किन हच्किए पोखराका प्याराग्लाइडिङ पाइलट ?


टुरिजम पाना संवाददाता पोखरा । ४ पुष २०८०

नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङ उडानमा लागु गरेको एकद्वार प्रणालीकै कारण अहिले फेरि पोखरामा प्याराग्लाइडिङ उडान बन्द हुन पुगेको छ ।  प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नाले झन्डै डेढ वर्ष अघि प्याराग्लाइडिङ उडानमा एकरुपता कायम गर्ने भन्दै एकद्वार प्रणाली लागु गरेको थियो। सो समयमा सबैको सहमतिमा भएको एकद्वार प्रणाली नै अहिले आएर प्याराग्लाइडिङ्ग बन्द हुने एक मात्र कारण बनेको हो।

उडानमा एकद्वार प्रणाली लागु गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान रोकिएको छ। उडान गर्ने पाइलटहरुले बिहीबारदेखि प्याराग्लाइडिङ उडाएका छैनन्।  सो विवादलाई मध्यनजर गर्दै  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको प्याराग्लाइडिङ अनिश्चितकालको लागि बन्द गराएको छ ।

अर्को आदेश नाअएसम्म नेपाल हवाइ खेलकुद सँस्था (ना)को अधिकार क्षेत्र भित्र रहेका प्याराग्लाइडिङ बन्द गर्ने निर्णय मङ्सिर २९ गते  गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रवन्धक समिता शाक्यले जानकारी दिइन् ।

प्याराग्लाइडिङको एकद्वार प्रणाली सम्बन्धी बिषयमा ब्यवसायीहरुबीच विरोध सिर्जना भएको थियो ।

राजनीतिक स्वार्थ र सिन्डिकेट लगाउन चाहने एक समूहका कारण पोखराको प्याराग्लाइडिङ ब्यवसायमा समस्या देखिएको नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलट राजेश बम्जनले बताएका छन् । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै विभिन्न बहानामा सिन्डिकेट लगाउने प्रयास बारम्बार भइरहेको छ, जसको परिणाम स्वरुप आज प्याराग्लाइडिङको एकद्वार प्रणालीबाट प्रदान गरिएको सेवा फितलो बन्दै गएको छ,’ उनले भने।

‘गत वर्षभन्दा यो वर्ष प्याराग्लाइडिङ गर्ने पर्यटकको संख्या घटेको छ। नेपाल सरकारले प्राइभेट कम्पनीलाई लगाएको नीति नियम अनुसार हामीले हाम्रो ब्यवसाय गर्न पाउनुपर्छ ,सकेसम्म हामीले उत्कृष्ट सेवा दिएका छौँ , जसले गर्दा राम्रा कम्पनीमा दोहोर्याएर पर्यटक आउने गर्दछन्,’ उनले थपे।

केही ब्यक्तिको स्वार्थका लागि यो एकद्वार प्रणाली ल्याइएको उनले बताए । यसप्रति कोही पनि खुशी नभएको उनी बताउँछन् । ‘जसको कार्यप्रति न प्याराग्लाइडिङ कम्पनी खुशी छन् , न त पाइल्ट सन्तुष्ट छन् न त सुबिधा लिन आउने पर्यटक नै , अनि के का लागि यो प्रणाली ?’ उनले प्रश्न गरे।

के हो एकद्वार प्रणाली ?

नाले  हरेक आधा घण्टा उडान गर्दा स्वदेशी वा विदेशी जो कोही पाहुनाले पनि १२ हजार रुपैयाँ तिर्नुपर्ने र ना मार्फत नै आलोपालो प्रणाली अनुसार उडान गर्नुपर्ने भन्दै नियम लगाएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी भइरहँदा विस्थापनको त्रासमा रहेका प्याराग्लाइडिङ व्यवसायीले नाको निर्णयमा सहमति जनाउँदै आलोपालो प्रणालीमा गएका थिए। तर, आन्तरिक पर्यटकका लागि त्यो शुल्क महंगो परेको, एकद्वार प्रणालीबाट जाँदा घाटा लागेको भन्दै केही कम्पनीले असहमत जनाइरहेका थिए।

नाका अध्यक्ष सुनिल भट्टराईले व्यवसायी, पाइलट, नाले सबैको सल्लाह बमोजिम नै एक द्वार प्रणाली बनाइएको बताउँछन्। पोखराको प्याराग्लाइडिङमा हुने सम्भावित दुर्घटनालाइ कम गर्न , व्यवसायीबीचको अस्वस्थ्य प्रतिष्पर्धालाई नियन्त्रण गर्न नै यो प्रणाली ल्याइएको हो,’ उनले भने।

हाल संचालनमा रहेका ५२ मध्ये २१ वटा कम्पनीले छाता संस्थाको निर्णय नमान्ने बताएपछि बुधबार मात्र आफुखुसी शुल्क तोक्न र आफैले संचालन गर्न पाउनुपर्ने माग राखेका थिए । सोही अनुसार नै व्यवसायीले बुकिङ्ग खुला गरेको अध्यक्ष भट्टराईले बताए । ‘आफ्नो कम्पनीको मूल्य आफै तोक्ने भनेर कम्पनीले भनेपछि छाता संस्थाले पनि त्यही अनुसार खुला गरिदिएको हो,’ उनले थपे।

किन हच्किए पाइलट ?

नाले तोके अनुसार नै शुल्क लिनुपर्ने र आलोपालो प्रणाली कायम राखिरहनुपर्ने माग राख्दै पाइलटले उडान रोकेका हुन्। कम्पनीलाई छुट दिँदा अस्वस्थ्य प्रतिष्पर्धा बढ्दै गएर सस्तोमा उडान हुने, उडान शुल्क घट्ने र पाइलटको कमिसन पनि घट्ने, नाफा कमाउने नाउँमा प्रतिष्पर्धा गर्ने भन्दै पाइलट तर्सिएका हुन्। पाइलटको माग पुरानै शुल्क कायम हुनुपर्ने र व्यवस्थापन नाले नै गर्नुपर्ने भन्ने छ ।

सामाजिक प्राणि भएपछी समाजको भावनालाई बुझेर अघि बढ्नुपर्ने पाइलट तथा प्याराग्लाइडिङ व्यवसायी सानोबाबु सुनुवार बताउँछन्।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको नियम अनुसार व्यवसाय नचलेकोले नै यी विविध समस्या उत्पन्न भएको उनको ठहर छ ।

‘हिजो हामीले उडान अनुमति लिदा के के कुरा पालना गर्छौँ, यात्रुलाई के – के सुबिधा उपलब्ध गराउछौँ , पाइलट र व्यवसायी बीच के – के कुरामा सहमति हुने , भनेर कबुलियतनामामा दस्तखत गरेर अनुमति लिएर व्यवसायलाई अघि बढाएका थियौं , त्यो नियमलाई लत्याएर हामी अर्कै बाटो हिँड्यौ परिणाम स्वरुप अहिले बारम्बार पोखराको प्याराग्लाइडिङ्गमा समस्या देखिन थालेको हो,’ उनले थपे ।

४ पुष २०८०