधारणामा आधारित भएर स्थापित दक्षिण एसियाकै पुरानो मध्येको एक व्यवस्थित घरबास (होमस्टे) दरौँ सिरुबारी । पर्यटकलाई न्यानो स्वागत, आत्मीय व्यवहार, स्थानीय उत्पादनमा आधारित अर्गानिक स्वच्छ खानपिनले सिरुबारी पुग्ने जो कोहीले आनन्दको महसुस गर्छन् । पाहुनालाई गाउँको प्रवेशद्वारबाटै फूलमाला र पञ्चे बाजाले स्वागत गरेर गुम्बामा दर्शन गराएपछि घर–घरमा बाँडेर राख्ने गरिन्छ । साँझ साँस्कृतिक कार्यक्रम हुन्छ । यसैका कारण त आज सिरुबारी गाउँ, होमस्टे पाठशालाका रूपमा स्थापित भइसकेको छ ।

Darau Shiruwari homestayगुरुङ समुदायको सँस्कृति र परिकारसँग रमाउनुका अलवा सिरुबारीबाट धौलागिरी र माछापुच्छे हिमशृङ्खलाको अवलोकन गरी आनन्द लिन सकिन्छ । बजेटको चिन्ता लिइराख्नु भएको छ भने सिरुबारी घुम्न त्यति महङ्गो छैन । यहाँ पुग्नेहरूका लागि पन्ध्र सय/दुई हजारमै मीठामीठा खानेकुरा पाइन्छ । पाहुनालाई भुटेको मकै, कोदोको रोटी, लोकल रक्सी लगायतका खानेकुराले स्वागत गरिन्छ । २०५४ सालदेखि पर्यटन गाउँका अभियन्ता पूर्व सांसद स्व.क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा होमस्टे सञ्चालनमा ल्याइएको हो । पोखराबाट करिब ६५ किलोमिटर टाढा पर्ने सिरुबारी पन्ध्र सय मिटरको उचाइमा छ । सिरुबारीमा पुग्न सिद्धार्थ राजमार्गको नागडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै जान सकिन्छ ।

स्वरेक मैदान

स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ५ मा पर्ने स्वरेक मैदान पर्यटकीय रूपमा विकास गर्न खोजिएको छ । यहाँ पहिलो पटक अन्तर्राष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाइ खेलाडी छनौट प्रतियोगिता २०७४ सम्पन्न भइसकेकाले यो ठाउँ नेपालमा मात्र नभएर विश्वमा समेत परिचित भइसकेको छ । स्वरेकमा प्याराग्लाइडिङ स्कूलसमेत स्थापना गरिएको छ । सोही स्थानमा रहेको सती पोखरी, गोलाकार आकारको करिब ७० मिटर गहिरो पुरानो बङ्कर तथा भवानी थुम देवीको मन्दिर स्वरेक मैदानका थप आकर्षण हुन् ।

swork maidan, syangjaस्वरेकबाट माछापुच्छे, धवलागिरी, अन्नपूर्णलगायत हिमाल देखिन्छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराको पर्यटनको महत्वपूर्ण आधार रहेको प्याराग्लाइडिङ यस स्थानमा सार्न सकिने चर्चाले यो स्थान अझ लोकप्रिय बन्दै गएको छ । स्वरेक महापुर मैदान मनोरम दृश्यावलोकन र वनभोजका लागि समेत परिचित छ । सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका–१ बयरघारीबाट ९ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि करिब १० किलोमिटरको सडक पार गरेर यहाँ पुग्न सकिन्छ ।

सतौँं चण्डीथान र चण्डीकालिका

पर्यटकीय तथा धार्मिक दृष्टिले सम्भावना बोकेको सतौँ स्याङ्जाको प्रसिद्घ धार्मिक गन्तव्य हो । पुतलीबजार नगरपालिका वडा नं. ८ को सतौमा यो मन्दिर पर्दछ । यो ठाउँलाई बाइसेचौबीसे राज्य रहेका बेला पश्चिमका चौबीसे राज्यहरूमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रूपमा समेत लिने गरिन्छ । किंवदन्ती अनुसार सतौँकोटमा युद्ध हुँदा वैरीहरूको रगतबाट वैरीखोला बनेको र अहिले सोही खोलाबाट अपभ्रंश भएर वैदीखोला भन्ने गरिएको हो । सतौँकोटदेखि चण्डीथान मन्दिरसम्म सैनिक परिसर थियो । परिसरमा शैन्य भग्नावशेषहरू देख्न सकिन्छ । रमणीय ठाउँमा रहेको यस मन्दिरबाट स्याङ्जालगायत विभिन्न ठाउँ र मनोरम हिमाली दृष्यहरू देख्न सकिन्छ ।

