गण्डकी प्रदेश वृत्तचित्र सार्वजनिक, फिल्मिङ डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्ने उद्देश्य


टुरिजम पाना पोखरा । २३ फाल्गुन २०७९

नेपाललाई फिल्मिङ डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने उद्देश्यसहित तयार भएको ‘गण्डकी प्रदेश’ वृत्तचित्र इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ।

चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा नेपाललाई प्रवर्द्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो। करिब १० मिनेट लामो यस वृत्तचित्रमा गण्डकीका केही प्रमुख छायांकन सम्भावित पर्यटकीय स्थलहरु समेटिएका छन् । चलचित्र बिकास बोर्डले निर्माण गरेको भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका हुन् भने सुयोग गुरुङले निर्देशन गरेका हुन्।

प्रविधिको बढ्दो प्रयोगसँगै श्रव्यदृश्य सामग्रीमार्फत पनि प्रचार प्रसार हुनुपर्ने आवश्यकता महशुस गरी बोर्डले वृत्तचित्र निर्माण गरी पछिल्लो समय संयुक्त अरब ईमिरेट्समा भएको ‘नेपाल चलचित्र फेस्ट’मा प्रदर्शन गरिएको थियो ।

नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा विश्वव्यापी प्रवर्द्धन गर्ने योजनाअनुरुप हालको लागि गण्डकी प्रदेशमा रहेका केहि प्रमूख छायांकन स्थलहरु समेटिएका छन् ।

नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायांकन स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डबाट विभिन्न प्रयासहरु भईरहेका छन् । यसकै क्रममा वि.सं. २०७६ सालमा लोकेशन गाइडको रुपमा विश्वव्यापी प्रयोग हुने उद्देश्यसहित ‘फिल्मिङ् इन नेपाल – भोल्यूम १’ पुस्तक पनि प्रकाशन भएको थियो ।

२३ फाल्गुन २०७९