बाक्लो कुहिरोका कारण दृश्यता अत्यन्तै कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण हवाई उडान प्रभावित भएका छन्। भिजिबिलिटी ह्वात्तै घटेर ८ सय मिटरमा सीमित भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै उडान रोकिएका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल बिहान केही समयका लागि सञ्चालनमा आए पनि मौसम प्रतिकूल बनेपछि उडान सम्भव भएन। “हाल कुनै पनि विमान उडान भर्न सकेका छैनन्, हेलिकप्टरसमेत ग्राउन्डेड छन्,” उनले बताए।
उनका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा १६ सय मिटर र हेलिकप्टरका लागि कम्तीमा १ हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर हालको अवस्था त्योभन्दा निकै कमजोर रहेकाले सबै फ्लाइट होल्डमा राखिएको छ।
काठमाडौँ मात्र होइन, तराईसहित देशका अन्य विभिन्न क्षेत्रमा पनि हुस्सु–कुहिरो फैलिएकाले अन्य विमानस्थलबाट समेत उडान हुन सकेको छैन। “मुख्य उडान केन्द्र काठमाडौँ नै बन्द भएपछि अन्य विमानस्थल खुले पनि व्यवहारिक रूपमा उडान सञ्चालन गर्न कठिन हुन्छ,” भुलले स्पष्ट पारे।
हाल मौसम सुधारको प्रतीक्षामा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्।








