गुणस्तरीय पर्यटक बढाउन बोर्डले सक्रियता देखाउन जरुरी

बोर्डको काम पूर्वाधार निर्माण गर्ने होइन


अरुण सराफ काठमाडौँ । २९ भाद्र २०८१

पर्यटकीय दृष्टिले नेपाल प्रचूर सम्भावना भएको मुलुक हो । हामीलाई प्राकृतिक रुपमा पनि यसको निकै ठूलो फाइदा छ । प्रकृतिले हामीलाई धेरै कुराहरु दिएको छ । प्राकृतिकरुपमा विश्वकै उत्कृष्ट हिमाल, हरिया उपत्यका, वन तथा जंगल पाएका छौँ । त्यसबाहेक पुर्खाहरुबाट बौद्धनाथ, पशुपतिनाथ, दरबार क्षेत्रलगायतका ऐतिहासिक सम्पत्ति पाएका छौँ । यी सम्पत्ति नै मुुलुकको पर्यटकीय गतिविधि बढाउने माध्यम हुन् ।

प्राकृतिक र ऐतिहासिक रुपमा हामी धनी भए पनि यसको उपयोगमा भने चुकेका छौँ । अन्य देशहरुले जसरी स्रोत र साधनको उपयोग गरी पर्यटन प्रवद्र्धन गरिरहेका छन् त्यसको तुलनामा हामीले काम गर्न सकेका छैनौँ । त्यसैले आजका दिनमा पनि हामी क्वालिटी पर्यटकको अभाव झेलिरहेका छौँ ।

मलाई के लाग्छ भने हामीकहाँ भएका स्रोत र साधनलाई उपयोग गर्ने हो भने हामी यस क्षेत्रमा मार्केट लिडर बन्न सक्छौँ । यसका लागि हाम्र्रो प्रकृति पनि सोहीअनुसारको छ । त्यसैले यसको फाइदा उठाउन सक्नुपर्छ । तर यसका लागि हामीले के गर्ने हो भन्ने विषयमा पनि हामी स्पष्ट हुन जरुरी छ ।

अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले अपेक्षाकृत रुपमा काम गर्न सकेको छैन । लामो समयसम्म प्रमुख कार्यकारीबिहीन बनेको बोर्डले हालै नेतृत्व पाए पनि यसले उद्देश्यअनुरुप काम गर्न नसकेकै कारण नेपालमा चाहेजति गुणस्तरीय पर्यटक ल्याउन नसकिएको तथ्य हामीले स्वीकार गर्नुपर्छ । बोर्डले बाह्य सञ्चार (एक्ट्रनल कम्युनिकेसन)मा काम गर्नै सकेन । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन शून्यको अवस्थामा छ भन्दा फरक पर्दैन ।

बोर्डसँग गत आर्थिक वर्षमा २०० करोड रुपैयाँ बजेट थियो । जसमा बोर्डले बजार प्रवद्र्धनमा जम्मा ५ देखि ६ करोड रुपैयाँ खर्च गरेको थियो । साथै २१ देखि २५ करोड रुपैयाँ प्रशासनिक र भौतिक पूर्वाधारमा ३० करोड रुपैयाँ खर्च गरेको देखिन्छ । बाँकी खर्च गर्नै सकेन ।

कतिपयले बोर्डसँग पूर्वाधार निर्माणका लागि पनि आग्रह गरेको देख्छु । तर बोर्डको काम पूर्वाधार निर्माण गर्ने होइन । त्यो काम स्थानीयदेखि केन्द्र सरकारले गर्ने हो । बोर्डले त अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गरी धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउने हो । तर मूलभूत उद्देश्यमा प्रभावकारी काम गर्न नसक्दा बोर्डको भूमिका पर्यटन प्रवद्र्धनका क्षेत्रमा कमजोर बनेको छ । यो मैले बोर्डको आलोचना गर्नका लागि भनेको होइन, सत्य नै यही हो ।

सन् १९९८ मा बोर्ड गठन गर्दा सार्वजनिक–निजी साझेदारीमा स्थापना गरिएको हो । तत्कालीन समयमा सरकार र निजी क्षेत्रबाट बराबरी प्रतिनिधित्व रहने र एक जना प्र्रमुख कार्यकारी पनि निजी क्षेत्रबाटै ल्याउने भन्ने थियो । तर अहिले सीइओ नियुक्तिमा पनि सरकारको हस्तक्षेप देखिन थालेको छ । त्यसपछि बोर्डको रुपरेखा नै परिवर्तन हुन थालेको छ । यस वर्ष त बजेट नै बन्न सकेको छैन । बोर्डको बजेट सरकारले दिने होइन, प्रत्येक नेपाली विदेश जाँदा तिर्ने विमानस्थलमा तिर्ने एक हजार रुपैयाँ नै हो ।

