पर्यटकीय ‘हब’ बन्दै गाजाको दह, पैदल यात्रामा घुमफिर अझ रोमाञ्चक


टुरिजम पाना ढोरपाटन । १८ माघ २०७९

अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा पर्ने गाजाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ ।

प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिकाको सङ्गमस्थल हो । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाको दहमा पुग्ने जो कोही पनि मोहित हुने गर्छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिन्छ । प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ । गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ ।

वन, पाखा, खोला, झरना, गाउँले जीवनशैली र दर्जनौँ हिमशृङ्खलाले मनै लोभ्याउँछ । बागलुङ नगरपालिका–८ सिगाना, बौँडेचौर, रेशको चापखर्क हुँदै यहाँ पुग्दा घनाजङ्गल पर्दछ । अझ यहाँ रहेको दहले धेरैलाई आकर्षित गर्छ । दह वरपरका परम्परागत घर अहिले पनि देख्न सकिन्छ । गाजा दह क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणमा चासो नदिँदा ओझेलमा पर्न थालेको स्थानीय गोपाल छन्त्यालले बताए ।

दहसँगै यहाँ बराह थान पनि रहेको छ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने थापा बताउछन् । खास गरी यहाँ हरेक वर्ष वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने र मेलामा देशभरबाट पर्यटक आउने गरेको उनको भनाइ छ । थापाले यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको बताए ।

पहिलेको तुलनामा केही परिवर्तन आएपछि गाजा दहमा पर्यटकीय आकर्षण बढेको उनको भनाइ छ । विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधि पनि समय–समयमा अवलोकन भ्रमणका लागि आउने गरेको उनी बताउछन् । पछिल्लो समय खाना र बस्नको राम्रो व्यवस्था भएपछि रातमा पनि घुम्न आउनेको सङ्ख्या बढेको उनको भनाइ छ ।

सडकको पहुँच पुगे पनि निकै जोखिमपूर्ण छ । जोखिमपूर्ण यात्रा गर्न धेरैले रुचाउँदैनन् । गुल्मीको शान्तिपुरबाट घुम्न आएका प्रवेश क्षेत्रीले सडकको स्तरोन्नति गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बताए । ठाउँ निकै रमणीय भए पनि यसको प्रचारप्रसार र भौतिक संरचना बनाउन सके बाह्य पयर्कटलाई समेत आकर्षित गर्न सकिने उनले बताए ।

क्षेत्री भन्छन्, “फोटो र भिडियोमा निकै सुन्दर देखिन्छ गाजाको दह, म पनि भिडियोमा देखेर घुम्न आएको हुँ, ठाउँ त धेरै रमाइलो रहेछ, तर बाटो निकै अप्ठ्यारो रैछ, बाटोमा जोखिम मोल्दै आए पनि यहाँ आएर देखिने दृश्यले त्यो दुःख र समस्या भुलाइदिँदो रैछ, तर यहाँको विकास गर्न धेरै बाँकी रैछ, सडक मात्रै पनि राम्रो भयो भने यहाँ आउन सहज हुने थियो ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजाको दहको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण योजना बनाएर लागेको बताए । उनले यो ठाउँ ऐतिहासिक भएको भन्दै यहाँका संरचना तथा दहको संरक्षणका लागि विगतदेखि नै काम गर्दै आएको बताए । यहाँको दहमा बाह्रै महिना पानी हुने र यहाँ देखिने छायाँले धेरैलाई आकर्षित गर्ने गरेको उपप्रमुख शर्माको भनाइ छ ।

यस वर्ष थप संरचना निर्माणका लागि नगरपालिकाले रु पाँच लाख विनियोजन गरेको शर्माले जानकारी दिए । यस क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि निजी कम्पनीसँग सहकार्य गर्ने उनको भनाइ छ । (डम्मर बुढा मगर/रासस)

१८ माघ २०७९