ट्रेन्डिङ पर्यटन हबका परिकल्पनाकार


टुरिजम पाना पर्वत । २० कार्तिक २०७९
the cliff kushma bungee

सिन्धुपाल्चोकमा हुर्किए राजु कार्की । घर अगाडिकै खोलामा पौडिदैे, पहाडमा दौडँदै बाल्यकाल बित्यो । त्यतिबेलै हो उनले पहिलो पटक आकासमा उड्दै गरेको प्याराग्लाइडिङ देखेको । पखेटा पलाएझैं मानिस आकासमा उडेको देख्दा रोचक मानेर पछिपछि कुद्थे ।

खोलामा र्‍याफटिङ अनि कायाकिङ गरेको दृश्यले उनको मन उद्वेलित हुन्थ्यो । ‘ओहो यस्तोमा अनुभव लिन पाए हुने ।’ भन्ने सोच आउँथ्यो । तर बाल्यकालमा त्यो रहर कसले पूरा गरिदिने ? पहाडका लहरासँग खेल्दै हुर्किए राजु ।

समय बित्दै गयो । एकदिन भोटेकोशीको ‘द लास्ट रिसोर्ट’ मा क्रु आवश्यक रहेको कुरा उनीसम्म ठोक्किन आइपुग्यो ।

एडभेन्चरको रस चाख्ने बहाना मिल्यो । बञ्जी, स्वीइङ र क्यानोइङमा रमाउँदै पाँच वर्ष त्यही काम गरे । त्यसपछि उनी फ्रान्स गए । युरोपको प्राकृतिक क्षेत्रको अध्ययन गरे । ३ वर्ष उतै बसेपछि नयाँ काम गर्ने सोच राखेर राजु नेपाल फर्किए । प्रकृतिसँगै जोडिएको एडभेन्चर दिमागमा थियो । अध्ययनकै क्रममा उनी पर्वत पुगे ।

‘हामी एउटा अँध्यारो बाटोमै हिँड्यौं । भिजन त थियो तर अन्धकारमा खाल्डाखुल्डी देखिएन । दुःख पायौं । २ वर्षमा सक्छु भनेको प्रोजेक्ट ६ वर्ष लाग्दा डिप्रेसनमै पुगियो । यो अवस्था एकदमै फ्रस्टेटिङ थियो,’ राजु सुनाउँछन् ।

७ वर्ष अघिको कुरा हो । त्यतिबेला पर्वतमा सबैभन्दा अग्लो/लामो कुश्मा–कैया पुल बन्दैछ भन्ने चर्चा चुलिएको थियो । उनको टिमले त्यही पुलमा बञ्जी सुरु गर्ने सोचेको थियो । २ वर्ष खर्च भयो । तर स्थानीय अधिकारीले त्यहाँ बञ्जी बनाउन दिएनन् ।

भोलिको दिनमा लगानी सुरक्षित नहुने रहेछ भन्ने थाहा पाएपछि बीचमै काम छोडिदिए । त्यसपछि उनीहरू आफैंले पुल निर्माण गर्ने सोचे । यो काम आफैमा साहसिक, चुनौतिपूर्ण र सङ्घर्षपूर्ण थियो । ‘हामी आफैले केही गर्नुपर्छ भन्ने भएर कुश्मा आया¹ । यहाँ पनि यस्तो खालको रिसोर्ट, पुल बनाउने भन्ने थिएन ।’ कार्कीले नोस्टाल्जिक हुँदै सुनाए ।

kushma bungy

त्यतिबेला उनीहरूले कुश्मामा आधा पुल बनाउने अनि त्यसमै बञ्जी र स्वीङ राख्ने भन्ने मात्र सोचेका थिए । तर पछि ‘प्रकृतिले दिएको कुरालाई हामीले प्रयोग गरेर अझै धेरै कुरा गर्न सक्छौं भने किन नगर्ने’ भन्ने लागेरै कुश्मा र बाग्लुङ जोड्ने पुल निर्माण गर्ने निर्णयमा पुगे । अहिले राजुलाई त्यतिबेला राम्रै निर्णय लिइएछ भन्ने लाग्छ । त्यतिबेला उनको टिमले २ वर्षमै उक्त काम सक्ने सोचेको थियो ।