Satau Chandinath, Syangjaपृथ्वीनारायण शाहका सेनापति केयरसिंह बस्नेत मारिएको स्थल यही भएको किंवदन्ती छ । यस ठाउँमा अहिले दरबारको भग्नावशेष मात्रै बाँकी छ । सतौँकोटे राजाको इष्टदेवीका रूपमा पुजिने यस ठाउँमा चण्डी र कालिका गरी दुई मन्दिर छन् । जुन मन्दिर झण्डै ६ सय वर्ष पुरानो रहेको मानिन्छ । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु भक्तजनहरू दर्शन/पुजाका लागि आउने गरेका छन् । स्याङ्जाबाट करिब डेढ घण्टा पैदल हिँडेर वा गाडीमा पनि जान सकिन्छ । हाल सतौँसम्म जानका लागि कालोपत्रे भएकाले यस ठाउँमा पुग्न झनै सजिलो भएको छ ।

कालीगण्डकी जलविद्युत आयोजना र सेतीबेनी

कालीगण्डकी जलविद्युत आयोजना पोखराबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको छ । यो नेपालको सबैभन्दा ठूलो जलप्रवाह परियोजना हो । एक सय ४४ मेगावट क्षमता रहेको यस आयोजना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ५, ७ र गल्याङ नगरपालिकाको वडा नं. २ सम्म फैलिएको छ । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

Kaligandaki Damपर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थलमा पर्ने सेतीबेनीमा विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन र अवलोकन गर्न तथा स्टिमरमा जलयात्रा गर्नका लागि विभिन्न जिल्लासहित विदेशबाट समेत पर्यटक आउने गरेका छन् । वर्षातको समयमा कालीगण्डकीको वहाव बढ्ने भएकाले अन्तिम जेठदेखि मध्य असोजसम्मचाहिँ यो बन्द रहन्छ । विश्वकै ठूलो र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्री पनि शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् । शिलामा एकादशी, माघेसङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रीलगायतका पर्वमा विशेष पूजाआजा हुने गर्दछ ।

आलमदेवी

स्याङ्जा पुगेपछि पुग्नैपर्ने ऐतिहासिक धार्मिक क्षेत्र हो, आलमदेवी । करिब ३ सय ७० वर्षअघि स्थापित मन्दिर शाहवंशीय कुलदेवताको मन्दिर पनि हो । प्रत्येक वर्षको नवदुर्गाको पञ्चमी, सप्तमी र नवमी तिथि पारेर शाहवंशीय परिवार पूजाका लागि यहाँ आउने गर्दछन् । पूर्वराजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह पनि नवदुर्गाभित्रका एक दिन पूजाका लागि यहाँ आउने गर्थे ।

Syangja aalamdevi अलपदेवी कालीगङ्गाको जलमा स्नान र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः भीमसेनपातीको फेदमा बस्दै गर्दा भीमसेनपातीको रुखबाट अलप भएकाले वेगमाता वेगेश्वरीलाई अलपदेवी भन्न थलियो । अलपदेवी भन्दाभन्दै अपभ्रंश भएर आलमदेवी बन्न पुगेको किंवदन्ती रहेको छ । यस मन्दिरमा शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा स्याङ्जासहित छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गर्दछन् । स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका अन्तर्गत वडा नं ३ मा पर्ने यस स्थानमा स्याङ्जाको सदरमुकामबाट मिर्मी हुँदै ७५ किलोमिटरको दुरी पार गरेर पुग्न सकिन्छ ।

यसबाहेक स्याङ्जा घुमफिरका लागि निस्कँदै गर्दा सिद्धार्थ राजमार्गमै पर्ने भालुपहाड, वालिङ नगरपालिकामा पर्ने सुन्तलाबारी घरबास र क्यानोनिङ पुग्न सकिन्छ । स्वरेक मैदान जाँदै गर्दा नजिकै पर्ने रमणीय बाहुनथान, भालुपहाड, चौबिसे राज्य मध्येको एक शक्तिशाली राज्य नुवाकोट, धार्मिकस्थल छाङ्गछाङ्गदी, पञ्चासे डाँडा अनि पहिलो र दोस्रो विश्वयुद्घमा मारिएका ६० हजार सैनिकहरूको स्मृतिमा फेदीखोला गाउँपालिकामा निर्माणाधीन गोर्खा स्मारक पनि छुटाउन नहुने गन्तव्यको सूचीमा राख्न सकिन्छ ।

तस्वीर : मोहन गुरुङ / गोविन्द मरासिनी

२४ कार्तिक २०७९