योग दिवसको अवसरमा ललितपुरमा ‘मोडा योग फेस्टिभल’ सम्पन्न


टुरिजम पाना काठमाडौँ । ७ असार २०८३

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर ललितपुरमा ‘मोडा योग फेस्टिभल २०२६’ सम्पन्न भएको छ । शनिबार ललितपुरको बखुण्डोलस्थित कुण्डलिनी आयुर्वेद परिसरमा आयोजित यस फेस्टिभलमा एक हजारभन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो ।

मोडा योग स्टुडियोले आयोजना गरेको यस महोत्सवमा योग, ध्यान, संगीत, कला र सचेत जीवनशैलीका विभिन्न पाटाहरूलाई एउटै थलोमा समेटिएको थियो । सामूहिक हठयोग सत्रबाट सुरु भएको यस कार्यक्रममा पिज्जा महर्जन र टोलीले सञ्चालन गरेको इनभर्सन तथा ह्यान्डस्ट्यान्ड कार्यशालामा सहभागीहरूको विशेष आकर्षण देखिएको थियो भने रोनाली अमात्य र टोलीद्वारा सञ्चालित इन्फ्लुएन्सर योग, साउन्ड हिलिङ र वेलनेस ब्रन्च जस्ता कार्यक्रमहरूले महोत्सवमा थप ऊर्जा र रौनकता थपेका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य र भावी योजनाबारे प्रष्ट पार्दै आयोजक रोनाली अमात्यले यो अभियान पूर्ण रूपमा समुदायमा आधारित रहेको र यसले मानिसहरूलाई स्वास्थ्यप्रति सचेत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा बोल्दै उनले भनिन्, “हाम्रो उद्देश्य वेलनेस प्रवद्र्धन गर्नु पनि हो, र हामी आगामी वर्षलाई ‘वेलनेस वर्ष’ घोषणा गर्नेबारे विचार गरिरहेका छौं। यो कार्यक्रम पूर्ण रूपमा समुदायमा आधारित हो र हामी सबैलाई निःशुल्क रूपमा प्रिमियम अनुभव दिने प्रयास गरिरहेका छौं।” उनले स्थानीय ब्रान्ड, कलाकार र उद्यमीहरूलाई एउटा बलियो प्लेटफर्म प्रदान गर्नु पनि महोत्सवको मुख्य कडी रहेको बताइन्।

योग र ध्यानका साथै महोत्सवमा सञ्चालित ’कन्सस मार्केटप्लेस’ मा स्थानीय उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। बजारमा खेतीपाती अर्गानिक्स, नेफाइरा स्टुडियो, घरको सातु, नाइस भेगन चकलेट, एसटी महर्जन ज्वेल्स, टेम्पल अफ प्लान्ट्स र नेवारी खानाका परिकार लगायतका २० भन्दा बढी स्वदेशी ब्रान्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शनीमा राखेका थिए।

७ असार २०८३