अनुमानित बजेट थियो १५ करोड । तर एडभेन्चर थपिँदै जाँदा खर्च पनि थपिँदै गयो । काम अगाडि बढाउँदै जाँदा ६ वर्ष लाग्यो । ‘सोचेको समयमा पुल निर्माण गर्न नसक्दा बीचमा परियोजना नै पूरा नगरौं भन्नेसम्मको अवस्थामा पनि पुगेँ । बैंकबाट ऋण लिएका थियौं । पुल बनाउँदा लठ्ठा खोलामा झर्यो ।’

राजु पुल बनाउँदाको क्षण सम्झन्छन्, ‘नयाँ टिम बनाएर पुल निर्माण गर्याैं । त्यो क्षण पार गर्न नसकेको भए जति जग्गा किने पनि, लगानी जति गरे पनि सबै मेहनत पानीमा जान्थ्यो । एक समय त अब सबै सकियो भन्ने नै लाग्यो । तर साथीहरूले हौसला दिनुभयो । त्यही टिमवर्कले हामीलाई यहाँसम्म पुर्याएको हो ।’

‘अब खत्तम नै हुने भयो भन्ने भइसकेको थियो । घरखेत हेरेर बैंकले ऋण दिएको थियो । अब घरखेत जाने भो भन्ने डरलाग्दो स्थितिबाट हामी गुज्रियौं । कामविहीन बस्नुपर्दा त्यतिबेला महिनामा १५ लाख हामीले बैंकलाई बुझाउनु पथ्र्यो ।’

अरुको ठाउँमा आएर काम गर्दा स्थानीयबाट साथ चाहिन्छ । बोर्डमा स्थानीय थपिए । उनको टिममा थिए, फ्लोरेन्स कार्की, नेत्रप्रसाद पराजुली, युवराज जोशी, राजन जोशी, नवराज शर्मा, प्रकाश प्रधान । टिमकै हौसलाले उनले यो प्रोजेक्ट पूरा गर्ने आँट गरे । पत्नी फ्लोरेन्स कार्की र राजुले सुरुमा त्यहाँका स्थानीयलाई उक्त प्रोजेक्टका लागि मनाएका थिए ।

महत्वाकाङ्क्षी लाग्ने यस्तो ठूलो परियोजना पूरा गर्न धेरै चुनौतीको सामना गर्दै राजुको टिमले पुल निर्माण कार्य सिध्यायो ।

‘हामी एउटा अँध्यारो बाटोमै हिँड्यौं । भिजन त थियो तर अन्धकारमा खाल्डाखुल्डी देखिएन । दुःख पायौं । २ वर्षमा सक्छु भनेको प्रोजेक्ट ६ वर्ष लाग्दा डिप्रेसनमै पुगियो । यो अवस्था एकदमै फ्रस्टेटिङ थियो,’ राजु सुनाउँछन् ।

एसियाकै नमूना पुल निर्माण गर्ने योग पुल निर्माण गरे । बञ्जी, स्वीङ बनाए । २०७७ को वैशाखमा उद्घाटन गर्ने सोचेका थिए । तर चैतमा कोरोनाले देशमा लकडाउन भयो ।

सामान्य अवस्था पर्खनुको विकल्प थिएन । मानिसको प्राण बच्यो भने त मनोरञ्जन प्राथमिकतामा पर्छ भन्ने उनीहरूलाई थाहा थियो । लामो समय लकडाउन हुँदा त्यतिका लगानी डुब्ने भयो भन्ने चिन्ता बढ्न थाल्यो ।

भोटेकोशीको क्रु हुँदै द क्लिफको सञ्चालक बनेका राजु कुश्मा र पर्वतलाई पर्यटकीयस्थलका रूपमा चिनाउने अर्को नाम बनेको छ । उनी नेपाली व्यवसायबीच पनि उदाहरण बनेका छन् ।

‘अब खत्तम नै हुने भयो भन्ने भइसकेको थियो । घरखेत हेरेर बैंकले ऋण दिएको थियो । अब घरखेत जाने भो भन्ने डरलाग्दो स्थितिबाट हामी गुज्रियौं । कामविहीन बस्नुपर्दा त्यतिबेला महिनामा १५ लाख हामीले बैंकलाई बुझाउनु पथ्र्यो ।’ उनले कोभिडकाल सम्झे । तर अवस्था सामान्य बन्दै गएपछि उनीहरूले दसैंको छेको पारेर बञ्जी र स्वीङ सुरु गरे ।

