वर्षौँ देखि पर्यटकको पर्खाइमा सुदुरपश्चिम


टुरिजम पाना संवाददाता काठमाडौँ । ३ पुष २०८०

पर्यटनका लागि अथाह सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्र पछाडि परेको छ । राज्य तथा निजी क्षेत्रले पर्वर्द्धन गर्न नसक्दा यस क्षेत्रको पर्यटन विकास हुन नसकेको हो ।

विगत १० वर्षअघि र अहिलेको पर्यटन आवागमनको तथ्यांक हेर्ने हो भने यस प्रदेशमा निराशाजनक अवस्था देखिन्छ । सुदूरपश्चिम प्रदेशमा पर्यटकको आगमन संख्या घटेको छ। पर्यटनको अथाह सम्भावना बोकेको सुदूरले पर्यटक पर्खेको पनि वर्षौँ भइसक्यो ।  तर पर्यटनमा सुधार देखिनुको साटो उल्टो घटेको देखिन्छ । यस क्षेत्रमा आउने पर्यटकहरूको १० वर्ष अघि र आजको तथ्यांकमा खास फरक छैन।

होटेल ब्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिपक बहादुर खड्का पर्यटकको आगमन न्यून भएको र पर्यटन ब्यवसाय दिनानुदिन खस्किएको बताउँछन् । सरकार र निजिक्षेत्रको हातेमालो भयो भने मात्र पर्यटन ब्यवसाय फष्टाउँछ र आर्थिक स्थिति बलियो बन्छ,’ उनी भन्छन्,’तर यहाँ त कोही कसैको समन्वयता देखिँदैन ।’

जबसम्म सुदूरको पर्यटनलाई उकास्न तीन तहकै सरकार एकजुट भएर लाग्दैनन् तबसम्म जति नै व्यवसायीले तत्परता देखाएता पनि केही नहुने उनको भनाइ छ ।

‘सुदूरपश्चिम प्रदेश भारतसँग सिमाना जोडिएको प्रदेश हो, सुदूरपश्चिमका नेतादेखि कर्मचारीसम्मले भाषण गर्दा भारतीय पर्यटक भित्र्याउनुपर्छ भन्छन्। यताको प्रदेश सरकार त झन भारतीय नै मुख्य पर्यटक हुन् भन्छ,’ अध्यक्ष खड्काले भने,’विगत १४ वर्ष यता १५०० पनि भारतीय नागरीकले सुदूरका गन्तव्यमा भ्रमण गरेका तथ्यांकमा छैन ।’

सुदुरपश्चिमको बिकासमा सरकारले खासै चासो नदेखाएको प्रति पनि अध्यक्ष खड्काले गुनासो पोखेका छन्। सरकारले न त पर्यटक भित्र्याउने ग्यारेन्टी लिन्छ न त व्यवसायीको लगानीकै सुनिश्चितता गर्छ , अनि पूर्वाधार बिकासमा सरकारको ध्यान त् झन् गएकै छैन , एकोहोरो व्यवसायीले गरेको प्रचारप्रसारले कहिले सम्म सुदुरमा पर्यटक आउने हुन् थाहा छैन ,  उनले भने।

शुक्लाफाटा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको तथ्यांकलाई नियाल्ने हो भने १० वर्ष अघि र आजको तथ्यांकमा केही सुधार देखिँदैन। २०६८ साल देखि २०८० कार्तिक सम्म करिब ३६ हजार पर्यटक शुक्लाफाँटाको अवलोकन गरेका छन्। यस १३ वर्षको अवधिमा विदेशी १७६३ जना, सार्क मुलुक भारतलगायत १२५० जना र नेपाली ३३०८५ जना गरी जम्मा ३६०९८ जनाले शुक्लाफाटा प्रवेश तथा अवलोकन गरेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जले जानकारी गराएको छ।

त्यसैगरी खप्तड क्षेत्रमा आ.व २०७४ /०७५ मा विदेशी २८, सार्क राष्ट्रका ७  र नेपाली ६८३१ गरी ६८६६ जनाले भ्रमण गरेका थिए।  आ.व. ७९/८० मा आइपुग्दा बिदेशी पर्यटकको संख्या बढेको छ भने आन्तरिक पर्यटकको संख्या केही खुम्चिएको छ। तथ्यांकअनुसार विदेशी ७०, सार्क राष्ट्रका २२   र नेपाली २७९९ गरी २८९१ जनाले खप्तडको भ्रमण गरेका थिए । साथै  २०८० श्रावणदेखि कार्तिकसम्म ४ महिनामा १५ विदेशी पर्यटक र ७१३ जना आन्तरिक पर्यटक गरी जम्मा ७२८ जनाले खप्तड भ्रमण गरीसकेका छन् ।

रामारोशन क्षेत्र  पर्यटन विकास तथा ब्यवस्थापन समितिका कार्यकारि निर्देशक गंगा कुवर बुढाका अनुसार २०८० भाद्रदेखि कात्तिकसम्म  ९०७ जना विदेशी पर्यटक (रेम्बो फ्याम्लि ग्यादरिङ्ग)  र ७५० जना नेपाली पर्यटक गरी १६५७ जनाले रामारोशन क्षेत्र भ्रमण गरेका छन् । समितिले असोज यता रामारोशन गाउँ पालिकाबासीका लागि १० रुपैयाँ, अछाम जिल्लाबासीका लागि २० रुपैयाँ, नेपाली अन्य जिल्लाका आन्तरिक पर्यटकलाई ५० रुपैयाँ र बिदेशीलाई ५०० रुपैयाँ प्रवेश शुल्क तोकेको छ।

अपिनाम्फा संरक्षण क्षेत्रमा पछिल्ला ७ वर्षको पर्यटकीय गतिविधिलाई हेर्दा खास फरक तथ्यांक भेटिँदैन। आ.व. ०७३/०७४ मा जम्मा २५ जना नेपालीले उक्त क्षेत्रमा भ्रमण गर्दा विदेशी पर्यटन पुगेका थिएनन् । आ.व. ७९ /८० मा भने १५ जना विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गर्दा नेपालीले भने भ्रमण गरेका छैनन् ।

कर्णालीको चर्चित पर्यटकीय गन्तव्य रारामा भने अन्य गन्तव्यको तुलनामा धेरै पर्यटक पुग्ने गरेका छन्। श्रावणदेखि यता चार महिनाको  रारा राष्ट्रिय निकुञ्ज कार्यालयले उपलब्ध गराएको तथ्यांकलाइ हेर्दा आन्तरिक पर्यटक ४ हजार ४ सय ९०, सार्क मुलुकका २६ जनासहित अन्य विदेशी ९५ जना गरी चार महिनाभित्र ४ हजार ६ सय ११ जना पर्यटकले रारा भ्रमण गरेको पाइन्छ ।

३ पुष २०८०