‘समिटर्स समिट’ आज


टुरिजम पाना सोलुखुम्बु । ९ बैशाख २०८२

सोलुखुम्बुको थामेमा आज आरोही सम्मेलन ‘समिटर्स समिट’ हुँदैछ । जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले आयोजना गर्न लागेको सम्मेलनलाई नेपाल सरकारद्वारा आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वकार्यक्रमका रूपमा लिइएको छ ।

समिट आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्कीका अनुसार आज प्रस्थान गरेको टोलीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त आरोही, जलवायु र पर्यटनविज्ञ तथा विभिन्न तहका सरकारी प्रतिनिधिहरू सहभागी छन् । नेपाल सरकारका मन्त्रीसहितको अर्को टोली आजै हेलिकप्टरमार्फत थामे पुग्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा सहभागी हुन सगरमाथा आरोही एवं कतारकी राजकुमारी आस्मा अल थानी, विश्व कीर्तिमानी सगरमाथा आरोहीहरु कामीरीता शेर्पा, मिङ्मा डेभिड शेर्पा, कान्छो सगरमाथा आरोही तेम्बाछिरी शेर्पालगायतको टोली थामे पुगेको छ । उक्त सम्मेलनमा स्थानीयवासी तथा गत वर्ष थामे क्षेत्रमा हिमपहिरोबाट प्रभावितसमेत सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।

सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन र हिमाली जीवनशैलीका विविध पक्षबारे समूहगत छलफल हुनेछ । वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र खुम्बु पासाङल्हामु गाउँपालिकासँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको हो । यस्तै, सहआयोजक संस्थामा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लिज युथ फर क्लाइमेट एक्सनलगायत छन् ।

समिटमा सहभागी हुन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अन्तररास्ट्रिय पत्रकार महासङ्घ एसिया प्रसान्तका कार्यकारी सदस्य बद्री सिग्देलसहितको टोली खुम्बु पुगिसकेको छ ।

 

 

९ बैशाख २०८२