शारीरिक अपांगता भएकी निर्मलाको साहस, सगरमाथा बेसक्याम्पसम्म पदयात्राको तयारी

साहसिक गतिविधिमा सहभागी हुने इच्छा


टुरिजम पाना काठमाडाैं । २० कार्तिक २०७९
nirmala bhandari

शारीरिक अपांगता भएकी निर्मला भण्डारी सगरमाथा आधार शिविरसम्म पदयात्रामा जाने तयारीमा छिन् । आगामी वसन्त ऋतुमा पदयात्रामा निस्किने तयारीका साथ निर्मलाले अहिले कोष संकलन गर्ने, पदयात्राको लागि साना हाइकहरु गरिरहेकी छिन् । पदयात्राका लागि अहिले करिब दुई सय डलर फन्डमात्रै जम्मा भएको निर्मलाले बताइन् ।

चार वर्षको उमेरमा सडक दुर्घटनामा परेर देब्रे खुट्टा गुमाएकी निर्मला पेशाले स्वास्थ्यकर्मी हुन् । हाल उनी ‘फुड एण्ड न्युट्रिसन’ मा स्नातकोत्तर गर्दैछिन् र उनी प्यारा एथ्लेट्स पनि हुन् ।

उनले यसअघि २०७५ मा आफ्नै चारपांग्रे स्कुटरमा उनले पूर्वको इलामदेखि सुदूरपश्चिमको महेन्द्रनगरसम्म ३५ दिन एक्लै यात्रा गरिन् । स्कुटरमा पूर्वदेखि पश्चिम नेपालसम्मको सोलो यात्रा सकेपछि उनलाई आजभोली सवारी चलाउनु सामान्य लाग्ने बताउँछिन् । उनको अझै साहसिक गतिविधिमा सहभागी हुने इच्छा छ । ‘केही चुनौतीपूर्ण काम गरौं न भन्ने लागेर सगरमाथा बेसक्याम्प पदयात्रामा निस्किन लागेको हुँ’, उनले भनिन् ।

nirmala bhandari athelets

खुट्टा नभएका मानिसहरु पनि सगरमाथा चढेको देखेपछि उनलाई हौसला मिलेको उनी बताउँछिन् । यही प्रेरणाले नै आफू सगरमाथा बेस क्याम्प जान लागेको उनको भनाइ छ । उनी शारीरिक भिन्नता भएकामध्ये सगरमाथा आधार शिविरमा पुग्ने पहिलो नेपाली महिला हुनेछिन् ।

काठमाडौंमै जन्मेकी उनको खेलकुदमा विशेष रुची छ । उनले २०७३ सालदेखि बास्केटबल खेल्न सुरु गरिन् । उनले ‘पावर लिफ्टिङ’ बाट नेपालकाे प्रतिनिधित्व गर्दै एसियन गेम्स २०१८ मा सहभागी भएकी थिइन् । यस्तै, चुनाैती र खतरामा खेल्न रूचाउने निर्मलाले केही समय अघि बन्जी जम्प पनि गरिन् ।

अपांगता भएका व्यक्तिको लागि सहज हुने किसिमका संरचनाहरु देशमा छैन । तर यसका लागि सबैभन्दा मुख्य कुरा आफ्नो आत्मबल बलियो हुनुपर्ने उनको भनाइ छ ।

nirmala bungy jump

२० कार्तिक २०७९