घुमन्तेको नयाँ गन्तब्य: एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग


टुरिजम पाना संवाददाता सोलुखम्बु । ४ पुष २०८०

‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ले पर्यटनमा नया आयाम थप्ने बिश्वास लीइएको छ। माप्य दुधकोशी गाउँपालिका-५ स्थित सिलगुडी डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ।

गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको सहकार्यमा गत शुक्रबारदेखि सुरु गरेको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’का अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर मज्जा लिन सकिन्छ।

आँखाको सामुन्ने टलटल टल्किने हिमालले यस पदमार्गमा जोडिने जो कोहीलाई स्वर्गीय अनुभूति त हुन्छ नै। त्यो भन्दा बढी यस पदमार्गलाई उपयोग गरी आर्थिक समृद्धिको बाटो पहिल्याउन ढिला गरिएकामा पछुतो लाग्दछ। तीन हजार छ मिटर उचाइमा रहेको सिलगुडी डाँडाबाट सुरु भएको पदमार्ग विभिन्न १४ प्रजातिका लालीगुँरास फुल्ने दाप्सा सामुदायिक वनको जंगलैजंगल हुँदै करिब चार घण्टामा घुम्ने मेरा भन्ने स्थानमा पुग्छ। घुम्ने मेरामा पुगेर शेर्पा समुदायको स्याब्रु नाचको मज्जा लिन सकिन्छ।

शेर्पा समुदायको संस्कृतिसँग जोडेको उक्त पदमार्ग ‘कुधाम भ्यू प्वाइन्ट’ पुग्छ। उक्त भ्यू प्वाइन्टमा राति बस्नका लागि वासस्थान निर्माणको कामलाई गाउँपालिकाले अगाडि बढाएको छ। तीन हजार १६८ मिटर उचाइमा रहेको कुधाम भ्यू प्वाइन्टबाट विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र सहजै देख्न सकिन्छ।

उक्त डाँडाँबाट आठ हजार आठ सय ४८ मिटर उचाइमा रहेको सगरमाथासहित बाताङ्गा (५०७७), चोयम (४७१३), विगफेरा (६६००), नुम्बुरचुली (६९६०), कार्लुङ (६५११), कोङदेरी (६१८७) देख्न सकिन्छ। यस्तै, खुङ्वाकाङ (७७४३), ग्यानचोङकाङ (७९५२), चुम्बु (६८५९), लोबुचे (६९९५), काङ्तेका (६७८३), क्यासार (६७६९), मेरापिक (६४७६), चाम्लाङ (७३१९), नौलेख (६३६३), पाङ्वो (६३९०) लगायत २७ हिमाल देख्न सकिन्छ।

सो डाँडाबाट लुक्ला विमानस्थलमा जहाज अवतरण गरेको र नाम्चे बजारको मनोरम दृश्यसमेत देख्न सकिन्छ। कुधामबाट अर्को दिन योतेल्मे पुग्न सकिन्छ। योतेल्मेमा गाउँपालिकाले पर्यटक खान र बस्न मिल्ने गरी गोठ निर्माण गरेको छ। योतेल्मेबाट दूधकोशीको किनारा सगरमाथा जाने सडक अधेँरीखोला पुग्न सकिन्छ।

सो गाउँपालिका-२ मा पर्ने अधेरीखोला, डाँडागाउँ घुमेपछि मगर खालिङ राईको सङ्ग्रहालय हेर्न सकिन्छ। उक्त वडामा राईको बसोबास भएकाले साकेला, भूमे नाचको मज्जा समेत लिन सकिन्छ। पर्यटन व्यवसायी पासाङ शेर्पा हिमाल, वन, चराचुरुङ्गी, विभिन्न किसिमका लालिगुराँस हेर्न पाइने भएकाले ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को ठूलो सम्भावना रहेको पर्यटन व्यवसायी बताउँछन्।

‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सञ्चालन गर्नका लागि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र माप्य दूधकोशी गाउँपालिकाबीच गत वर्ष सम्झौता भएको थियो। उक्त पदमार्ग सञ्चालन गर्नका लागि टानले गत वर्ष अध्ययन गरेर नक्सासमेत तयार गरिसकेको छ।

विश्वमै पदयात्राका लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएका छन्। नेपालमा पदयात्राको सम्भावना र महत्व देखेर नै विश्वका नागरिक यहाँ आउने गरेका छन्। नेपाल आएका पर्यटकमध्ये करिब ३० देखि ४० प्रतिशत पदयात्रामा जाने गरेका छन्।गाउँपालिकाले उक्त पदमार्गको पर्यटन विकासका लागि होमस्टे-घरवास पर्यटन) निर्माण, कुक तालिम, गोठ निर्माण, टेन्ट क्याम्पिङको व्यवस्थापन गर्दै आएको छ।

सो गाउँपालिकाले आइतबार मात्र गाउँपालिका-५ स्थित महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना समेत गरेको छ। विश्व कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पा स्वदेशी तथा विदेशी पर्यटकलाई लुकेको कुरा देखाउन सके पर्यटन क्षेत्रको विकास सहज रूपमा गर्न सकिने बताउँछन्। ‘पर्यटकले नयाँ कुराहरू हेर्न चाहेको हुन्छ, नयाँ कुरा देखाउन सकिए मात्र पर्यटन क्षेत्रको विकास हुन्छ,’ आरोही शेर्पा भन्छन्।

अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनोमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ। सगरमाथा आधार शिविर, अन्नपूर्ण, मनास्लु, कञ्चनजंघा क्षेत्र पदयात्राका लागि राम्रा गन्तव्य हुन्। नेपालमा वार्षिकरूपमा स्वदेशी तथा विदेशी दुई लाखभन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेको पाइन्छ। पछिल्लो समय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ।

४ पुष २०८०