माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ मा अवस्थित महभिर (रोकम)मा निर्माण गरिएको ‘रक क्लाइम्बिङ सेन्टर’को औपचारिक उद्घाटन गरिएको छ ।
पूर्व मन्त्रीसमेत रहनुभएका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, विश्व विख्यात पर्वातारोही कामीरिता शेर्पा, टानका अध्यक्ष निलहरी बास्तोला, गाउँपालिका उपाध्यक्ष गौरव राई लगायतले रक क्लाइम्बिङ सेन्टर’को ब्यानर अनावरण गरेर सोको उद्घाटन गरेका हुन् ।
गाउँपालिकाको लगानीमा निर्मित १२० मिटर अग्लो उक्त रक क्लाइम्बिङ सेन्टरमा विश्व विख्यात आरोही कामीरिता शेर्पाले पहिलो पटक रक क्लाइम्बिङ गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राजभण्डारीले पर्यटन विकास र प्रवद्र्धनमा गाउँपालिकाले चालेको कदम सराहनीय रहेको उल्लेख गर्दै सहासिक पर्यटन प्रवद्र्धनका लागि महभीरमा सुरु गरिएको रक क्लाइम्बिङलाई दीगो सञ्चालन गर्न आफ्नो तर्फबाट सहयोगको पहल गर्ने प्रतिबद्धता जनाए।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध काम अघि बढाइरहेको उल्लेख गरेका छन् । माप्य दुधकोशी गाउँपालिकाको पर्यटनका विविध सम्भावित आयममध्ये सहासिक खेललाई एउटा नयाँ प्रडक्टको रुपमा स्थापित गर्न महभीरमा रकक्लाइम्बिङ सुरुवात गरिएको उनको भनाइ छ ।
उनले उक्त ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय तालिम सेन्टरका रुपमा विकास गर्न गाउँपालिका लाग्ने योजनासमेत सुनाए ।
ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)का अध्यक्ष निलहरी बास्तोलाले गाउँपालिकाभित्रका सम्भावनाहरुको पहिचान गरी उजागर गर्ने कार्यको थालनी गरेकोप्रति खुशी व्यक्त गरेका छन्। यस कार्यलाई नयाँ गन्तव्यको रुपमा विकास गर्न सबै लाग्नुपर्नेमा समेत उनले जोड दिए ।
विश्व विख्यात आरोही कामीरिता शेर्पाले माप्य दुधकोशी गाउँपालिकाको प्राकृतिक, साँस्कृतिक, धार्मिक सम्पदा पर्यटन प्रवद्र्धनका लागि उत्कृष्ठ रहेको चर्चा गर्दै काम गर्दा आइपर्ने हरेक चुनौतिहरुलाई सामना गर्दै अघि बढ्न सुझाव दिए । उनले महभीरमा सुरु गरिएको रक क्लाइम्बिङ एक नमुना बनाउन सकिने सम्भावना रहेको समेत उल्लेख गरे ।
महभीर रक क्लाइम्बिङ सेन्टरमै आयोजित उद्घाटन कार्यक्रमको अवसरमा रामकाजी तिवारीले १२० मिटरको उचाईबाट र्यापलिङ गर्नुका साथै रक क्लाइम्बिङको नमुना प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी दिपक श्रेष्ठ, टानका महासचिव विनोद सापकोटा, टानका पुर्व प्रथम उपाध्यक्ष चोलेन्द्र कार्की, पूर्व सचिव पासाङ शेर्पा, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु, पर्यटन व्यवसायी, पत्रकार, स्थानीय जनप्रतिजिनधि, बुद्धिजिवीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।