मकवानपुरको भीमफेदी गाउँपालिका-८ मा अवस्थित पौराणिक महत्व बोकेको लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय धार्मिक तथा साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ । प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अनुपम संगम रहेको यो क्षेत्र हाइकिङ प्रेमी र तीर्थयात्रीहरूको प्रमुख रोजाइमा पर्न थालेको हो ।
समुन्द्री सतहबाट १ हजार ८५६ मिटरको उचाइमा रहेको यस रमणीय स्थलबाट देखिने मनमोहक हिमश्रृंखलाले यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । सामाजिक सञ्जालमा ‘डब्लु डाँडा’ उपनामले चर्चा बटुलिरहेको यो क्षेत्रको पौराणिक मान्यता पनि उत्तिकै गहिरो छ । पौराणिक कथाअनुसार यो स्थानमा सतीदेवीको जटा (कपाल) पतन भएकाले यसलाई लटारम्मेश्वर भनिएको हो र धार्मिक दृष्टिले अति पवित्र मानिन्छ ।
यस क्षेत्रको पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै भीमफेदी गाउँपालिका र बागमती प्रदेश सरकारको संयुक्त पहलमा यसलाई एक व्यवस्थित पर्यटकीय हबको रूपमा विकास गर्न गुरुयोजना बनाइएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा खानेपानी, विश्रामस्थल र पदमार्ग स्तरोन्नति जस्ता अत्यावश्यक पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले बताए । उनले पर्यटकको सहजताका लागि पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
पछिल्लो समय लटारम्मेश्वरमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयवासी बताउँछन् । मन्दिर दर्शन र भ्रमणका लागि आउने पर्यटकका कारण स्थानीय व्यापार-व्यवसायमा समेत सकारात्मक प्रभाव परेको स्थानीय विजय भोलोनले बताए । प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त मन्दिरमा पुग्दा अलौकिक अनुभूति हुने गरेको पर्यटक सुनिता मानन्धरको अनुभव छ ।
विशिष्ट भौगोलिक अवस्थिति र गहिरो धार्मिक महत्व बोकेकाले लटारम्मेश्वरलाई एक प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गरिनुपर्नेमा स्थानीयहरूको जोड छ । सरकारी पहल र स्थानीयको सक्रियताले यो क्षेत्र निकट भविष्यमै नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।