करिब ६० रोपनीमा बनेको द क्लिफ विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जीका लागि पछिल्लो समय चर्चित छ । उनीहरूले जमिनको अध्ययन सुरु गर्दै यो कुरा पत्ता लगाइसकेका थिए । त्यही सोचले उनीहरूले त्यहाँ पुल निर्माण गरेका हुन् । खुलेको डेढ वर्षमै द क्लिफले ‘एडभेन्चर हब’का रूपमा चर्चा बटुल्यो ।

अहिले त उनीहरूले नयाँ साहसिक गतिविधि पनि थप्दै गएका छन् । बञ्जी र स्वीङ गर्ने सबैको आँट हुँदैन । कोही त कम एड्रिनल महसुस गर्ने साहसिक खेल खेल्न रुचाउँछन् ।

त्यही सोचलाई आत्मासात गर्दै उनीहरूले त्यहाँ स्काइ साइक्लिङ (विश्वमै अग्लो र लामो), स्काइक्याफे, स्काइ चेयर फ्यामिली पिङ, जाइन्ट पिङ, क्रेजी ब्रिज, हर्स राइडिङ, स्काई ग्लाइडिङ सञ्चालनमा छ भने वाल क्लाइम्बीङ निर्माणाधीन छ ।

अहिले आन्तरिकदेखि विदेशी पर्यटकको घुइँचो हुन्छ, द क्लिफमा । राजुका अनुसार अहिलेसम्म ३५ करोड खर्च भइसक्यो । राजुको प्रयासमा उनैका एड्भेन्चर गुरु प्रकाश प्रधानले पनि साथ दिएका छन् । नेपालका पहिलो बन्जी मास्टर प्रधान सुरुआत दिनदेखि नै ‘द क्लिफ’ मा आबद्ध छन् ।

‘मलाई त नयाँ कुरामा लगानी गर्नुपर्छ भन्ने लाग्छ । स्थापित सीमाहरू भत्काउँदै जानुपर्छ । यहाँ गर्न नसकिएका कुरा धेरै छन् । अलिकति इनोभेटिभ हुनुपर्छ । त्यो ठाउँको सम्मान पनि गर्नुपर्याे । त्यति भएपछि पक्कै पनि नेपालमा सम्भावना छ । सुरुमा त हामी पनि डराएका थियाैं । विदेशी पनि नआउने, नेपालीले यतिका लगानी गरेर अगाडि बढ्न सकिन्छ त ? भन्ने थियो ।

kushma bungee

अहिले हामी नाफामा नगए पनि सस्टेन हुने स्थितिमा छौं,’ राजुले खुसी व्यक्त गरे । ‘हाम्रो अध्ययनले पहिला विदेशी पर्यटकले नै ९८ प्रतिशत एडभेन्चर व्यवसाय धानेको देखाएको थियो । हामीले द क्लिफलाई अन्तर्राष्ट्रियसँगै राष्ट्रिय पर्यटकलाई पनि मनोरञ्जन दिने सोचसहित बनाएका हौं । अहिले अवस्था ठ्याक्कै उल्टो छ । अहिले आन्तरिक पर्यटकले नै द क्लिफलाई धानेको छ ।’

अहिले द क्लिफले ८० जना कर्मचारीलाई रोजगारी दिएको छ । नेपाली पर्यटकले नै क्लिफ चल्न सक्ने रहेछ भन्ने अनुभव भइसकेको छ अहिले । हुन त हिजोआज विदेशी पर्यटक पनि बाक्लै आउँछन्, द क्लिफमा ।

‘अहिले नेपाली युवाहरूमा नयाँ एड्भेन्चर गर्ने बानीको विकास भएको छ । त्यही कुराले हामीजस्तो व्यवसायीलाई बाँच्ने आधार बनेको छ ।’  उनी भन्छन् ।

भोटेकोशीको क्रु हुँदै द क्लिफको सञ्चालक बनेका राजु कुश्मा र पर्वतलाई पर्यटकीयस्थलका रूपमा चिनाउने अर्को नाम बनेको छ । उनी नेपाली व्यवसायबीच पनि उदाहरण बनेका छन् ।

२० कार्तिक २०७९