त्यसबाहेक सरकारले गत वर्ष बोर्डले खर्च गर्न नसकेको बजेटमा पनि कर लगाएको अवस्था छ ।

हामीसँग अर्को समस्या पनि छ । बोर्डले खरिद प्रक्रियामा जाँदा सार्वजनिक खरिद ऐनअनुसार जानुपर्छ । त्यसका लागि प्रतिस्पर्धामार्फत कम मूल्य कबोल गर्नेले पाउने हो । तर यहाँ यो अलिक अमिल्दो देखिन्छ । हामीले पर्यटन प्रवद्र्धनका लागि उदाहरणका लागि अमिताभ बच्चन जस्ता सेलिब्रेटी ल्याउने हो भने कसरी कम र बढी मूल्य भन्ने हुन्छ । यहाँनिर समस्या छ भन्ने लाग्छ । चार जना सेलिब्रेटी ल्याउने हो भने सबैको मूल्य एउटै हुनसक्दैन । यही कारण पनि हामीले पर्यटकीय प्रडक्ट विदेशमा बिक्री गर्न सकेका छैनौँ ।

म यहाँहरुलाई एउटा उदाहरण दिन्छु, सन् २००० मा हायात रिजेन्सी होटल सञ्चालनमा आउँदा हामीले एउटा रुम औसत १२० डलर अर्थात् आठ हजार पाँच सय रुपैयाँमा बिक्री गर्दथ्यौ । तर अहिले करिब २५ वर्षपति एउटा रुम ११० डलर अर्थात् १४ हजार ७५० रुपैयाँमा बिक्री गर्न बाध्य छौँ । नेपाली रुपैयाँमा धेरै देखिए पनि डलरमा यो घट्दाे क्रममा छ । यसले पनि नेपालमा गुणस्तरीय पर्यटक आउने क्रम कस्तो छ भन्ने देखिन्छ ।

भुटानमा हामी जस्तै होटलको रुम अहिले हाम्रोमा भन्दा औतमा तीन गुणा बढी छ । धेरै टाढा होइन भारतको मसुरी र ऋषिकेशमा रहेका पाँच तारे होटलले न्यूनतम २५ हजार भारुमा रुम बिक्री गरिरहेका छन् । हाम्रोमा त्यसको आधा अर्थात् १२ हजार भारु पनि छैन ।

अब अर्को तथ्यांक हेरौँ, सन् २०१९ मा झण्डै १२ लाख विदेशी पर्यटक नेपाल आएका थिए । सोही वर्ष भारतबाट २ करोड ७० लाख मानिस विभिन्न देश घुम्न गएका थिए । थाइल्याण्डमा मात्रै एक करोड १६ लाख, दुवईममा ६३ लाख मानिस पुगेका थिए । तर नेपालमा सो वर्ष जम्मा २ लाख ७० जना भारतीय पर्यटक आएका थिए ।

हामीले क्वालिटी टुरिस्ट ल्याउने कुरा त गर्छौ । तर त्यसका लागि गर्नुपर्ने काममा भने चुकेका छौँ । भौतिक पूर्वाधारदेखि पर्यटन प्रवर्द्धनमा हाम्रो उपस्थिति निकै कमजोर छ । आजका दिनमा निजी क्षेत्रबाट होटलहरुमा ठूलो लगानी भए पनि सोअनुसारको पर्यटन प्रवद्र्धन नहुँदा पर्यटक बढाउन सकेका छैनौँ ।

त्यसैले यदि नेपालमा पर्यटकको संख्या बढाउने हो र त्यसमा पनि गुणस्तरीय पर्यटक बढाउने हो भने हामीले पर्यटन प्रवर्द्धनमा सोच्नु पर्ने समय आएको छ । हामीले आफ्ना कमजोरी सुधार गर्दै नयाँ ढंगले अगाडि बढ्न जरुरी छ । यसका लागि सबैभन्दा पहिले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन जरुरी छ ।

(यही भदौ २८ गते शुक्रबार क्यापिटल नेपालद्वारा आयोजित होटेलियर समिटमा सराफले व्यक्त गरेको विचारको सम्पादित अंश)

२९ भाद्र २०८१