जापानको ओसाकामा आयोजना हुने “प्रथम नेपाल फेस्टिभल कान्साई २०२५” को तयारी तीव्र पारिएको छ । गैर आवासीय नेपाली सङ्घ एनआरएनए, कान्साई तथा नेपाली राजदूतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक सङ्घ संस्थाको सह आयोजनामा बृहत् रूपमा हुने लागेको “प्रथम नेपाल फेस्टिभल कान्साई २०२५” को हाल सम्मको कार्यक्रम प्रगति बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।
नेपालको परम्परा, कला संस्कृति र पर्यटनलाई जापानमा प्रवर्द्धन गर्दै, दुई देशबिचको मित्रता र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले यही अप्रिल २६ र २७ मा फेस्टिभल आयोजना हुँदैछ । ओसाकाको क्योवासी, फुलाली पार्कमा आयोजना हुने फेस्टिभलमा करिब २१ ओटा स्टल रहनेछन्। जसमा १० वटा नेपाली फुड तथा अन्य, ११ वटामा विभिन्न सेवामूलक र स्वास्थ्य शिविर रहने एनआरएनए जापानका उपाध्यक्ष एवं फेस्टिभल मूल आयोजक समिति संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिए ।
पत्रकार सम्मेलनमा आर्थिक व्यवस्थापन समिति संयोजक तुलसीराम खरेल, खाद्य गुणस्तर मापन समितिको संयोजक टिकाराम कडेंल, सांस्कृतिक तथा झाँकी व्यवस्थापन समितिको संयोजक टिआर गौडेल, सुरक्षा तथा स्वयम सेवक व्यवस्थापन समितिको संयोजक भीम काउछा अनुप, प्रचार प्रसार समितिको संयोजक तेज गुरुङ, सचिवालय सदस्य एवं स्टल व्यवस्थापन समिति संयोजक विष्णु प्रसाद सापकोटा, मिडिया व्यवस्थापन समितिको संयोजक पुरुषोत्तम लामिछाने, यातायात व्यवस्थापन समितिको संयोजक सुवास कडेंल, सङ्घ संस्था समन्वय समितिको संयोजक हरि कँडेल, फुल माला ब्याज व्यवस्थापन समितिको संयोजक सपना डल्लकोटी, लगायतका समितिले आफ्नो कार्य प्रगति बारे जानकारी गराएका थिए ।
जापानको नान्काई रेल्वे कम्पनी फेस्टिभलको मुख्य स्पन्सरको रूपमा छ भने क्योदाई रेमिट्यान्स स्पेशल इभेन्ट पार्टनरको रुपामा छ । ओसाका प्रीफेक्चर, ओसाका नगरपालिका तथा मियाकुजीमा वार्ड कार्यालय, ओसाका चेम्बर अफ कमर्स, ओसाका इन्टरनेशनल हाउस फाउन्डेसन, ओसाका फाउन्डेसन, अफ इन्टरनेशनल एक्सचेन्जले समेत उक्त फेस्टिभलको लागि सहयोग गरिरहेको एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य एवं फेस्टिभल व्यवस्थापन समितिको संयोजक नरेन्द्र कुमार बस्नेत ‘दिनेश’ले जानकारी दिए ।










