व्यावसायिक प्याराग्लाइडिङका लागि उदयपुरका व्यवसायीको चासो


टुरिजम पाना उदयपुर । ३ फाल्गुन २०७९
national sports competition Nepal, paragliding
फाइल फोटो

पर्यटक आकर्षित गर्ने उद्देश्यले दुई वर्षअघि देखि सञ्चालन गरिएको प्याराग्लाडिङको अभ्यास उडान उदयपुरका विभिन्न स्थानबाट भइरहेका छन् ।

उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकामा गरिएका सबै परीक्षण सफल भएपछि व्यवसायीले चासो दिन थालेको त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितु रोइलाले बताए ।

त्रियुगा नगरपालिकामा प्याराग्लाइडिङ स्कुल नै स्थापना गरी अभ्यास गराउन थालिएको छ । प्याराग्लाइडिङले उड्ने र हेर्ने दुवैका लागि मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत जोड दिने भएकाले यसलाई व्यावसायिक रूपले अगाडि बढाउन थालिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

उदयपुरको उत्तरी भेग पहाडी उच्च भू–भाग र दक्षिण भेग समथर क्षेत्र भएकाले प्याराग्लाइडिङ उडानका लागि उपयुक्त रहेको प्याराग्लाइडिङ प्रशिक्षक सुरेन्द्र गुरुङले बताए । प्याराग्लाइडिङ उडानको प्रशिक्षण दिन पोखराबाट गाईघाट आएका गुरुङले युवाको आकर्षण बढेको र स्थानीय तहले समन्वय गरिदिने हो भने यहाँ व्यावसायिक रूपमै प्याराग्लाइडिङ उडान गर्न सकिने बताए ।

त्रियुगा नगरपालिकामा प्याराग्लाइडिङ उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त भइसकेको र पाइलट उत्पादनका लागि स्कुल सञ्चालनको तयारी गरिएको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताए । प्याराग्लाइडिङ उडानका लागि अहिलेसम्म नौ जना सम्पर्कमा आइसकेको र नेपालमा प्याराग्लाइडिङको चौथो स्कुल यहाँ स्थापना हुन लागेको उनले बताए ।

गाईघाटबाट ५० किलोमिटर टाढा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीको दर्शन गरी फर्किने पर्यटकलाई त्रियुगा नगरपालिकासहित सप्तरी, सिरहासम्मका भूभाग देखिने गरी नवउदय सामुदायिक वनमा प्याराग्लाइडिङका लागि स्टेसन बनाएर नियमित उडान गरिएको नगरप्रमुख बस्नेतले जनाए ।

यसअघि कटारी नगरपालिका–७ को पर्यटकीय क्षेत्र मर्जितपुरमा प्याराग्लाइडिङको सफल परीक्षण भएको थियो । सप्तकोसीको मनोरम सुन्दर दृश्यसँगै उडान स्थलको डाँडाबाट सोमबारेस्थित ल्यान्डिङ स्थलसम्म छर्लङ्ङ देख्न सकिने हुँदा बेलकाको प्याराग्लाइडिङमा सुरक्षित उडानको अवसर भएको र यसअघि नै विभिन्न परीक्षण उडान सफल भएकाले हाल आन्तरिक र बाह्य पर्यटकका लागि नियमित उडान भइरहेको बताईएको छ । गोरखापत्र दैनिकबाट

३ फाल्गुन २०७९